मतगणनाको तयारी पुरा, उच्च सुरक्षाघेरभित्र मतगणना


भोजपुर । प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको मतगणनाको लागि भोजपुरमा तयारी पूरा भएको छ । २१ गते ५ बजेदेखि मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणनालाई सहज र चुस्त ढंगबाट सम्पन्न गराउन दल र उम्मेद्वारसहितको बैठक पनि सम्पन्न भइसकेको छ । बैठकमा मतगणनासम्बन्धी साझा सहमति तयार गरिएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको ठाउँ जिल्ला अदालतभित्रै मतगणना गरिने बताइएको छ ।
मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गणना गरिने कोठा तथा आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । त्यस्तै प्रतिनिधिहरुका लागि घेराबारा लगाइएको छ । प्रतिनिधि सभाका लागि एउटा कोठामा दुई ठाउँबाट र प्रदेश सभाका लागि छुट्टाछुट्टै गरी जम्मा ३ वटा कोठाबाट मतगणना गरिनेछ ।
मतगणनाको लागि एउटा समुहमा ७ जना गणक कर्मचारीहरु खटाइनेछ । अन्तिम नतिजा ३ दिनभित्र आइसक्ने अनुमान गरिएको छ । प्रत्यक्ष तर्फको मतगणना सकिएपछि समानुपातिकको गणना गरिनेछ ।
१ लाख १३ हजार ७ सय ४५ कुल मतदाता रहेको यस जिल्लामा प्रतिनिधि सभाका लागि ५७.९ प्रतिशत अर्थात ६५ हजार ९ सय ५८ मत खसेको थियो । प्रदेश सभातर्फ क्षेत्र नं १ मा ५९.८१ प्रतिशत र प्रदेश सभा क्षेत्र नं २ मा ५५. ९१ प्रतिशत मत खसेको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार