भोजपुरमा पहिलोपटक स्वास्थ्य बीमा कार्यक्रम सुरु

  सिलिचुङ सम्वाददाता  368 पटक हेरिएको

बुधबार स्वास्थ्य बीमा कार्यक्रमसम्बन्धि अभिमुखीकरण गर्दै कार्यक्रमका कार्यकारी निर्देशक गुणराज लोहनी । तश्विर / सिलिचुङ साप्ताहिक

भोजपुर । भोजपुरमा पहिलोपटक स्वास्थ्य बीमासम्बन्धि कार्यक्रम सुरु भएको छ । नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिती अन्र्तगत ३८ जिल्लामा एकै साथ सुरु गरिएको यो कार्यक्रम भोजपुरमा पनि कार्तिक महिनाबाट सुरु गरिएको हो ।
राष्ट्रिय स्वास्थ्य बीमा निती २०७१ को कार्यक्रमभित्र रही गुणस्तरिय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्नु यसको प्रमुख उद्देश्यका साथ यो कार्यक्रम देशैभर सञ्चालन गरिएको समितीका कार्यकारी निर्देशक गुणराज लोहनीले बताए । ‘सम्भावित स्वास्थ्य उपचारमा उपचार खर्च जुटाउन नसकेको बेला बीमाबाट सहुलियत सेवा लिनलाई पनि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको हो ।’ उनले भने, ‘गरिब जनतालाई परेकाबेला स्वास्थ्य उपचार खर्च जुटाउन बिषम परिस्थितीमा यस बीमामार्फत सुलभ सेवा लिन सक्नेछन् ।’
यस बीमा कार्यक्रममा सहभागी भई सर्वसाधरणले उपर्युक्त सहुलियत स्वास्थ्य सेवा लिन पाउने यस कार्यक्रमको अर्को उद्देश्य हो । अन्तरंग सेवामा परिक्षण, एक्स रे र औषधीलगायत शुल्क लाग्ने सेवामा पाँचजनाको परिवारका लागि प्रति परिवार बार्षिक ५० हजार सम्मको सेवा पाईनुको साथै पाँच जना घरसदस्यमा थप सदस्य भएमा जही १० हजार गरी बढीमा एक लाखसम्मको स्वास्थ्य बीमा सेवा पाईने प्रावधान रहेको जिल्ला जनस्वास्थ्यका प्रमुख त्रिभुवनचन्द्र झाले बताए । एक घरका पाँचजनासम्मको परिवारले दैनिक सात रुपैँया छुट्याउँदा एक वर्षको लागि योगदान रकम जम्मा हुने यस स्वास्थ्य बीमामा बार्षिक नविकरण गरिरहनुपर्ने उनले बताए ।
बीमा गरेपछि व्यक्तिले सरकारी स्वास्थ्य संस्थाबाट निशुल्क लाग्ने औषधीउपचार, कस्मेटीक स्वास्थ्य सेवाबाहेक अन्य विभिन्न ओपिडी, ईसिजी, ईमरजेन्सी, अपरेशन स्वास्थ्य सेवामा बीमाङ्क रकमबाटै लाभाशं लिन सकिने प्रमुख झाले जानकारी दिए । आर्थिक वर्ष २०७३÷७४ मा देशका २५ वटा जिल्लामा सञ्चालन गरिएको र यो आर्थिक वर्षमा ३८ वटा जिल्लामा सञ्चालन गरिने हुँदा गरिब, अति गरिब र जोखिमताका आधारमा घरपरिवार पहिचान गरी भोजपुरमा पनि यो कार्यक्रम सञ्चालन गरिएको हो । बीमा गरिएकाहरुको मेशिनबाट पढ्ने परिचय पत्र सिस्टम सफ्टवेयरबाट बीमा सेवाको प्रक्रिया अगाडी बढ्ने प्रावधान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार