उच्च सुरक्षा घेरामा मतपेटिकाको व्यावस्थापन गरिने

  सिलिचुङ संवाददाता  383 पटक हेरिएको

सोमबार मूख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गर्दै निर्वाचन कर्मचारी । तश्विर/सिलिचुङ साप्ताहिक

 

भोजपुर । भोजपुरमा प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । ५८.२१ प्रतिशत मत खसेको भोजपुरमा आईतबार देखि नै एक सय ४८ वटै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याईने काम भएको छ ।
सोमबार दिउँसो ४ बजेसम्म भोजपुरको सबैजसो मतदान केन्द्रबाट मतपेटिका आईसकेको भएपनि भौगोलिक विकटता रहेको उत्तरी साल्पासिलिछो गाउँपालिकाको केन्द्रहरुबाट मतपेटिका ल्याईदैँ गरेको र साँझ ६ बजेसम्म सबै केन्द्रको मतपेटिका सदरमुकाम आईसक्ने मूख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ईङ्नामले जानकारी दिए । प्रतिनिधी सभा, प्रदेश सभा र समानुपातिकतर्फको मतपेटिकालाई मूख्य निर्वाचन अधिकृतको कार्यालयमा छुट्टाछुट्टै ३ वटा कोठामा राखिने व्यवस्था मिलाईएको उनले जानकारी दिए ।
सबै मतपेटिका संकलनपश्चात त्यसलाई ३ कोठामा सिलवबन्दी गरेर मुचुल्का उठाई कार्यालयको तर्फबाट चाँबी लगाउने व्यवस्था गरिने भएको छ । त्यसमा थप दलहरुको तर्फबाट पनि सिलबन्दी गरिने भएको ईङनामले जानकारी गराए । मतपेटिका राखिएको प्रत्येक कोठालाई सिलबन्दी गरिएको ढोकामा सुरक्षाकर्मी चौबीसै घण्टा परिचालन गरिने र मतपेटिकाको उच्च सुरक्षाका लागि सिसि क्यामरा जडानको माग गरिएकाले सम्भव भएसम्म त्यसको व्यावस्था पनि गरिने उनले जानकारी दिए ।
यस्तै बाम गठबन्धनको तर्फबाट एमाले र माओवादीका एक एक जना प्रतिनिधीको रुपमा त्यहाँ पठाईने नेकपा एमाले भोजपुरका पार्टिी सचिव शरणकुमार राईले बताए । अकोर्तिर लोकतान्त्रिक गठबन्धनको तर्फबट भने सर्वदलिय बैठक बसी लालछाप मुचुल्का उठाउने र प्रतिनिधी खटाउनु परेमा सबैको सहमतिमा प्रतिनिधी खटाउने नेपाली कांग्रेसका महासमिती सदस्य हेमन्त मुकारुङले जानकारी दिए ।
उच्च सुरक्षाको घेरामा व्यवस्थित रुपमा राखिने मतपेटिका मूख्य निर्वाचन अधिकृतको कार्यालय भवनको भित्री घेरामा नेपाल प्रहरी, बाहिरी घेरामा शसस्त्र प्रहरी र सबैभन्दा बाहिरी घेरमा आवश्यक परेको खण्डमा नेपाली सेना खटाईने प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार