आत्मनिर्भर सिप सिकाईमा महिलाहरुको बढ्दो मोह

भोजपुर । सदरमुकाम बस्ने महिलाहरु सिप सिकेर आँफैमा आत्मनिर्भर बन्दै गईरहेका छन् । पछिल्लो समयमा आएर यहाँका महिलाहरुका लागि बुटिक तथा फेसन डिजाईनिङ लोकप्रिय र सोख को विषय बन्दै गईरहेको छ । सामाजिक सञ्जालमा धेरै समय विताउने युवतीहरु आयआर्जन पनि गर्न सक्ने भएपछि फेसन डिजाईनिङ तर्फ बढि आकर्षित भएका छन् ।
विशेष गरि फेसन डिजानिङ , बुटिक डिजानिङ , सिलाई , कटाई ,बुनाईमा उनीहरुको आकर्षण बढेको छ । कमाई को आधार राम्रै हुन्छ भनेर थाहा पाएपछि घरायसी काम मात्र गर्ने गृहिणी महिलाहरु पनि आजकल खाली समय निकालेर सदरमुकामका विभिन्न बुटिक सेन्टरहरुमा सिलाई–कटाई सिकाईमा व्यस्त हुन थालेका छन् । त्यस्तै विहानको कलेज सकेर आउने धेरै जसो विद्यार्थीहरु पनि दिउँसो फुर्सतको समयमा आएर सिप सिक्न आउने गर्छन् ।
उनीहरु अहिले आयआर्जन सिप सिकेर दिनहुँ आत्मनिर्भर हुन थालेका छन् । सेन्टरहरुमा गाउँबाट सदरमुकाममा आएर फेसन डिजाईनिङ सिक्नेको लर्को लाग्ने गरको छ । आफ्ना बालबच्चालाई सदरमुकामका विभिन्न निजी स्कूलहरुमा पढाउन आउने महिलाहरु पनि फुर्सतको समय निकालेर बुटिक , फेसन सम्बन्धि आयआर्जनमूलक सीप सिक्न मा आकर्षित बनेका छन् ।
वैदेशिक रोजगारमा गएका श्रीमानका श्रीमतीहरु पनि सदरमुकाममा भाडामा बसेर आफ्ना बच्चाहरुलाई हेरचाह बाहेक बाँकी फुर्सतको समय मिलाएर बुटिक तथा फेसन डिजाईनिङ गर्दै आएका छन् । यसले उनीहरुमा सिपयुक्त बनाएर आत्मनिर्भर बन्ने तर्फ पनि उर्जा थपेको छ ।
आर्थिक रुपले कमजोर भई पढ्न नसकेकाहरु युवतीहरुका लागि बुटिक , फेसन डिजाईनिङ पहिलो रोजाईको सिप बन्दै गएको छ । उनीहरु आफुलाई व्यवसायी बन्नका र आर्थिक रुपले बलियो बन्न का लागि पनि यो सिप सिकिरहेका छन् । “हाम्रो समाजमा पढेर जागिर खानै पर्ने जुन गलत मान्यता छ , यो पेशा अगांलेर पनि जिवनलाई नयाँ रुप दिन सकिन्छ ।” सेन्टरमा सिकेर कर्मचारीको रुपमा त्यहि काम गरिरहेकी पवित्रा विक ले बताईन् ।
श्रीमान खाडीको त्यो गर्मी मरुभुमिमा गएर पसिना बगाउँदा नेपालमा बस्ने आफुलाई पनि बसि बसि आरामले खाईदिन मनले नमान्ने भएकोले बुटिक ,फेसन सिकिरहेको पुर्णमाया चौहानले बताईन् । “बुटिक , फेसन डिजानिङ पहिल्यै देखिको रुचि पनि भएको अनि यसो एक–दुई पैसा कमाई पनि गर्न सकिने भएकोले नानीहरु दिउँसो पढ्न गएको फुर्सतको समयमा सिक्न आउने गर्छु ।” उनले भनिन् ।

सबै छोरी–बुहारी महिलाहरु घर कै काम र दिनरात चुलाचौका मै रहनु पर्ने असमान व्यवहार खेप्दै आएका बेला यसैलाई पेशाका रुपमा लिने हो भने सामाजिक प्रतिष्ठा पनि बढ्ने हुँदा यस पेशाप्रति चासो बढेको सेन्टर सञ्चालकहरु बताउँछन् । परिश्रम गर्नेका लागि यो पेशा उपर्युक्त हुने भएको आकर्षक बुटिक एण्ड फेसन डिजाईनिङ सेन्टर भोजपुरकी सञ्चालक शान्ती राईले बताईन् ।
विगत बाह्र वर्ष देखि यसै पेशामा संलग्नित भएर करिब ४ बर्ष देखि बुटिक सेन्टर सञ्चालन गर्दै आएकी राईले बेसिक तथा डिप्लोमा कोर्षहरु गरेर ७० भन्दा बढि महिला दिदी–बहिनीहरुलाई सिलाई , कटाई , बुटिक , फेसन ,डेकोरेसन ,डल लगायत विधामा तालिम दिईरहेकी छिन् । कोर्ष अनुसारको शुल्क र समयावधि वेग्लै लाग्ने गरेको उनले बताईन् । उनीकहाँबाट सिकेर गएका सबैले आ–आफ्नै सेन्टर तथा व्यवसाय खोलेर बसेका छन् ।
प्रायजसो गरेर २२ देखि २४ वर्ष उमेरका युवतीहरु बुटिक तथा फेसन डिजाईनिङ सिक्न बढि आकर्षित हुने गरेको उनको भनाई छ । सदरमुकाममा करिब ३ दर्जन भन्दा बढि बुटिक सिलाई–कटाई सेन्टरहरु छन् । ती सेन्टरहरुमा सिक्ने महिला दिदी–बहिनीहरुको संख्या पनि उत्तिक्कै छ । साथै उनीहरुले तयार पारेका तयारी लत्ताकपडा र सजावटका सामानहरु बजारमा महंगो मूल्यमा विक्रि हुने गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार