समानुपातिकतर्फ पनि एमाले पहिलो

  सिलिचुङ सम्बाददाता  63 पटक हेरिएको

मंगलबार समानुपातिकतर्फको अन्तिम नतिजा सुनाउँदै मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ईङ्नाम । तश्विर / सिलिचुङ साप्ताहिक

भोजपुर । भोजपुरको प्रदेशसभा र प्रतिनिधीसभा समानुपातिकतर्फको मतपरिणाममा नेकपा एमाले पहिलो दल बनेको छ । आईतबार प्रदेश र प्रतिनिधीसभाको प्रत्यक्षतर्फको मतगणना र विजयी घोषणालगत्तै थालिएको समानुपातिकतर्फको नतिजामा पनि एमालेले प्रदेशसभाको दुई र प्रतिनिधीसभाको एकगरी तीनवटै क्षेत्रमा पहिलो भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको विवरणअनुसार भोजपुरमा एमालेले सबैभन्दा धेरै मत प्राप्त गर्दै पहिलो दल बनेको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल ५६ हजार आठ सय ९३ सदरमत खसेको भोजपुरमा ४९ वटा राजनितिक दलले सहभागिता थियो । जसमा एमालेले २५ हजार ९९ मत प्राप्त गर्दै पहिलो दल बनेको छ । त्यस्तै दोश्रो दल बनेको नेपाली कांग्रेसको १५ हजार सात सय १० मत र तेश्रो माओवादी केन्द्रले ११ हजार एक सय ५४ मत ल्याएको थियो भने चौँथो दल संघिय समाजवादी फोरमको २ हजार ६ सय चार मत छ । प्रतिनिधीसभा समानुपातिकतर्फ कांग्रेस र माओवादी केन्द्रको मत घटेको छ भने एमालेको मत बढेको देखिन्छ । स्थानीय तहमा खसेको मतका आधारमा हेर्दा कांग्रेस र माओवादीले जोगाउन सकेका छैनन् भने एमालेले त्यो मत जोगाएको देखिन्छ ।
त्यस्तै कुल २९ हजार दुई सय ६५ सदर मत खसेको प्रदेशसभा क्षेत्र नं १ समानुपातिकतर्फ पनि एमालेले पहिलो मत ल्याएको छ । भोजपुर क्षेत्र नं १ मा एमालेले १२ हजार एक सय ९१ मत प्राप्त गरेको छ । त्यस्तै कांग्रेसले सात हजार ९ सय ६० मत ल्याउँदा माओवादी केन्द्रले भने चार हजार ९ सय ३७ मत ल्याएको छ । जहाँ चौथो दल फोरमको दुई हजार ६३ मत छ ।
त्यसैगरी कुल २५ हजार एक ३५ सदर मत खसको प्रदेशसभा क्षेत्र नं २ समानुपातिकतर्फ एमालेले नै सबैभन्दा बढी ११ हजार तीन सय ३१ मत ल्याएर पहिलो बनेको छ । क्षेत्र नं २ मा भने दोश्रो ठुलो दल बनेको माओवादी केन्द्रले ६ हजार ९३ मत ल्याउँदा तेश्रो कांग्रेसको पाँच हजार पाँच सय ४४ मत छ । चौथो दल बन्ने क्रममा ससफोले कुल एक हजार २२ मत ल्याएको थियो । समानुपातिकतर्फका दुवै क्षेत्रमा २७ वटा दलले मत पाएका थिए ।
यसरी प्रदेशसभाका लागि दुबै क्षेत्रको मत जोड्दा एमालेको २३ हजार पाँच सय २२, कांग्रेसको १३ हजार पाँच सय चार र माओवादी केन्द्रको ११ हजार चार मत छ । समानुपातिक मत विश्लेषण गर्दा भोजपुरमा चुनावी गठबन्धन नहुँदा पनि एमाले भारी मतले विजयी हुने अवस्था देखाउँछ । भोजपुरमा आएको समानुपातिक मतले एमालेका उम्मेदवारहरु सांसद हुने सम्भावनालाई बढाउँदा प्रदेशसभामा भोजपुरबाट हरिबहादुर राई र महिलामा सिर्जना राईको नाम बन्दसूचिमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार