भोजपुरमा राष्ट्रिय बाणिज्य बैङ्कको एटिएम सेवा सुरु

  सिलिचुङ सम्बाददाता  309 पटक हेरिएको

 

 

भोजपुर । एटिएम मेशिन थन्किएको झण्डै ७ महिनापश्चात राष्ट्रिय बाणिज्य बैङ्क भोजपुर शाखाको एटिएम सेवा बिहिबारबाट सुचारु भएको छ । बडादशैँको आगमनसंगै बैङ्कले ग्राहकहरुको आवश्यकतालाई ध्यान दिँदै सेवा सञ्चालनमा ल्याएको हो ।
एटिएम मेशिन लामो समयदेखि त्यतिक्कै थन्किएको थियो । आफ्नै कार्यालय भवन नहुँदा बैङ्कले सेवा सुचारु गर्न सकेको थिएन । दैनिक घण्टौसम्मको ग्राहकको घुँईचो लाईनलाई थेग्दै आएको बैङ्कले ग्राहकको सेवालाई मध्यनजर गर्दै अब मेशिन सुचारुमा भएपछि ग्राहकलाई सहज हुने राष्ट्रिय बाणिज्य बैङ्क भोजपुर शाखाका प्रबन्धक उमेश नेपालले बताए । ‘एटिएम मेशिन कार्यालय भवनको कुनै टुगों नहुँदा हामीले त्यसै राख्नुपरेको थियो । अब यस सुचारुपश्चात सेवाग्राहीले सहज तरिकाले रकम निकाल्न सक्नेभएपछि पहिले जस्तो घण्टौसम्म लाईनमा उभिनुपर्ने समस्या हटेर जानेछ ।’ नेपालले भने । एटिएम सेवा सुचारु गरेकै दिन डेढसयको हाराहारीमा ग्राहकहरुले एटिएम सेवा लिनुको साथै एटिएम कार्डको फर्म भर्ने ग्राहकको समेत भिड लागेको थियो ।

 

एटिएम सेवा सुचारु भएपछि ग्राहकले एकपटकमा २० हजारसम्म रकम निकाल्न सक्ने प्रबन्धक नेपालले बताए । नेपालले सेवा सुचारु भएपछि समस्या परेको अवस्थामा एक दिनमा पाँच पटक गरेर रु. एक लाखसम्म रकम झिक्न सक्नेछन् । बाणिज्य बैङ्ककै एटिएम कार्ड भए कुनै शुल्क नै नलाग्ने भएकोले सेवाग्राहीलाई समेत सहजता पुग्ने उनले बताए ।
जिल्लामा सञ्चालित निजी बैङ्कहरुमध्ये टुरिजम डेभेलपमेन्ट बैङ्क, सेञ्चुरी कर्मसियल बैङ्क, नेपाल बङ्लादेश बैङ्क बाहेक अन्यमा एटिएम सेवा छैन । यो अवस्थामा बाणिज्य बैङ्कले ल्याएको एटिएम सेवाबाट ती निजि बैङ्कका एटिएमकर्ता ग्राहकहरुलाई समेत रकम निकाल्न सहज हुने प्रबन्धक नेपालको भनाई छ ।
राष्ट्रिय बाणिज्य बैङ्क भोजपुर शाखाबाट मात्र २ हजार ३ सय ग्राहकले एटिएम कार्ड बनाईसकेका छन् । बाणिज्य बैङ्कका अनुसार बाणिज्य बैङ्कको एटिएम भएका ग्राहकहरुका रकम निकाल्न कुनै पनि शुल्क नलाग्ने र सदस्य बैङ्कहरुका एटिएम प्रयोगकर्ताहरुलाई प्रति पटक २० रुपैँया र अन्य बाहिरी एटिएम प्रयोगकर्ताका लागि ५० रुपैँया शुल्क स्वरुप लाग्नेछ । सञ्चालित एटिएम सेवा बिहानबाट राती ८ बजेसम्म खुल्ला रहने र सो समयभन्दा पछाडी पनि धेरै समस्यामा परेका एटिएमकर्ता ग्राहकहरुले रकम निकाल्न सक्ने प्रबन्धक नेपालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार