सहकारीलाई मिनिट्रक अनुदान

  सिलिचुङ सम्वाददाता  96 पटक हेरिएको

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत जिल्ला कृषि विकास कार्यालयले छिनामखुस्थित उद्यमशिल कृषि सहकारी संस्था लिमिटेड छिनामखुलाई ५० प्रतिशत अनुदानमा मालबाहक गाडी (मिनिट्रक) हस्तान्तरण गरेको छ ।
कृषि कार्यालयमार्फत विहिबार एक कार्यक्रमका बीच अलैँची विकास समितिले कृषि सामाग्री ढुवानीका निमित्त उक्त मालबाहक गाडी प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सहकारीलाई ट्रक औपचारिक हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा स्थानीय विकास अधिकारी सीता परियार, जिल्ला कृषि विकास कार्यालयका प्रमुख तथा प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि, विभिन्न कार्यालयका कार्यालय प्रमुख, नागरिक समाज तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
सहकारीले २३ लाखको लगानीमा अलैँची गोदाम घर निर्माण गरिरहेको छ । उक्त बजेट पनि परियोजना अन्र्तगत आएको हो । गोदामघरमा गाउँभरिका कृषकहरुले उत्पादन गरेको अलैची संकलन, बजार व्यवस्थापन तथा ढुवानीका ट्रक दिएको कृषिले जनाएको छ । यसैगरी गोदाम घरमा जम्मा गरेर उचित बजारीकरण गरिने सहकारीका कोषाध्यक्ष एबम् उद्योग बाणिज्य संघ भोजपुरका सदस्य सुमन प्रधानले जानकारी दिनुभयो । ‘यहि सहकारी संस्थाको निर्माणधिन गोदाम घरमा गाउँकै अलैँचीका साथै विभिन्न कृषि उपज संकलन गरेर राखिनेछ र त्यसलाई त्यहि भण्डार गरि समयानुकुल बजार व्यवस्थापनमा लगानी तथा ढुवानी गरिनेछ,’ उहाँले भन्नुभयो, ‘यसरी गाउँमै उत्पादन गरेको अलैँची धरान, ईटहरी, विर्तामोड हुँदै भारतसम्म पुग्ने गर्छ ।’
अलैची विस्तारका लागि छिनामखुमा साढे ३ सय रोपनी जग्गामा अलैँची लगाईएको छ । कृषिमा थप प्रोत्सहन दिन र गाउँका कृषकहरुलाई व्यावसायिक कृषिमा लाग्न प्रेरणा थप्न यो सहकारी संस्थाको आगामी आर्थिक बर्षमा १ हजार रोपनी जग्गामा अलैँची खेती विस्तार गर्ने योजना रहेको पनि प्रधानले बताउनुभयो । ‘हाल ३ सय ४ सय रोपनीको हाराहारीमा अलैँची लगाईएको भएपनि आउँदो बर्ष यसलाई बढाएर थप १ हजार रोपनीमा खेति विस्तार गर्ने योजना रहेको छ,’ उहाँले भन्नुभयो,‘यसको विस्तार संगसंगै कृषि उपजको ग्रेडिङ, लेबलिङ, प्याकेजिङको उद्देश्य पनि यस संस्थाले राखेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार