‘विदेशीकी स्वास्नी’ कुरीतीलाई चिर्ने प्रयास

  प्रदीपचन्द्र राई  1339 पटक हेरिएको

पटकथामा आधारित चलचित्र ‘विदेशीकी स्वास्नी’ निर्माणका क्रममा अभिनय गर्दै युवाहरु । तश्विर सौजन्यः विनोद प्रधान

 

भोजपुर । सामाजिक घटनाक्रमलाई कलाकारितामा उतारेर दर्शकमाझ उर्जा थप्ने काममा लुप्त छन् यतिखेर भोजपुरे युवा चलचित्रकर्मीहरु । आफ्नो ठाउँबाट ठुलो पर्दाको सपना बोकेका यी युवाहरु भोलीको राजेश हमाल, दयाहाङ, विल्सन विक्रम, माग्नेबुढाको रुपमा आफुलाई उभ्याउन र चिनाउन कम्मर कसेर आफ्नो कलाकारितालाई निखारिरहेका छन् । त्यसो त समाजमा हुने गरेका अन्धविश्वास, रुढीवादी परम्परालाई सभ्य समाजको सामुन्ने पर्दाफास गर्ने कोसिस, प्रयास र मेहनतले सानो पर्दाबाट ठुलो पर्दाको पहिलो खुड्किलो बनाईरहेका भोजपुरे युवाहरु कलाकारितामा दिनरात नभनी आफ्नो नङ्रा खियाईरहका छन् ।
एकपछि अर्को गर्दै आफ्नै गाउँठाउँमा गएर सानो लगानीमा चलचित्रको छायाङ्कन गरी सानो पर्दामै आफ्नो कलाकारितामा आएका यी युवाहरु त्यही कलाकारितामा अहिले दौडधुप गरिरहेका छन् । हाँस्य–व्यङ्ग, एक्सन, भावुकता, सुखदुःखका सबैखाले अभिनयमा आ–आफ्नो कला प्रस्तुती क्षमतामा भविष्य देखेका भोजपुरे युवाहरुलाई यतिबेला एकछिन पनि फुर्सद देखिन्न । यस्तैयस्तै क्रममा सामाजिक घटना विशेषलाई समेटेर पटकथामा निर्माण गरिएको ‘विदेशीकी स्वास्नी’ चलचित्र प्रदर्शनीमा यतिबेला भोजपुरे युवाहरु जिल्लाको विभिन्न स्थानहरुमा हातसाथमा प्रोजेक्टर, जेनेरेटर लगायतका सामाग्री लिएर प्रदर्शनी गर्दै हिँडेका छन् ।
त्यही मेहनत र पसिनाले निमार्ण गरेको ‘विदेशीकी स्वास्नी’ नामक सन्देशमुलक चलचित्र जिल्लाका विभिन्न स्थान, गाउँघरको हरेक चोक र गल्लीमा प्रदर्शनी भईरहेको छ । एसएनयू प्रोडक्सन हाउसको व्यानरमा भोजपुर चलचित्रकर्मी संघ खोलेका तीनै युवाको पहिलो समसमायिक घटनाक्रमलाई समेटेर बनाईएको पहिलो ‘कन्डिसन’ पछिको यो दोस्रो स्थानिय चलचित्र विदेशीको स्वास्नी प्रदशनी गरिरहेका छन् । गाउँबेसी, बजारगल्ली जस्तो मानिसको भिड लाग्ने ठाउँहरुमा उनीहरुको चलचित्र हेर्न केटाकेटीदेखि बुढाबुढीसम्मको हुल नै देखापर्छ ।
विदेशीकी स्वास्नीहरुलाई समाजमा हेर्ने दुष्टिकोण, सोचाई र त्यसको बास्तविकतालाई उतार्न खोजिएको कलाकार तथा लेखक विरोध बस्नेतले बताए । ‘मूलतः यो चलचित्रले रुढीवादी परम्पराले जगडेको हाम्रो नेपाली समाजको वास्तविकता ओकल्ने कोसिस गरेको छ । जहाँ विदेशीकी स्वास्नी भन्ने वित्तिक्कै नराम्रो, अरु नै नाठो लिएर हिँड्ने भन्ने बुझ्ने गर्छन् । तर यथार्थमा यो त्यस्तो नभएको अन्धविश्वासले आफैलाई भंगालोमा लडाउने काम मात्र भएको दर्शाउँछ र चलचित्रको सार पनि यहि हो ।’ उनले चलचित्रको विषयलाई यसरी अथ्र्याए ।
भोजपुरे युवा कलाकारमध्ये एक शसक्त कलाकार विनोद प्रधानद्धारा निर्देिर्शत चलचित्रमा दुखले सुख निम्त्याउछ, सुखले काल निम्त्याउँछ भन्ने सन्देश दिन खोजिएको छ । सामाजिक घटनामा आधारित चलचित्र निमार्णबाट स्थानीय कलाकारहरुको उत्पादन तथा प्रवद्र्धन मुख्य लक्ष्य रहेको निर्देशक विनोद प्रधानले जानकारी दिए । ‘चलचित्रले सामाजिक कुरितीलाई पर्दाफास गर्ने खालको विषय समेट्ने भएरै हामीले यो चलचित्र निर्माण गरेका हौँ । यो सानो पर्दाबाटै स्थानिय कलाकारले ठाउँ पाउने र आफ्नो कलाकारितालाई आझै निखार्ने मौका मिल्ने हुनाले हामी प्रयास गरेका हौँ ।’ उनले भने, ‘खासगरी भावी पिँढीका सक्षम, सबल, शालिन भोजपुरे कलाकारको उत्पादन तथा कलाकारिताको प्रबद्र्धन र संरक्षण गर्ने लक्ष्यका साथ यो काम थालनी गरेका हाँै ।’
निमार्ण गरिएको चलचित्रको प्रर्दशनीपछि आगमी दिनमा स्थानीय बिषयबस्तुहरुलाई उठान गरी सस्कृतिलाई संरक्षण गर्ने खालको चलचित्र निमार्ण गरिने पनि निर्देशक प्रधानले बताए । चलचित्रमा सरण प्रधान, अस्मिता राई, विनोद प्रधान, कविता राई, विवेक राई, देवराज प्रधान, सुशिला तामाङ, विरोध बस्नेत, गणेश प्रधान, दिपक शाक्य, मिलन राई, शिव श्रेष्ठ, विनोद भण्डारी र सुरज खड्को मुख्य अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार