चुनावी सरगर्मी बढ्यो

  सम्पादकीय  132 पटक हेरिएको

देश संघिय संरचनामा गएपछि चुनावै चुनावको यो बर्षमा पुनः अर्को दोस्रो चुनाव नजिकिदैछ –प्रतिनिधि र प्रदेशसभाको चुनाव । केहि महिनाअघि मात्रै स्थानीय तहको पहिलो चुनाव सम्पन्न भयो । आगामी मंसिर १० गते हुन लागेको चुनावका लागि राजनीतिक दलहरु चुनावी आन्तरिक रणनीतिमा जुटेका छन् । आइतबार उम्मेदवार मनोनयन दर्ता भयो । बुधबार अन्तिम नामावली प्रकाशित भयो । दलले चुनाव चिन्ह पाए । यसपछि सदरमुकामदेखि गाउँ तहसम्म चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।

विगतका चुनावमा एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिदै आएका मुख्य दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपाल यसपल्ट गठबन्धन गरेर चुनावी मैदानमा जाने भएका छन् । वाम एकता गर्ने गरी केन्द्रमा भएको गठबन्धन अनुसार एमाले र माओवादी यतिबेला एक भएका छन् । यता मुख्य दल कांग्रेसले पनि संघीय र राप्रपासंग लोकतान्त्रिक गठबन्धन गरेको छ । मुख्य शक्तिका रुपमा देखिएका दलहरुले यसपल्ट वाम र लोकतान्त्रिक गठबन्धन गरेपछि तीव्र प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । गठबन्धनहरु चुनावी प्रतिस्पर्धाको तीव्र तयारीमा छन् । वाम गठबन्धनलाई विगतको साख जोगाउने र लोकतान्त्रिक गठबन्धनलाई इतिहास फर्काउने चुनौती छ । २०१५ सालको निर्वाचन यता बहुदलिय व्यवस्था पछि एकछत्र वामपन्थिले जित्दै आएको यहाँ यसपल्ट प्रतिष्ठा जोगाउनुपर्ने चुनौती छ । ०४८, ०५१, ०५६ र ०७० को निर्वाचनमा एमालेले र ०६४ मा माओवादीले विजयीको शिखर चुमेका थिए । ०१५ सालको चुनावमा जितेर ३० वर्षसम्म लगातार वामपन्थीलाई जिम्मा दिएको किल्ला फर्काउनुपर्ने कांग्रेसलाई चुनौती छ । यसै कारण पनि वामपन्थी गठबन्धन लगत्तै कांग्रेसले अन्य दलसंग सहकार्य जोडेको छ ।

गठबन्धनका दुवै शक्तिले स्थायी सरकारलाई मुख्य एजेण्डा बनाएका छन् । एमाले र माओवादी वामपन्थी भएपनि द्धन्द्धकालिन समयदेखि दुवै पार्टिका सवालमा जनतामा परेको छााप अझै पनि कायम छ । यसकारण गठबन्धनभित्र असन्तुष्टि यथावत छ । स्थानीय तहमा कार्यकर्ताहरु बीचमा अन्योल छ । यस्तो अवस्थामा वाम गठबन्धनको सार्थकता के रहने ? भन्ने आशंका पैदा भएका छन् । जितको इतिहास जोगाउन सक्लान नसक्लान भन्ने प्रश्न जन्मिएको छ । यता लोकतान्त्रिक गठबन्धनको नेतृत्व गर्दै आएको कांगे्रसले ‘कुकुर र विरालो’को व्यवहार गरिरहेका एमाले र माओवादीको अचानकको गठबन्धनलाई अप्राकृतिक बताउदै आएको छ । वामशक्तिहरुका विरुद्ध लोकतान्त्रिक गठबन्धन चुनावी मैदानमा जोडतोडका उत्रने बताउदै आएको छ । यसर्थ यसपटकको चुनावमा दलहरुबीच रस्साकस्सी चल्ने सहजै अनुमान लगाउन सकिन्छ ।

जुनै गठबन्धनले जितेपनि पजिल्लाको बिकासका लागि जित हुनुपर्छ । २००७ सालदेखि विकास र आर्थिक समृद्धिका लागि भौतापरिरहेको यसजिल्लाका लागि संघिय संरचनासम्म आइपुग्दा दर्विलो नेतृत्व अब भने आउनैपर्ने आवश्यकता खड्केको छ । जिल्लाले राष्ट्रपति लगायतका राज्यका उच्च ओहदामा नेतृत्व गरिरहदा यहाँको बिकास भने शुन्य छ । अब आउने नेतृत्वहरुले यसलाई मनन गर्नैपर्ने हुन्छ । घोषणापत्र र प्रतिबद्धताहरुलाई चुनावी भोट बैकका रुपमा मात्रै नलिएर विकास र समृद्धिका लागि ध्यान दिनैपर्ने जरुरी देखिन्छ । पटक पटक नेताको आश्वासनबाट जनताहरु सजग भैसकेका छन् । उनीहरुको मनमस्तिष्कलाई जित्दै जितको सुनिश्चितताका लागि आश्वासन हैन व्यहारमा उतार्ने गरी चुनावी मैदानमा दलहरु जानुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार