भोजपुरमा बाम गठबन्धन भारी मतका ल्याएर विजयी हुने निश्चित

२०१५ सालको निर्वाचन यता बहुदलिय व्यवस्था पछि एकछत्र वामपन्थिले जित्दै आएको भाेजपुरमा ०४८, ०५१, ०५६ र ०७० को निर्वाचनमा एमालेले र ०६४ मा माओवादीले विजयीको शिखर चुमेका थिए ।

  सिलिचुङ संवाददाता  2785 पटक हेरिएको

भोजपुर । राजनीतिक दलहरुले विभिन्न जिल्लामा प्रायजसो पाको उम्मेदवार उठाइरहेका बेला यहाँ भने युवा पुस्ताका उमेदवार उठाएका छन् । यससंगै संघिय संरचनापछि हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको आसन्न निर्वाचनका लागि उम्मेदवारी मनोनयन दोस्रो पुस्तामा हस्तान्तरण भएको छ ।

यहाँ प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि २ गरी जम्मा तीन सिट छन् । यसअघि एक्लाएक्लै भिड्दै आएका मुख्य दलहरु नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल यसपल्ट गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा जादैछन् । कांगे्रसको नेतृत्वमा संघिय र राप्रपाबीच तालमेल गरेर लोकतान्त्रिक गठबन्धन चुनावका लागि उठेको छ । चाडै एकता हुने शर्तमा केन्द्रमा भएको तालमेलअनुसार एमाले र माओवादीको बामगठबन्धन प्रतिस्पर्धिका रुपमा उठेको छ । दुवै गठबन्धनका उम्मेदवार युवापुस्ताका छन् ।
लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभाका लागि कांगे्रसका उमेशजंग रायमाझीलाई उठाएको छ । प्रदेशसभा (१) मा संघियका अजम्बर राई ‘काङमाङ’ र (२) बाट कांग्रेसका गोविन्द कार्की छन् । बाम गठबन्धनले प्रतिनिधिसभाका लागि माओवादीका सुदन राईलाई अघि सारेको छ । प्रदेश (१) बाट राजेन्द्र राई र (२)बाट शेरधन राईलाई उठाएका छन् । दुवै एमालेका नेता हुन् । शेरधन, सुदन र अजम्बर बाहेकका अन्य तीन नेता निर्वाचनमा पहिलोपल्ट उठ्दैछन् । शेरधन ०५६, ०६४ र ०७० तीनपटक उठेका थिए । ०६४ मा पराजय भोगे । दुईपटक सांसद तथा एकपल्ट सुचना तथा सञ्चारप्रविधि मन्त्रि भए । सुदन ०६४ र ०७० तथा अजम्बरले ०७० मा चुनाव लडेको अनुभव छ । सुदनले ०६४ मा जिते, ०७०मा पराजय भए । अजम्बर विजयी हुन सकेनन् ।
कांग्रेसले यसअघि युवा नेतृत्वलाई स्थान नदिने गरेको पार्टीभित्रै विवाद हुदै आएका बेला उसका दुवै उम्मेदवार युवापुस्ताकै छानेको छ । अघिल्ला निर्वाचनमा ज्ञानेन्द्रबहादुर कार्की, धर्मराज राई लगायतले पटक–पटक चुनावमा उठ्दैआएका बेला उनीहरु छायाँमा परेका थिए । उमेरका हिसाबले शिर्षनेता वृतका युवा भित्र पर्छन् । रायमाझी ५० बर्ष पुग्दैछन् । पञ्चायती शासन विरुद्ध लड्दा थुपै्रपल्ट जेल जिवन भोगेका पाका र आटिला युवा नेता भएपनि निर्वाचनमा लड्ने अवसर पाएका थिएनन् । उनी नेपाल विद्यार्थी संघको पुर्वमहामन्त्री हुन् । गोविन्द ५२ बर्षका भए । उनी २००७ का क्रान्ती योद्धा दानबहादुर कार्कीका भाई हुन् । विद्यार्थीकालदेखि राजनीतिमा होमीएका उनी महासमितिी सदस्य हुन् । स्थानीय निकायको २०४९ को निर्वाचनबाट तत्कालिन टक्सार गाविसको जनप्रतिनिधि भएको बाहेक केन्द्रिय चुनावमा लडेको अनुभव छैन ।
यसैगरी बाम गठबन्धनतर्फ प्रदेश (१) का उम्मेदवार राजेन्द्र पनि पहिलोपटक चुनावमा लड्न लागेका युवा नेता हुन् । लामो समयदेखि राजनीतिमा सक्रिय एमालेका केन्द्रिय सदस्य हुन् । पञ्चायती शासन विरुद्ध लड्दा पटक – पटक जेलजिवन भोगेका नेता भित्र पर्छन् । ०६२/०६३ मा गणतन्त्रको अभियान सुरुवात उनैले गरेका थिए । विद्यार्थी राजनीतिबाट सक्रिय राई अनेरास्वियुको २ पल्ट अध्यक्ष भएका थिए । उनी एमालेभित्रकै प्रखर र निडर नेता मानिन्छन् । ४७ बर्षिय उनी युवा उम्मेदवार हुन् । प्रदेश (२) का उम्मेदवार शेरधन यसअघि पटक–पटक अवसर पाएका युवा उम्मेदवार हुन् । विद्यार्थी राजनीति हुदै जनमतसंग्रहकै पालादेखि एमाले राजनीतिमा होमिएका उनी हाल ४५ बर्ष लागे । यो पल्टको उम्मेदवारी उनको चौथो हो । हाल एमाले पोलिट्ब्युरो सदस्य छन् । मुख्यमन्त्रिको दाबेदारसहित उठेका उनी जिल्लाका उम्मेदवारभित्रकै हेभिवेट उम्मेदवार हुन् । प्रतिनिधिसभाका उम्मेदवार माओवादीका सुदन ६ जनामध्येका कान्छा उम्मेदवारभित्र पर्छन् । खम्बुवान पार्टीमा आबद्ध भएर राजनीतिमा लागेका उनी द्धन्द्धकालताका ०५८ सालमा माओवादी राजनीतिमा लागेका हुन् । उनी पुर्वसभासद् तथा माओवादीको पोलिट्ब्युरो सदस्य हुन् ।
लोकतान्त्रिक गठबन्धन प्रदेश (१) का उम्मेदवार संघियका अजम्बर लामो समय एमालेमा राजनीति गरेका व्यक्तित्व हुन् । संविधानसभाको दोस्रो निर्वाचनका ताका एमालेले पहिचानको मुद्धालाई नस्विकारेको भन्दै पार्टी परित्याग गरी संघियमा लागेका थिए । ५० बर्षका उनी संघियका केन्द्रिय पार्टी सचिव हुन् ।
गठबन्धनका ६ युवा उम्मेदवारहरुबीच तिव्र प्रतिस्पर्धा हुने देखिएको छ । वाम गठबन्धनलाई विगतको साख जोगाउने र लोकतान्त्रिक गठबन्धनलाई इतिहास फर्काउने चुनौती छ । २०१५ सालको निर्वाचन यता बहुदलिय व्यवस्था पछि एकछत्र वामपन्थिले जित्दै आएको यहाँ यसपल्ट प्रतिष्ठा जोगाउनुपर्ने चुनौती छ । ०४८, ०५१, ०५६ र ०७० को निर्वाचनमा एमालेले र ०६४ मा माओवादीले विजयीको शिखर चुमेका थिए । ०१५ सालको चुनावमा जितेर ३० बर्षसम्म लगातार वामपन्थिलाई जिम्मा दिएको किल्ला फर्काउनुपर्ने कांगे्रसवृतलाई चुनौती छ । यसै कारण पनि वामपन्थि गठबन्धन लगत्तै कांगे्रसले संघिय र राप्रपासंग सहकार्य जोडेको छ ।
उम्मेदवारहरु साख जोगाउन तथा फर्काउनका लागि प्रतिस्पर्धात्मक एजेडा लिएर चुनावी प्रचारप्रसारमा जुटेका छन् । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार रायमाझीको ५ बर्षभिमा जिल्लाभरका सडक कालोपत्रे गर्ने, कम्तीमा एक सय मेगावाट विधुत उत्पादन गर्ने, ९ वटै स्थानीय तहमा अस्पताल तथा सदरमुकाममा टिचिङ अस्पताल निर्माण गर्ने एजेण्डा छन् । ‘हामीसंग दुधकोसी र अरुण नदी छन्, छिमेकी जिल्लासंग साझेदारी भएर उच्चतम फाइदा लिनसक्ने व्यवस्था गर्छु,’ उनले भने । करिब ३ दशकसम्म वामपन्थिकै हातमा जिल्ला रहेकाले विभिन्न विकृतिहरु पैदा भएको तथा विकासमा अधोगति भएको बताउदै तिव्र प्रगतीका लागि आफुले जनतामुखी एजेण्डा ल्याएको गोविन्दले भने । पहिचानको मुद्धाका लागि विगतका बर्षदेखि लडिरहेका अजम्बरले संघियता, गणतन्त्र, धर्मनिरपेक्षता सहितको समानुपातिक व्यवस्थालाई संस्थागत गर्ने मुख्य एजेण्डा बनाएका छन् । ‘संविधानको विभेदपुर्ण नीतिलाई संशोधन गरेर हटाउने तथा मानव भुगोलअनुसार प्रदेश नं. को नामाकंन तथा सिमाकंन गर्ने एजेण्डा छ,’ उनले भने ।
बाम गठबन्धनबाट प्रदेश २ का राजेन्द्रले वाम एकता गरी राष्ट्रियताको लडाईलाई बलियो बनाउने, स्थायी सरकार निर्माण तथा आर्थिक समृद्धिको बिकास गराउने एजेण्डा ल्याएर प्रचारप्रसारमा जुटेका छन् । संघिय प्रणालीलाई संस्थागत र जिल्लाको बिकासमा सडकको पहिलो भुमिका हुने हुदा त्यसैमा पहिलो प्राथमिकता दिने बताए । २ का शेरधनले नयाँ भौतिक संरचनाका निर्माण र भएकालाई स्थायीत्व बनाउने बताए ।

बाम गठबन्धन बलियो

बाम गठबन्धनलाई विगतको साख जोगाउने र लोकतान्त्रिक गठबन्धनलाई इतिहास फर्काउने चुनौती छ । २०१५ सालको निर्वाचन यता बहुदलिय व्यवस्था पछि एकछत्र वामपन्थिले जित्दै आएको यहाँ यसपल्ट प्रतिष्ठा जोगाउनुपर्ने चुनौती छ । ०४८, ०५१, ०५६ र ०७० को निर्वाचनमा एमालेले र ०६४ मा माओवादीले विजयीको शिखर चुमेका थिए । ०१५ सालको चुनावमा जितेर ३० बर्षसम्म लगातार वामपन्थिलाई जिम्मा दिएको किल्ला फर्काउनुपर्ने कांगे्रस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई चुनौती छ । यसै कारण पनि वामपन्थि गठबन्धन लगत्तै कांगे्रसले अन्य दलसंग सहकार्य जोडेको छ ।

निर्वाचन आयोगका अनुसार ०७० सालको संविधानसभा निर्वाचन मत परिणामलाई हेर्दा बाम गठबन्धनले ३४ हजार ३ सय ८८ प्राप्त गरेको छ । लोकतान्त्रिक गठबन्धनको २२ हजार ५ सय ५१ मत छ । बाम गठबन्धन ११ हजार ८ सय ३७ मतले अगाडि छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचन मत परिणमलाई हेर्दा पनि बाम गठबन्धन नै अघि छ । उसको २० हजार १० मत छ । लोकतान्त्रिकको १० हजार ९ सय ८० मत छ । दुईबीच ९ हजार ३० मतको मतान्तर छ । दुवै निर्वाचन परिणामलाई हेर्ने हो भने कांगे्रस नेतृत्वको गठबन्धनले मतअन्तर घटाउदै लगेपनि आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन जित्न निक्कै कसरत गर्नुपर्ने देखिन्छ । प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका उमेशजंग र बाम गठबन्धनबाट माओवादीका सुदन छन् । उमेशजंग राजनीतिक अनुभवले खारिएका भएपनि यसअघि चुनाव लडेका छैनन् । तर सुदनले यसअघि २ पटक चुनाव लडेको अनुभव छ ।

प्रदेश (१) मा लोकतान्त्रिकबाट संघियका अजम्बर र बामबाट एमालेका राजेन्द्र चुनावी प्रतिस्पर्धामा लड्दैछन् । ०७० सालको चुनावअघि दुवै नेता एमालेभित्रका प्रखर मानिन्थे । उनीहरु संगै विद्यार्थीमा राजनीतिदेखी एमालेमा होमीएका र सहकार्यको राजनीति गर्दै आएका सहपाठी थिए । तर एमालेले पहिचानको मुद्धा नस्किारेको भन्दै अजम्बर बाहिरीएर संघियमा लागेका थिए । त्यसयता उनीहरुको सम्बन्ध प्रतिस्पर्धा र इमानको लडाईमा परिवर्तन भएको छ । अजम्बर ०७०मा संघियबाट चुनाव लडेका थिए । राजेन्द्र चुनावमा पहिलोपल्ट लड्दैछन् । तर ०७० सालकै मत परिणामलाई हेर्दा चुनाव लडेको अनुभव भएपनि अजम्बर मत परिणामका हिसाब पछाडि नै छन् । बाम गठबन्धन तर्फ एमालेको ११ हजार ४५० र ३ हजार ५ सय ६७ गरी १५ हजार ७ मत छ । लोकतान्त्रिक गठबन्धनतर्फ कांगे्रसको ८ हजार ९ सय ७०, संघियको ४ हजार ६६ र तत्कालिन राप्रपाको ७ सय ६२ गरी १३ हजार ७ सय ९८ छ । राजेन्द्र १ हजार २ सय ९८ मतले अगाडि त छन् नै । अजम्बर पनि यसक्षेत्रको मतदाताका लागि प्रिय मानिन्छन् । समग्रमा हेर्दा दुवैबीच तिव्र प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रदेश (२) मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका गोविन्द र बाम गठबन्धनका शेरधनबीचको प्रतिस्पर्धामा शेरधनले नै जित्ने प्रबल सम्भावना देखिन्छ । शेरधन ०५६, ०६४ र ०७० मा चुनावमा लडेका अनुभवि तथा मुख्यमन्त्रिको दाबेदार सहित लड्न लागेका हेभीवेट नेता हुन् । उनले ०६४ को चुनावबाहेक अन्यमा जितेका, २ पटक सांसद र पुर्व सञ्चार मन्त्रिसमेत हुन् । ०६४ मा उनले निर्वाचन हारेपनि बाम गठबन्धनकै माओवादीका सुदनले जितेको थिए । कांग्रेसका गोविन्द यसैपल्ट पहिलोचोटी चुनावमा उत्रदैछन् । उनी जिल्लाको राजनीतिवृतमा खासै नदेखिएका तर शेरधन जनताका परिचित नाम हुन् । ०७० को निर्वाचनलाई हेर्ने हो भने एमालेको ११ हजार ९ सय २७ र माओवादीको ७ हजार ४ सय ४४ गरी जम्मा १९ हजार ३ सय ७१ मत पाएका थिए । लोकतान्त्रिक गठबन्धनका कांगे्रसले ६ हजार ३ सय ५३, २ हजार ४ सय र तत्कालिन राप्रपाको ५ सय ८६ गरी ९ हजार ३ सय ३९ मत प्राप्त गरेका थिए । शेरधन १० हजार ३२ मत अघि छन् । उनी साविक क्षेत्र नं २ का पटक पटकका निर्वाचनका उम्मेदवार तथा निर्वाचित व्यक्तित्व हुन् ।

जिल्लामा संघिय संरचना पछि स्थानीय तहमा २ नगरपालिका, ७ गाउँपालिका र ८१ वडा छन् । निर्वाचनमा कांग्रेसले ४, एमालेले ४ र माओवादीले एक तह जितेका थिए । ४ तह जितेपनि कांग्रेस नेतृत्वको गठबन्धनले ५ उपप्रमुख सहित २६ वडा हार्नुपरेको थियो । बाम गठबन्धनले ७ उपप्रमुख सहित ५५ वडा जितेको थियो । यसअघिका दुई निर्वाचन मतपरिणामलाई हेर्ने हो भने गठबन्धन गरेपनि कांगे्रस नेतृत्वलाई ०१५ सालको इतिहास फर्काउन निक्कै हम्मे देखिन्छ । र यसपटक पनि चुनावी नतिजा बाम गठबन्धनकै जिम्मामा पर्ने देखिन्छ ।

प्रदेशमा बाम अगाडि

प्रदेशसभा सदस्य १ का उम्मेदवारहरु अजम्बर राई ‘काङमाङ’ र राजेन्द्र राई कुनैबेला राजनीतिक सहयोद्धा मात्रै थिएनन् । ४० को दशकदेखि राजनीतिक यात्रा सुरु गरेका उनीहरु एउटै दल एमालेको धारमा हिडेका हस्ती थिए । त्यसबेला सहयोद्धा बनेका उनीहरु यसबेला विपक्षि प्रतिस्पर्धिका रुपमा उठेपछि चासोका बिषय बनेका छन् । संघिय फोरमका काङमाङ लोकतान्त्रिक गठबन्धन र एमालेका राई बामबाट प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिस्पर्धिमा मैदानमा उत्रिएका यी दुईको राजनीतिक इतिहास भने कम चाखलाग्दो रहेन । टेम्केमैयुम गाउापलिकाका काङमाङ र षडानन्द नगरपालिकाका राईले विद्यार्थीकाल देखि राजनीति सुरु गरेका थिए । राई ०४३ तिर काठमाडौं पुगेपछि आरआर क्याम्पसको स्ववियु सदस्य हुँदै ०४९ मा सभापति निर्वाचित भए । काङमाङ भोजपुर बहुमुखी क्याम्पसको स्ववियु सदस्य भए । ०४७ सालमा केपी शर्मा ओली अध्यक्ष भएर युवा संघ स्थापना भएपछि उनको राजनीति भोजपुर संयोजक हुँदै युवा संघतिर मोडिएको थियो । ०५४ मा एमाले विभाजनपछि काङमाङ माले तिर लागे । राईले एमालेको बचाउ गरिरहे । काङमाङ माले सम्बद्ध युवा संघको महासचिव हुँदा राई एमाले सम्बद्ध अनेरास्ववियुको महासचिव हुँदै २ पटक अध्यक्ष बन्ने अवसर भ्याइसकेका थिए ।

पार्टी पुनः एकीकरण पछि राई अखिलको अध्यक्ष र काङमाङ युवा संघको सचिव भए । राईले अखिल अध्यक्षबाट विदा भएपछि काङमाङ युवा संघको अध्यक्ष बने । एमालेभित्र राई माधव नेपाल र काङमाङ झलनाथ खनाल पक्ष थिए । ०६५ को आठौं महाधिवेशनमा राई प्रतिनिधि भएनन् । तर काङमाङ झलनाथ प्यानलबाट वैकल्पिक केन्द्रिय सदस्य निर्वा्िचत भए । एमालेभित्र रहदा बेग्लाबेग्लै पद भएपनि जिम्मेवारी बहनमा दुवैको एकता हुने ग¥थ्यो । संविधानसभाको दोस्रो निर्वाचनताका एमालेले पहिचानको मुद्धालाई लत्याएको भन्दै काङमाङ संघियमा लागे । त्यसपछि काङमाङ र राईको राजनीतिक यात्रा दुई धार बन्यो । ०६९ मा काङमाङ एमालेबाट बाहिरिएपछि राई एमालेको केन्द्रिय सदस्य मनोनित भए । ०७० सालमा निर्वाचन भयो । राईले भोजपुर १ मा टिकट पाएनन् । तर अजम्बर संघिंयबाट उम्मेदवार बनेर निर्वाचनमा लड्न भ्याए ।

पहिलो चरणको निर्वाचन हुन केहि दिन मात्रै बाँकि छ । चुनावी चहलपहल उत्कर्षमा पुगेको छ । काङमाङ र राईको उम्मेदवारीमा रोचक कुरा भनेकै एउटै राजनीतिक पृष्ठभुमीबाट जन्मिएर दुईधारमा पुग्दासम्म बलिया र खारिला मानिएकाहरुको हालसम्म एउटै मतदानमा प्रतिस्पर्धा भएको छैन । यो निर्वाचन काङमाङका लागि दोस्रो र राईका लागि पहिलो अनुभव हो । तर दुवैका लागि यो निर्वाचन पहिलो परीक्षाका रुपमा सावित हुदैछ । ०७० को चुनावमा उठेर तेस्रो स्थानको मत ल्याएर हारेका काङमाङलाई कांग्रेस, दुवै राप्रपाको साथ छ । पहिलोपल्ट उठेका राईलाई माओवादी केन्द्रको साथ छ । एमालेमा लामो समय राजनीति गरेका काङमाङ आफु एकल जातीय पक्षधर रहेको बताउछन् । राई सबै जातजातिको सम्मान पहुँच र पहिचान पक्षधर रहेको तर्क दिन्छन् ।

दुवै उम्मेदवार मतदाताबाट रुचाइएका भित्र पर्दछन् । दुवै अध्ययनशील, निष्ठावान, निडर, प्रखर, बैचारिक ज्ञान र भुगोलप्रति माया गर्ने नेता भित्र पर्दछन् । अनेरास्ववियूको अध्यक्ष हुदाँ सबै विद्यार्थी संगठनहरुलाई एउटै थलोमा ल्याएर गणतन्त्रको अभियान चलाएका राई र पहिलो संविधानसभाको अवसानपछि एमाले पार्टीले एकल पहिचान स्वीकार नगरेको भन्दै पार्टी परित्याग गरी संघियमा लागेका काङमाङबीचको चुनावी लडाईलाई चासोका रुपमा हेरिएको छ । ०७० सालकै मत परिणामलाई हेर्दा काङमाङसंग चुनाव लडेको अनुभव भएपनि राई १ हजार २ सय ९८ मतले अगाडि छन् । यसकारण बामका राजेन्द्रको जित सुनिश्चित देखिएको छ ।

प्रदेशसभा सदस्य २ का उम्मेदवारहरु गोविन्द कार्की र शेरधन राईको चुनावी प्रतिस्पर्धालाई प्रतिष्ठाको लडाईका रुपमा हेरिएको छ । प्रदेश (२) का लागि कांगे्रसका कार्की लोकतान्त्रिक र एमालेका राई बाम गठबन्धनबाट उम्मेदवार उठेका छन् । कार्कीलाई बामपन्थी गढ भत्काउन र राईलाई साख जोगाउन पर्ने चुनौती छ । यसअघिका निर्वाचनहरु ०४८, ०५१, ०५६ र ०७० मा एमालेले र ०६४ मा माओवादीले जितेका थिए । ०१५ सालको चुनावमा जितेर ३० बर्षसम्म लगातार वामपन्थिलाई जिम्मा दिएको किल्ला फर्काउनुपर्ने भार यसबेला कार्कीको थाप्लामा आइलागेको छ ।

पहिलोपल्ट चुनाव लड्न लागेका कार्की विद्यार्थीकाल देखि राजनीतिमा होमीएका हाल कांगे्रस महासमिति सदस्य हुन् । उनी केन्द्रको कांग्रेस राजनीतिवृतमा चर्चित नाम भित्र पर्छन् । ००७ का क्रान्ती योद्धा दानबहादुर कार्कीका भाई समेत पर्दछन् उनी । स्थानीय निकायको २०४९ को निर्वाचनबाट तत्कालिन टक्सार गाविस जनप्रतिनिधि भएको बाहेक केन्द्रिय चुनावमा लडेको अन्य अनुभव उनीसंग छैन । राई यसअघि पटक–पटक निर्वाचन लडेर जितेका उम्मेदवार हुन् । विद्यार्थी राजनीति हुदै जनमतसंग्रहकै पालादेखि एमाले राजनीतिमा होमिएका उनी हाल एमाले पोलिट्ब्युरो सदस्य छन् । ०५६, ०६४ र ०७० मा चुनावमा लडेका अनुभवि तथा मुख्यमन्त्रिको दाबेदार सहित उठेका ‘हेभीवेट’ उम्मेदवार भित्र पर्छन् । पुर्व सञ्चार मन्त्रि र २ पटक सांसद भैसकेका छन् । कार्कीलाई संघिय फोरम र दुई राप्रपाको साथ छ भने राईलाई माओवादी केन्द्रको साथ छ ।

दुवैलाई जीत सुनिश्चितताका लागि मतदाताका घरदैलो चटारो छ । स्थायी सरकार र पुर्वाधार विकासका योजनाहरु उनीहरुका साझा मुद्धा बनेका छन् । दुवैले आफुलाई जिताउन पर्ने भन्दै मतदातालाई फकाइरहेका छन् । देशको बलिदानबाट प्राप्ती भएको उपलब्धिलाई कार्यान्वयन गर्ने, संविधानले दिएको अधिकारलाई सुनिश्चित गर्दै जनताको जीवनसंग जोडिएका समस्यालाई समाधान गर्ने कार्कीको एजेण्डा छ । ‘यसका लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन प्याकेज बनाई योजनाहरु अघि बाउनेछु, घरमामा बिजुली र टोलटोलमा खानेपानी पु¥याउनेछु, यसकारण मतदाताले मलाई जिताउन पर्छ,’ उनले भने ।

जारी संविधानको कार्यान्वयन गर्ने, स्थायी शान्ति, राजनीतिक स्थिरता र देशमा सुशासन कायम गर्ने राईका एजेण्डाभित्र पर्छन् । उनी प्रदेश १ को मुख्यमन्त्रिको दाबी सहित उठेका हुनाले नमुना प्रदेश बनाउने, उत्तरी दिंला – संखुवासभा हुदै किमाथांका नाकामा जिल्लाको पहुच जोड्ने योजनालाई प्राथमिकताका राखेको बताउछन् । ‘जिल्ला, क्षेत्र र प्रदेशभरी विकासका पुर्वाधारहरु तिब्र गतिमा अगाडि बढाउन र प्रदेश नं. १ को विकास र समृद्धिको नेतृत्व गरी नमुना प्रदेश बनाउने काम पहिलो प्राथमिकतामा राखेको छु,यसकारण मतदाताले मलाई जिताउन पर्छ,’ उनले भने । सडकसञ्जाल टोलटोलमा पु¥याउने, कृषिलाई उद्योगमा र व्यवसायिकरणमा जोड दिने तथा दैनिक विदेशिने युवाशक्तिलाई यहि परिचालन गरी रोजगार दिलाउने बताउछन् ।

राईसंग कार्कीले टक्कर गर्न निकै हम्मे पर्ने देखिएको छ । केन्द्र, जिल्लादेखि गाउँसम्मको राजनीतिक वृतमा छाएका राईसंग कार्कीलाई इतिहास फर्काकाउन गाह्रो छ । यो क्षेत्र बामपन्थिहरुको किल्ला भएकाले पनि कांग्रेसले ३ पार्टिसंग गठबन्धन गरेपनि अंकगणित अनुसारराईले नै जित्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार