बाम गठबन्धनका तीन उम्मेदवार एक अर्काको नजरमा

  सिलिचुङ सम्बाददाता  873 पटक हेरिएको

सुदन राई (दाँया) , शेरधन राई (विच) र राजेन्द्र कुमार राई (बाँया)

भोजपुर । कुनैबेला जिल्लाको राजनीतिमा एमाले र माओबादीको सम्बन्ध पानी बाराबारको अवस्थामा पुगेको थियो । दुई कम्यूनिष्ट पार्टीहरुका नेतृत्व केन्द्रमा केपी ओली नेतृत्वको सरकारमा रहँदा समेत जिल्लामा एमाले–माओवादी सम्बन्ध सुमधुर बन्न सकेन । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत कतिपय स्थानमा एमाले विरुद्ध जिल्लामा क्रियाशिल अन्य दलसंग मोर्चाबन्दी गरेर निर्वाचनमा एमालेलाई घेरा बन्दीमा पारेका थिए ।

तर एमालेले आफ्नो आन्तारिक शक्तिलाई मजबुत बनाएर जिल्लाको पहिलो पार्टीको रुपमा आफ्नो साख जोगाउन सफल बनेको थियो । बाम शक्तिहरुवीचको एकअर्का माथिको खिचातानीका कारण केही स्थानमा नेपाली कांग्रेस उदाएपछि एमालेका हारमा रतिभर रमाएका माओबादी कार्यकर्ताहरुमा बाम शक्तिहरु एक हुनुपर्छ भन्ने चेतना खुलेको छ । जस कारण जिल्ला समन्वय समिति गठनमा एमाले–माओबादीवीच पहिलो सहकार्यको सुरुवात भएको थियो । जिल्ला समन्वय समितिमा बाम शक्तिहरुवीच भएको सहकार्यपछिको कार्यकर्ताहरुको उत्साहमा अझै थप उत्साह पछिल्लो समय बाम गठबन्धनले थपेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन पश्चात पार्टी एकीकरणको कुराले झनै एमाले र माओबादी कार्यकर्ताहरुमा उत्साह थपिएको हो ।
प्रदेशका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको यहाँ दुवै क्षेत्रमा एमालेबाट उम्मेदवार बनाइएको छ । क्षेत्र नं १ मा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता राजेन्द्रकुमार राईलाई र एमालेकै पोलिटव्यूरो सदस्य तथा पूर्व सञ्चार मन्त्री शेरधन राईलाई बाम गठबन्धनले २ नम्बर क्षेत्रमा उम्मेदवार बनाएको छ । प्रतिनिधिसभामा भने माओबादी केन्द्रको तर्फबाट पोलिटव्यूरो सदस्य सुदन किरातीलाई गठबन्धनले साझा उम्मेदवार बनाएको छ ।
कुनै बेला एकअर्का प्रति यी दुई पार्टीका शीर्ष नेताहरु कटाक्ष देखीएपनि यतिबेला भने पत्याउनै नसकिने गरी सम्बन्ध सुमधुर रुपमा विस्ता गरेको छ । बाम गठबन्धनका यी साझा उम्मेदवारहरुले चुनावी सभा तथा मतदाता भेटघाट कार्यक्रममा एकले अर्काको योगदानको चर्चा खुलेरै गर्ने गरेका छन् । तीन उम्मेदवारले नेपाली समाज परिवर्तनका लागि कम्युनिष्ट आन्दोलनमा एक अर्काले पु¥याएको योगदानबारे चर्चा गरिरहँदा भोजपुरे जनताहरु समेत अव भोजपुरले काँचुली फेर्नेमा विश्वास्त रहेको बताउने गरेका छन् । बाम गठबन्धनलाई विजयी गराउन लागि भोजपुर आएका नेपाल सरकारका पूर्व योजना आयोगका सदस्य डा. शिवकुमार राईले भोजपुरका यी शीर्ष नेताहरु र तीनका पार्टीवीचको एकीकरणले आगामी भोजपुरको भविष्य उज्यालो देखिएको दावी गरे ।

सुदन किरातीको नजरमा राजेन्द्रकुमार राई

राजेन्द्रकुमार राई एक अविचलित योद्धा जसले गणतन्त्र प्राप्तिका लागि सडकबाट अभियान छेडे । जसको सहासिक अठोटले तीन करोड नेपाली जनताहरुले स्वतन्त्र प्राप्त गरेका छन् । यो प्राप्तिलाई संस्थागत गर्नका लागि राजेन्द्रकुमार राईलाई विजयी गराउनु पर्ने किरातीको तर्क रहेको छ । किरातीले राजेन्द्रकुमार राईका लागि यति मात्रै खर्चिदैनन् उनी थप्छन ‘राजेन्द्रकुमार राई निष्ठाको एक प्रतिक पनि हुन् । जसले जनताको हित बाहेक व्यक्तिगत लाभ राजनीतिमा कहिल्यै देखेका छैनन् र कल्पना समेत गरेका छैनन् ।’ राजेन्द्रकुमार राई नेपाली कम्यूनिष्ट आन्दोलनका एक गुरु हुन, जसले हजारौ युवाहरुलाई ईमान र नैतिकवान कम्युनिष्ट आन्दोलनमा डो¥याइरहेका छन् । यस कारण निष्ठावान अविचलित योद्धा राजेन्द्रकुमार राईलाई भोजपुरको विकास र समृद्धिका लागि विजयी गराउनु पर्ने किरातीको दावी रहेको छ ।

राजेन्द्र राईको नजरमा सुदन किराती

सुदन किराती जो लाहुरे घरानामा जन्मिएर बेलायत पुनः बासका सपनाहरु भन्दा गरिव दु.खी जनताको मुक्तिमा जीवन समर्पित गरे । जसले आफ्नो ज्यानको मृत्यूपत्रमा हस्ताक्षर गरेर लाखौ नेपाली जनताको मुक्तिका लागि भुमिगत राजनीतिमा होमिए । जेल, नेल भोगे र मृत्यूसंग जितेर भोजपुरे जनताको हितमा हर हमेसा लागिरहे । एक संघर्षशील र उर्जाशील उम्मेदवारलाई विजयी गराउनु भनेको भोजपुरे जनताका लागि सौभाग्यको कुरा हो, यस कारण भोजपुरको विकास र समृद्धिको कायकल्प गरिरहँदा सुदन किरातीको विजयी हुनु अनिवार्य रहेको राईको धारणा रहेको छ ।

किरातीको नजरमा उम्मेदवार शेरधन राई

शेरधन राई भोजपुरको राजनीतिक वृत्तका एक मियो हुन् । उन्ले आफ्नो जीवनको ९० प्रतिशत नेपाली कम्युनिष्ट आन्दोलनमा खर्चिएका छन् । जसले भोजपुरे जनताको सुःख, दुःख र विपद्को घडीमा समेत अभिभावकीय भुमिका निर्वाह गरेका छन । भोजपुरको कम्युनिष्टहरुको किल्ला जोगाउन र उर्जा प्रदान गर्न ठुलो योगदान छ । विगतमा विकास निर्माणमा जति पहल भए त्यसमा शेरधन राईको भूमिका रहेको छ । आगामी निर्वाचनपछि बन्ने प्रदेश सभा सरकारमा शेरधन राई प्रदेश नं १ कोे मुख्य मन्त्री हुने र समग्र १ नम्वर प्रदेशको विकास र समृद्धिमा परिवर्तनकामी भुमिका निर्वाह गर्ने किरातीको दावी रहेको छ । प्रदेश नं १ को मुख्य मन्त्री शेरधन राई भै रहँदा भोजपुरले विकास र समृद्धिमा काँचुली फेर्नेमा किराती ढुक्का छन ।

शेरधन राईको नजरमा सुदन किराती

सुदन किराती निर्वाचन जित्दा र हार्दा समेत भोजपुर मै रहेर भोजपुरे जनताको सेवामा आफुलाई समर्पित गरी रहने एक जुझारु नेता हुन् । अरु गठबन्धनका उम्मेदवारहरु निर्वाचनको मिति घोषणा गरेको दिन भोजपुर आउने र निर्वाचन जितेको भोलिपल्ट काठमाण्डौ गएर नेताको वरीपरी बस्नेहरु र जनताका सु.ख दु.खमा साथ दिने किराती वीच तुलना गर्न नमिल्ने शेरधन राईको दावी छ । जित्दा र हार्दा पनि विचलित नभै समग्र जिल्लाको विकास र समृद्धिमा दिन रात खटि रहने योद्धा सुदन किराती विजयी हुँदै गर्दा भोजपुरले केन्द्रीय सरकारको मन्त्रीको रुपमा किरातीलाई पाउने सम्भावना रहेको राईको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार