ट्रायल रेसमा बावुछोरीले मारे बाजी

  प्रदीपचन्द्र राई  795 पटक हेरिएको

भोजपुर । आफ्नो जन्मभूमि र देशलाई विश्वमा चिनाउने भोजपुरे नेपाली अल्ट्राधाविका मिरा राईको सम्मानमा आयोजना भएको भोजपुर ट्रायल रेस प्रतियोगितामा पुरुष र महिलातर्फ नै बावुछोरी प्रथम भएका छन् । पुरुषतर्फ दामोदर बुढामगर र महिलातर्फ उनकी छोरी हुमी बुढामगरले रेस जितेका हुन् ।
दौडमा प्रथम हुने पुरुषतर्फका ४० बर्षिय बुढामगरले १ घण्टा ५५ मिनेट ३२ सेकेण्ड र महिलातर्फका हुमीले २ घण्टा ३५ मिनेट २७ सेकेण्डमा रेस पुरा गर्दै नगद रु १० हजार, मेडल र प्रमाणपत्र हासिल गरे । पश्चिीमी प्युठानका यी दुई बावुछोरीले भोजपुरमा आएर रेस जित्दा अत्यन्त रमाईलो र खुशी व्यक्त गरे । विगत ८ बर्ष देखि नै छोरीलाई कोच गर्दै आएका बावु दामोदर काठमाडौँमा बसेर अरुलाई पनि कोच गर्ने गरेको बताए ।
बाबुछोरीको रेस नतिजालाई लिएर भावी पिँढीमा यसले अरुलाई पनि प्रेरणा थप्ने काम भएको भोजपुरे चेली अल्ट्राधाविका मिरा राईले प्रतिक्रिया जनाईन् । ‘बावुछोरी त्यति टाढाबाट आएर पनि भोजपुर जस्तो पहाडी ईलाकामा स्थानिय युवापुस्तालाई पछि पारेर रेस जित्दा अचम्मित र भावी पिँढीको लागि गतिलो उदाहरण भएको छ ।’ मिराले भनिन् ।

त्यस्तै दौडमा द्धितिय हुने पुरुषतर्फका रुपलाल बुढामगरले २ घण्टा २७ सेकेण्डमा र महिलातर्फका प्रतिभा श्रेष्ठले २ घण्टा ४७ मिनेट २१ सेकेण्डमा पुरा गर्दै नगद रु ८ हजार, मेडल र प्रमाणपत्र, तृतिय हुने पुरुषतर्फका भुमिराज राईले २ घण्टा १ मिनेट ३१ सेकेण्डमा र महिलातर्फका सुनिता राईले ३ घण्टा ३ मिनेट ४४ सेकेण्डमा दुरी पार गर्दै नगद रु ६ हजार, मेडल प्रमाणपत्र जिते । त्यस्तै दौडमा चाँैथो हुने पुरुषतर्फका विवेक राई र महिलातर्फका विना राई र पाँचौ हुने पुरुषतर्फका राम बहादुर गुरुङ र महिलातर्फका स्मिता तामाङ क्रमशः ४ हजार र २ हजार नगदसहित मेडल, प्रमाणपत्र जिते । त्यस्तै पुरुषतर्फकै रुपलाल बुढामगर पनि पुरुषतर्फ सहभागी जनाएकामध्ये विजेता दामोदरका भाई हुन् ।
अल्ट्राधाविका मीरा राईको जन्मगाउँ सानोदुङ्माको थर्पु स्कुलबाट बिहान सवा ८ बजे सुरु भएको दौड मानेडाँडा, बास्तिम, पारपानी हुदै भोजपुर टुडिखेलको सहिद पार्कसम्मको १८ किलोमिटर लामो दुरीमा आएर दौड टुगिंएको थियो ।
बर्षैपिच्छे आयोजना गरिने यो ट्रायल रेसलाई थप उजागर गर्न अन्तराष्ट्रिय स्तरको प्रतियोगिता गर्न मिल्ने खालका उपर्युक्त रुटहरुको खोजी भैरहेको एकेडेमीका अध्यक्ष पाविहाङ राईले बताए । नेपाल ट्रायल रेस, रिमाचुङ एजुकेसन स्पोर्टस् एकेडेमी र सानोदुम्मा माविको संयुक्त आयोजनामा सम्पन्न भएको प्रतियोगितामा जिल्लाभित्रका र धरान, खोटाङ, धनकुटा, धरान, काठमाडौँ र सुदुर प्युठानबाट एक सय २० जना धावकले सहभागी जनाएका थिए ।

प्रतियोगितामा पुरुष र महिलातर्फका विजेता बावुछोरीसंग फोटो लिँदै अल्ट्राधाविका मिरा राई । तश्विर / प्रदीपचन्द्र राई

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार