दुर्गमदेखिको काठमाडौ

  विद्या राई  626 पटक हेरिएको

जति पनि पुस्तक, उपन्यासहरु पढ्छु । बहुचर्चित, उत्कृष्ट लेकखले अधिकांश लेखकले काठमाडौलाई छुटाएका छैनन् ।
लेखक नारायण वाग्लेले लेखेको लोकप्रिय उपन्यास ‘पल्पसा क्याफे’ वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रदेखी सुरु भएर दशक लामो देशमा चलेको द्धन्द्धलाई निष्कर्ष स्वरुप पाठकमाझ पस्किएको छ । यसैगरि लेखक फुलमान बलको कथासंग्रह ‘काजोल खातुन’भित्र प्रेम र द्धन्द्धलाई साहित्यमा उतारिएको छ । रत्नपार्क, सैनिकमञ्च, बसपार्क, प्रदर्शनीमार्ग हुदै हिमाली जिल्ला सोलुखुम्बु सम्मका घटना क्रमलाई समेटिएको छ । द्धन्द्धका घाउमात्रै होइन्न्, विशुद्ध पे्रमकथाहरुमा पनि काठमाडौ छुटेको छैन । सुविन भट्टराईको बेष्टसेलरको सुचिमा परेका उपन्यासहरु ‘समरलभ’ र ‘साया’मा विराटनगर, काठमाडौ र विदेशसम्मका घटनाक्रम छन् । मैले प्रत्येक पुस्तक, उपन्यास र लेखहरु पढिसक्दा मनमा सधै छाइरहने एउटै प्रश्न, लेखकले काठमाडौका चोक, बस्ति, क्याफे, धार्मिक स्थल, पार्क, शैक्षिक संस्था किन छुटाएका हुदैनन् ? बुझ्न सकिरहेको थिइन ।
एकदिन फुर्सदको समयमा सरस्वति म्याडमसंग विभिन्न लेखकका लेखहरुबारे गफिदै गर्दा उक्त प्रश्नबारे सोध्ने मौका मिल्यो । उहाँले पनि यसअघि काठमाडौमा पढाइ र जागिरको सिलसिलामा दश बर्ष बिताउनुभएको थियो । ‘देशको जुनसुकै कुनामा बस्नेहरुले उज्जवल भविश्यका लागि काठमाडौको सपना बुनेका हुन्छन् । काठमाडौमा बस्नेले विदेशको सपना बुनेका हुन्छन् । जब दुर्गमका मान्छेहरु काठमाडौ पुग्छन् । सोचेभन्दा फरक पाउँछन् । जिवनमा थुपै्र हन्डर ठक्कर खान्छन् । अरुलाई पनि देख्छन् । अन्तमा उनीहरुले काठमाडौ बुझ्छन् अनि लेखकहरुले काठमाडौ लेख्छन् । जसले काठमाडौमा बाँच्न सक्छ । उसले बास्तविक जिवन जिउन सक्छ ।’ उहाँले भन्नुभएको थियो ।
घुमफिरका लागि म जतिपल्ट काठमाडौ पुगेको हुन्छु । लेखकले लेखेका बिषय, पात्र म्याडमले भन्नुभएका कुराहरु झल्झली याद आउछन् । लेखकहरुले लेख्ने बसपार्क, रत्नपार्क, न्युरोड, प्रदशर्नीमार्ग, शहिदगेट, माइतीघर, स्वयम्भुनाथ, बौद्धनाथ, पशुपतिनाथमा धेरै थरीका मानिसहरु पाँउछु । कोहि चियापसल खोलेर जिविका चलाएका छन् । कसैले पत्रपत्रिका बेचेर जिविका चलाएका छन् । त्यहि नजिकै ठुला ठुला होटल, रेस्टुरा चलेका छन् । सपि¨ मलहरु ठडिएका छन् । पहाडिया र सहरिया दुईटै अनुभव पाइन्छ । काठमाडौको धुलो, धुवा, जाम र भिडभाडको कर्कस आवाजले दुर्गम भएपनि आफ्नै गाउँ प्यारो लाग्छ । प्रविधि र भौतिक सुविधाका हिसाबले सुगम काठमाडौ प्यारो लाग्छ । पुनः आफ्नै जिल्ला फर्किन्छु ।


सदरमुकामको बसाइ जेनतेन चलेकै हुन्छ । जब गाउँ लाग्छु, भिर, पहरा, उकालीओराली चढ्छु । मेरा लागी आनन्दका क्षण बनिदिन्छन् । घुमफिरले आलस्यपुर्ण थकान मेटाइरहेका हुन्छन् । तर गााउले आमाबुवा, दिदीबहिनी, दाजुभाईका कहाली लाग्दा दुःख र दर्दले मनमा झट्का दिन्छन् । स्कुल पढ्ने साना भाईबहिनीहरु भेट्दा उनीहरुमा भविश्यको सुन्दर सपना देख्छु । उनीहरुको सिर्जनशिलता र परिश्रम देख्दा उज्वल भविश्यको प्रचुर सम्भावनाहरु पाउछु । तर दुईचार बर्षपछि निक्कै फरक पाउछु । उनीहरुलाई स्कुलको कम्पाउन्ड बाहिर भेट्छु । किताब, कापि र कलम हातमा बोकेर पढाईको जिम्मेवारी बोक्ने काँधमा परिवारीक जिम्मेवारी थोपरिएको भेट्छु । कलिला मुनाहरु कोहि साहुको भारी बोक्दै उकालीओराली गरिरहेका हुन्छन् । कोहि ट्रयाक्टरको डालामा त गाडिको ढोकातिर झुन्डिएर सडकमा गुडिरहेका देख्छु । केहिबर्षपछि तिनै भाईहरु खाडि देश जाने राहदानी बनाउन जिल्ला प्रशासनको कार्यालय परिषरभरी भेट्छु । बहिनीहरु सिउदोमा सिन्दुरले रंगिएर ओल्लोघर पल्लोघरको मेलापातमा टहलिदै गरेका देख्छु । आखिर बाँकि दुईचार भाइबहिनी मात्रै उच्च शिक्षाका लागी सहर र राजधानीतिर हानिने छन् । विभिन्न आरोहअवरोहसंग जुध्दै जिवनको परिभाषा बुझ्नेछन् । जिन्दगी बास्तविक भोगाइलाई जिउनेछन् ।
गाँउमा बाँकि रहेका बहिनीहरु र विदेशिएका भाइहरु १० नंग्रा खियाउदै, पसिना बगाउदै जिन्दगी बिताउदै जानेछन् । उनीहरुलाई राजधानीको न सोख छ, न भोक छ । बस, दुई छाँक टार्न पाए सन्तुष्ट छ । त्यसैले त काठमाडौ पुर्वी पहाड भोजपुरदेखी धेरै टाढा छ । पश्चिमी जुम्ला, हुम्ला, डोल्पा, मनाङ, मुस्ताङदेखी टाढा छ । चेतनाको शुन्यता चिर्न नसक्दा दुर्गम र विपन्न समुदाय पिछडिएका छन् ।

(लेखक कान्तिपुर दैनिकमा अावद्द पत्रकार हुन् ।)

@bidhyaraee

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार