पाठेघर खस्दा पाइलैपिच्छे पीडा

  विद्या राई  219 पटक हेरिएको


यदी महिलाको पाठेघर नभइदिने हो भने सृष्टिकै हालत के हुन्छ होला ? प्राकृतिक रुपमै पाठेघर जस्तो अनुपम अंग उपहार पाएका महिलाहरू त्यही पाठेघरकै कारण पीडाको भारी बोकिरहेका घटना थुप्रै छन् । सृष्टि धान्नकै लागि सन्तान जन्माउदा रोगी भएको पाठेघरको उपचार गर्न सकिरहेका छैनन् । जसका कारण रोग लुकाउनु पर्ने पीडाले पाइलै पिच्छे आँसु चुहाउन विवस छन् ।

भोजपुरकी रामकुमारी राई पनि पाठेघरका कारण भोग्नु परेको पीडाकी एक पात्र हुन् । रामप्रसाद राई गाउँपालिकाकी ४५ वर्षीया उनका २ छोरा र एक छोरी छन् । ०५० सालमा जेठो छोरो जन्मियो । पति रोजगारीका लागि भारतको सिलाङमा थिए । पहिलो पटक सुत्केरी हुँदा एकातिर सुत्केरी ज्यान, अर्का्तिर सासुको पेलान । छोरो जन्मिएको एक हप्तादेखि ४५ मिनेट टाढा रहेको कुवा पुगेर गाग्रोमा पानी ल्याउनुपथ्र्यो । जंगल पुगेर घाँस दाउरा गर्नुपर्ने, घरकामको चटारो उस्तै । छोरो कहिलेकाहीँ हजुरआमासँगै छोड्थिन् । धेरैजसो साथमै लिएर मेलापात धाउथिन् । गह्रौं कामको बोझले सुत्केरी ज्यान दिनदिनै कमजोर हुँदैगयो । तल्लो पेट दुख्ने र बेलाबेला रगतको खोलो बग्थ्यो । बिस्तारै पिसाब फेर्ने ठाउँमा अप्ठेरो अनुभव हुन थाल्यो । तर पनि उपचार गर्न त परैको कुरा, यसबारे पतिलाईसमेत थाहा नदिदा समस्या बढ्दै गयो ।

एक बर्षपछि अर्की छोरी जन्मिइन् । कामको चाप उस्तै थियो । पिसाब फेर्ने ठाउँको पीडा बल्झिन थाल्यो । त्यहाँबाट मासु लत्रिएको जस्तै अनुभव हुन थाल्यो । छोरी जन्मिएको डेढ बर्षमा कान्छो छोरो जन्मियो । यसपल्ट कामको चाप मात्रै होइन, छोराछोरीको स्याहार सम्भार र सासुको चाकरी उही सुत्केरी ज्यानको थाप्लोमा । घरमा आम्दानीको बाटो थिएन । त्यसैमाथि जड्याहा पतिको दिनरातको कुटाई । खान बस्न र सुत्नको टुंगो थिएन । पिसाब फेर्ने ठाउँको मासु बाहिरबाट प्रष्टै थाहा हुने गरी लत्रिसकेको थियो ।

‘आफूलाई के भएको हो ? भन्ने बारेमा तनाव भइरहन्थो । तर, कसलाई भन्नु, कसरी भन्नु ? पछि छिमेकी दिदीबहिनीको गफ सुन्दा थाहा पाएँ, पाठेघर खसेको रहेछ ।’ उनले आफ्नो समस्या के रहेछ ? भन्ने बारेमा थाहा त पाइन् तर, त्यो बारेमा कसैलाई सुनाइनन् । ‘साथीहरूलाई सुनाऊँ बेइज्जत होला भन्ने डर, सासुलाई सुनाउने कुरै भएन् । पतिलाई सुनाऊँ कान्छी ल्याइदेलान् भन्ने पीर,’ उनले भनिन्, ‘सुरुसुरुमा हिँडडुल गर्न मात्रै गाह्रो हुन्थ्यो, अचेल त रातदिननै दुखिरहन्छ ।’

कहिलेकाहीँ सहनै नसक्नेगरी दुख्ने र पोल्ने गर्छ । गत बर्ष महिला स्वयम्सेविकालाई सुनाएकी थिइन् । स्वयम्सेविकाले उपचार गर्न सल्लाह दिए पनि रामकुमारी लाजले स्वास्थ्य संस्था पुगेकी थिइनन् । ‘लुकाउनुपर्ने कुरा डाक्टरलाई कसरी देखाउनु ? पाप लाग्छ, सकुन्जेल सहेरै बस्ने सोचेकी थिएँ,’ उनले थपिन्, ‘छोरीले पनि उपचार गर्न सल्लाह दिइन् । अनि नजिकैको स्वास्थ्य चौकी गएँ ।’ स्वास्थ्यकर्मीले पाठेघर पुरै खसेको र संवेदनशील भएका कारण गाउँमा उपचार गर्न सम्भव छैन भनेछ । न्युन आय स्रोतले बाँचेको रामकुमारीको परिवारलाई सुविधासम्पन्न स्वास्थ्य संस्थामा पुगेर उपचार गर्ने भने सामथ्र्य छैन । सुरुमा लाजका कारण र अहिले पैसाको अभावमा पाठेघरको पीडा लुकाएर बाँच्न विवस छिन् उनी ।

आमचोक गाउँपालिकाकी ७१ बर्षीय पिरती राईको पीडा पनि कम छैन । दुई छोरा र तिन छोरीकी आमा उनी यतिबेला हजुरआमा भैसकेकी छिन् । दोस्रो सन्तान जन्मदा सुत्केरी बेलामै गह्रांै भारी बोकेर खस्न सुरु भएको पाठेघर अन्तिम सन्तान जन्मदा पुरै तल पुगेको थियो । ‘लाजले कसैलाई भन्न सकिनँ । उपचार गर्नुपर्छ भन्ने पनि थाहा भएनँ ।’ उनले भनिन्, ‘हिँडडुल गर्न अति नै अप्ठेरो भएपछि स्वास्थ्य स्वस्य्सेविकाको सल्लाहले स्वास्थ्य चौकी गएँ । अनमीले लाज मान्न नहुने र उपचार गर्नुपर्ने भन्दै सम्झाई बुझाई गरिन् । उपचार नगर्दा समस्या झन् बल्झिदै जाने हुँदोरहेछ ।’ सुरुमा थाहा नपाएका कारण आफूले यस्तो समस्या झेल्नुपरेको उनले बताइन् ।

पिरतीको पाठेघर पुरै खसेको छ । गाउँमा स्रोत साधन नहुँदा उपचार सम्भव छैन । स्वास्थ्यकर्मीले उपचारका लागि अन्तै जान सल्लाह दिएका छन् । उनले भनिन्, ‘तर, उपचार गर्ने खर्च छैन । के गर्ने ? कसो गर्ने साह्रै समस्या भइरहेको छ ।’ बढ्दै गएको पाठेघरको पीडाले पिरतीको दैनिकी निकै सकसपूर्ण छ । बेलैमा उपचार नगरेकाले यो हाल भोग्नुपरेको उनी बताउछिन् । ‘थाहा हुने बित्तिकै उपचार गर्न गर्नुपर्ने रहेछ, लाजले लुकाइयो । अहिले उपचार गर्न त मन छ नि ! खर्च कसरी जुटाउने हो खोई ?,’ उनले थपिन् ।

पिरती र रामकुमारी प्रतिनिधि पात्र मात्रै हुन् । पाठेघर सम्बन्धि समस्याको प्राय महिलाहरु हत्त पत्त उपचार गर्न मान्दैनन् । भरसक लुकाएरै राख्ने प्रयासमा हुन्छन् । परिवार र समाजले नकारात्मक दृष्टिले हेर्ने डरले खुलेर कुरा गर्न पनि सक्दैनन् । उपचार गर्नुपर्छ भन्ने चेतनाको कमी, अशिक्षा र गरिबीका कारण पाठेघर सम्बन्धि समस्या भएका ग्रामीण भेगका अधिकांश महिला उपचारको पहुँचमा छैनन् । पाठेघर सम्बन्धि निशुल्क तथा सहुलियत उपचार हुने भए पनि लाज र डरले लुकाएरै राख्न बाध्य हुन्छन् भन्छिन्, मानवअधिकारकर्मी बिमला थापा ।

जिल्ला स्वास्थ्य कार्यालयको सुरक्षित मातृत्व तथा परिवार नियोजन शाखाकी पद्मलक्ष्मी राईकानुसार जिल्लाभर आमा भएका ७० प्रतिशत महिलालाई पाठेघरको समस्या छ । उनीहरू मध्ये कतिपयले आफूलाई पाठेघरको समस्या भएको बारे थाहा नै पाएका हुदैनन् । ‘थाहा पाउनेले पनि परिवार र समाजले छिःछि, दुरदुर गर्लान् कि ! भनेर लुकाएर, सहेर बस्छन्,’ राईले अनुभव सुनाइन् ।

पाठेघरको समस्याबाट ग्रसित महिलाहरूलाई एकातिर परिवार र समाजको लाज, अर्का्तिर पाठेघरमा भएको समस्या बारे पतिले थाहा पाउँदा घृणा गरेर सौता हाल्छ कि ! भन्ने डरले पनि घटना गुपचुप नै रहन्छन् । राईले भनिन् ‘उमेर नपुग्दै हुने विवाह, सुत्केरी भएको बेला कामको चटारो, घरेलु हिंसाको मारले गर्दा पाठेघरको समस्या हुने गरेको छ ।’ सहरी क्षेत्रको तुलनामा दुरदराजमा पाठेघरको समस्या झेल्ने महिलाहरूको संख्या धेरै रहेको पनि राईले बताइन् ।

आर्थिक रुपमा सम्पन्न भन्दा पनि विपन्न समुदायका महिलामा यसले विकराल रुप लिदै गएको छ । डर, लाज र आर्थिक अभावले उनीहरू उपचारका लागी स्वास्थ्य संस्थाको पहुँचसम्म पुग्न नसक्दा मानसिक सन्तुलन गुम्ने खतरा बढेको पनि सुरक्षित मातृत्व तथा परिवार नियोजन शाखाकी राईको भनाइ छ ।

पाठेघर झरेका महिलाहरूले स्वास्थ्य संस्थामा गएर परामर्श, सरसल्लाह र उपचार लिनुको साटो कपडाको डल्ला, टेवलटेनिसको बल घुसारेर लत्रिएको अंगलाई भित्र ठेल्ने गरेका थुप्रै उदाहरण राईसँग छन् । भन्छिन्, ‘यसो हुँदा शरीरभित्र घुसारिएका डल्लाहरू जेलिएर उनीहरूको स्वास्थ्य झन् जोखिममा पर्ने गरेको छ । रोगको उपचार गर्नुको साटो लुकाउने प्रवृत्तिले समस्या माथि समस्या थपिने गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले आव ०७३/०७४ मा जिल्लाका चार स्थानमा शिविर सञ्चालन गरेको थियो । ओखे्रमा ५२, बालंखामा २४, पाँचामा २६ र कुदाककाउलेमा १५ जनाको स्वास्थ्य परीक्षण भएको थियो । जहाँ (१८ देखी ७५ बर्ष उमेर समुहका) महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । २२ देखी ३० बर्ष उमेरका महिलाहरूमा पाठेघरको समस्या बढी थियो ।

एक लाख २० हजार बजेटमा भएका चारवटै स्वास्थ्य शिविरमा १६ जनालाई रि¨ प्रेसरी लगाइएको, ५० जनाको प्राथमिक उपचार गरिएको र पाँच जनालाई अपरेसनका लागी अन्यत्र रेफर गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय कार्यालय भोजपुरले जानकारी दिएको छ । पाठेघरको समस्याले तिन जनालाई पिसाब चुहिने समस्यासमेत भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ ।

जिल्लामा पाठेघरको उपचारका लागी सरकारी स्वास्थ्य संस्थामा पर्याप्त व्यवस्था छैन । एक मात्र जिल्ला अस्पतालमा समेत स्क्रिनिङ र रिङ लगाउने सेवा मात्र उपलब्ध छ । गम्भीर प्रकृतिका बिरामी अन्यत्रै रेफर गरिन्छन् । सदरमुकाममा आएर अस्पतालमा सेवा लिनु गरिब समुदायका महिलालाई पहुँचभन्दा टाढाको बिषय बनेको छ । पाठेघरको समस्या समाधानका लागि आयोजना हुने स्वास्थ्य शिविर गाउँ पुगेका बेला समेत सबै क्षेत्र र भूगोललाई एकैचोटी समेट्न गाह्रो हुँदा धेरै केसहरू बाहिर आउन नसकेको जिल्ला स्वास्थ्य कार्यालयको सुरक्षित मातृत्व तथा परिवार नियोजन शाखाकी पद्मलक्ष्मी राई बताउँछिन् ।

शिविरका लागी बजेट पनि निश्चित मात्रै आउने, उक्त बजेटले शिविर प्रचार प्रसार, तिन जना स्वास्थ्यकर्मीलाई सेवा सुविधा, स्क्रिनि¨ खरिदजस्ता असिमित खर्च टारेर सेवा दिन एकदमै समस्या हुँदा सबै पाठेघर रोगी कहाँ सेवा पु¥याउन गाह्रो भईरहेको पनि राईको भनाइ छ । उनका अनुसार एउटा वडामा औसत १७ देखी २० जना महिलाहरू पाठेघरको समस्याबाट अति नै पीडित छन् । यहाँ ९ वटा स्थानीय तह र ८१ वडा छन् ।

पाठेघर रोगको उपचार सेवाका लागी महिला अधिकारवादी, अधिकारकर्मी समेत चासो नदिदा समस्या सुल्झाउन झनै गाह्रो छ । ‘सबैले हातेमालो गरेर जनचेतना जगाउने र उपचार गराउन सके पाठेघरको समस्या जटिल छैन । तर, यहाँका कसैलाई चासो चिन्ता केही छैन । धेरैसँग समन्यव गरौं, बजेट जुटाआंै, अभियान चलाआंै भनेर बिन्ति गरेँ कसैले सुनेनन्’ सुरक्षित मातृत्व तथा परिवार नियोजन शाखाकी राईले बताइन् ।
[यो फिचर महिलाखबरका लागि पत्रकार विद्या राईले तयार गरेकी हुन् ।]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार