जस्ताको भित्तोमा मनमोहक पेन्टिङ

  विद्या राई  628 पटक हेरिएको

दिउसोको त्यस्तै साढे ३ बजेको थियो । चुनावको बेला छ । अफिसबाट निस्किएर रिपोर्टिङका लागि निर्वाचन कार्यालयतिर हानिए । निर्वाचन कार्यालय बन्द हुन आधाघण्टामात्रै बाँकी थियो । छिटो छिटो पाइला चाल्दै अघि बढिरहेको थिए ।

जिल्ला प्रहरी कार्यालयको गेटनेर पुगेपछि हुलका हुल मान्छे देखे । यसो हेरे, अघिल्तिर कसैले पेन्टिङ गरिरहेको थियो । मान्छेहरु एकाग्र भएर उसको पेन्टिङ हेरिरहेका थिए । अनि खासखुस पनि गर्दै देखिन्थे । रहर लाग्दो उसको पेन्टिङले मेरो पनि ध्यानै मोडियो । मेरा लागि यो नौलो थियो । काठमाडौ पुगेका बेला नयाँ बानेश्वरको ग्यालरी बाहिरबाट हेर्ने मौका मिले पनि पेन्टिङ गरिरहेको मैले जिवनमै पहिलोचोटी देख्दै थिए । त्यहि हुलमा मिसिन अलिक नजिक गए ।

 

लामो, कालो कपाल पालेको कोही पुरुष हातमा कुची लिएको थियो । पर्खालमाथि चढेर त्यसैको साहारामा पेन्टिङ गरिरहेको थियो । पहिलो पटक सिधै पेन्टिङमा पुगेको नजर दोस्रोपल्ट पृष्ठभुमी नियाल्न पुगेछ । जस्ता पाताको भित्तो पेन्टिङका लागि पृष्ठभुमि थियो । पेन्टिङ हेर्दा जति रोमाञ्चक लाग्यो । पृष्ठभुमी हेरेपछि मनमा खुलदुली उब्जियो । छेवैमा हेरे । कसैले रंगका बट्टाहरु दिइरहेको थियो ।

मनमा सोचे, ‘पर्खालमा चढेकालाई पर्खनुभन्दा भुइमा बसेकैसंग खुलदुली मेटाउनु बेस, मौका यहि हो ।’ निर्वाचन कार्यालय नि पुग्नु थियो । समयको पनि त ख्याल गर्नु थियो ।
भुईमा बसेको ऊ तिर फर्किएर मैले सोधे ः तपाईसंग कुरा गर्न सक्छु ?
उसले भन्यो ः भन्नुहोस् न ।
‘कति राम्रो पन्टिङ है !’ मैले कुरा कोट्याए ।
‘होर † तपाईलाई मन प¥यो ?’ उसले थोरै मुस्कुराएर भन्यो ।
मैले भने, ‘हो नि †, कहाँबाट आउनुभएको ?’ ‘उहाँ पारीको गाउँ आम्तेकबाट ।’ उसले उत्तर दियो ।
‘तपाईहरु दुइजनामात्रै हो ?’ मैले सोधे । ‘हो !’ उसले फर्कायो । ‘तपाईको नाम’ मैले भने । उसले भन्यो, ‘नगन राई ।’ मेरो पालो ‘अनि उहाँको नि †’ उसको पालो, ‘जगन राई ।’
नामको पहिलो शब्दको राइमिङ अनि थर पनि मिलेपछि अनुमानित प्रश्न गर्न मन लाग्यो र सोधे । ‘तपाईहरु एउटै कोखका दाजुभाई ?’ उसले भन्यो, ‘हो त, ऊ मेरो दाजु, म भाई, पेन्टिङ गर्न आएको ।’
यति भएपछि अरु के चाहियो र ?

‘उहाँ पारीको गाउँमा बस्ने दाजुभाईलाई पेन्टिङ गर्न कसरी आयो ?’ जिज्ञासा तेर्साए । ‘मेरो दाजु पेन्टिङकै विद्यार्थी हो नि त । म त यसो साथी आएको ।’ उसले भन्यो । पेन्टिङ नै पढेको भनेपछि दाजुसंगै कुरा गर्न मन लाग्यो । हुन त अघि नै पेन्टिङमा ‘डिस्टर्ब’ नहोस् भनेर पर्खालमुनि बस्नेसंगै बोल्ने निर्णय गरेकी थिए । अनि भाईलाई नै सोधे, ‘दाजुसंग बोल्न मिल्छ ?’ उसले भन्यो, ‘मिलिहाल्छ नि † किन नमिल्नु ।’ अनि उसले दाजुलाई बोलायो । त्यसबेलासम्म ऊ पर्खालमुनि झरेर मुनिपट्टि पेन्टिङमा लागेको थियो । म अलिकति उसको नजिक गए ।

‘के थियो होला ?’ उसैले पो सोध्यो । मलाई केहि अप्ठ्यारो भान भयो । ‘तपाईको पेन्टिङबारे केहि सोधु भनेर ।’ मैले भने । तर कस्तो अप्ठ्यारो । उसको बोलीले मलाई झुकायो । अनि हत्त न पत्त मुखबाट कुरो फ्याट्टै निस्कियो – ‘यति राम्रो पेन्टिङलाई जस्ताको भित्तोमा किन ?’ ‘आफ्नो प्रतिभा देखाउन, भित्तोलाई आकर्षक बनाउन ।’ उसले जवाफले म फेरी चुपचाप भए । अहिले पनि ऊ पेन्टिङ गरिरहेकै थियो । ‘यो त व्यक्तिको घर होइन र ?’ मैले फेरी सोधे । उसले भन्यो, ‘हो, अनुमति लिएर पेन्टिङ गरिरहेछु ।’ ‘कति लिनुहुन्छ यसबापत ?’ मैले । उसले, ‘आनन्द अनि सन्तुष्टि ।’ उसको नरम बोली । एकोहोरो सुनिरहुँजस्तो ।
……………

उनले आफ्नो पेन्टिङमा बाबाजीको आकार दिएका थिए । आफैले परिकल्पना गरेका । उसको पेन्टिङ देखेर हेर्नेलाई एकाग्र बनाएको थियो । हुन पनि सदरमुकाममा यस अघि यस्तो दृश्य कहिले देखिएको थिएन । एउटै चित्रका लागि कुची चलाइरहेको उनको पाँचौ अर्थात अन्तिम दिन थियो (शुक्रबार) । पहिलो दिन जस्ताको भित्तो सफा गर्दै गर्दा वरपरका स्थानीय तथा बाटो हिड्ने बटुवाले खुबै कानेखुसी गरेका थिए । जस्ताको भित्तोमा आकार दिएर जब हेर्न लायकको पेन्टिङ गर्दै गए । सबैको ध्यान उनैमा खिचियो । ‘भाईको पेन्टिङ असाध्यै राम्रो लाग्यो, कलाका धनी रैछन्,’ विद्योदय माविका शिक्षक पर्शुराम तिवारीले सुनाए । सदरमुकाममा उनले यस्तो दृश्य यो अघि कहिले देखेका थिएनन् । न त कल्पना नै गरेका थिए ।

२०५२ सालमा भोजपुर नगरपालिका – ११, आम्तेकमा जन्मिएका उनी बालखैदेखी चित्रकलामा रुची राख्थे । गाउँमा पढ्ने वातावरण थिएन । सदरमुकामकै सगरमाथा बोर्डिङ स्कुलमा आएर कक्षा १० सम्म पढेर एसएलसी पास गरे । कक्षाको दोस्रो पोजिसनमा आउने मेहनती र परिश्रमी भएकैले परिवारले विज्ञान संकाय पढ्न भन्यो । काठमाडौ गएर प्लस टु जोइन गरिदिए । तर पढ्न सकेनन् । त्यसपछि आफ्नो रुची अनुसार पढ्न परिवारले सुझायो । सानैदेखीको चित्रकलाको रुची नै पढ्ने भए । काठमाडौमै सिर्जना कलेज अफ फाइन आर्टस्मा पुनः प्लस टु जोइन गरे । सन् २०१५ मा आर्टस्बाट प्लस टु सके । उनले राम्रै अंक प्राप्त गरेर पास गरेका थिए । यत्तिकैमा उच्च तह पढ्नका लागि छात्रवृति पाए, भारतको कलकतामा । त्यहाँको गोभर्नमेन्ट अफ आर्ट एण्ड कार्टले स्नातक तह पढ्नका लागि निशुल्क पढाउने भयो । कलेजकै सहयोगमा पढिरहेका छन् । आगामी २ बर्षपछि उनले स्नातक सक्दैछन् ।

दशैतिहार मनाउन छुट्टिमा घर आएका बेला सदरमुकाममा आएर पेन्टिङ गरेका हुन् । एकहप्तायता स्थानीय होटलमा बसेर पेन्टिङ गर्दैछन् । आवश्यक सामाग्री आफैले जुटाएका हुन् । ‘दुर्गम भोजपुरको छोरो म, आफुलाई सानैदेखि इच्छाले भारतमा पुगेर पढ्ने अवसर पाएको छु, म जस्ता थुप्रै भाइबहिनी छन्, जसलाई चित्रकलामा रुची छ, तर परिवारको दबाबले पढ्न पाएका छैनन् । अवसर पाएका छैनन्, उनीहरुका लागि प्रेरणाको स्रोत बनोस् भनेर पेन्टिङ गरेको हुँ,’ उनले भने । छुट्टि सकिन लागेकाले चाडै नै कलकता पुनः फर्कदैछन् । जानुअघि अनुमति पाए केहि विद्यालयहरुमा पेन्टिङ गरेर फर्कने उनको योजना छ । उनले हाल गर्दै गरेको पेन्टिङ स्थानीय सन्तोषी सुवालको घरको भित्तो हो । अनुमति लिएर पेन्टिङ थालेका थिए । यसपछि टुडिखेलस्थित सार्वजानिक शौचालयको भित्तामा पेन्टिङ गर्ने अनुमति पाएका छन् ।

‘मेरो जिल्लाका लागि केहि दिन नसके नि आफुले सिकेको पेन्टिङले आनन्द दिन चाहान्छु,’ उनले बताए । यसअघि काठमाडौमा थुप्रै स्थान तथा विद्यालयहरुमा पेन्टिङ गरिसकेका छन् । कतिपयले बोलाएरै पेन्टिङ गर्न लगाए । कसैले सित्तैमा, कसैले ५ देखि १० हजार पारिश्रमीक दिएर पेन्टिङ गर्न लगाए । पेन्टिङ गर्दा उनलाई आनन्दको अनुभुती हुन्छ । पोट्रेइट, लेन्ड्स्क्याप, लाइट लगायतका पेन्टिङमा रुची राख्छन् । निरन्तर पढाइलाई पुरा गरेर आफ्नै देश फर्केर चित्रकलामा योगदान दिने उनको चाहाना छ । सामान्य परिवारमा हुर्किएका उनी घरका ३ छोरामध्ये जेठो सन्तान हुन् । ३ दिदीबहिनी र बावुआमा छन् ।
……….
उनीहरुसंग कुरा गरीसक्दा ४ बज्न एक मिनेट मात्रै बाँकी थियो । निर्वाचन कार्यालयतिर दौडिए । चालचुल थिएन । मुलगेट नै बन्द थियो । सार्वजानिक विदा भन्ने त हेक्का नै रहेनछ । फनक्कै फर्किए । ति दाजुभाई पेन्टिङ सक्ने तरखरमा थिए । साँझ पर्न लागेको थियो । म अफिसबाट झोला लिएर कोठा तिर फर्किए ।

(लेखक कान्तिपुर दैनिकका लागि भोजपुर संवाददाता हुन् ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार