कर्मचारी सरूवाको समस्या

  विद्या रार्इ  551 पटक हेरिएको

बितेको चार महिना अवधिमा भोजपुरमा तीनजना प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिए । कांग्रेस नेता विमलेन्द्र निधि गृहमन्त्री हुँदा नियुक्त भएर आएकी सीडीओ गोमादेवी चेम्जोङको भदौ पहिलो साता सरुवा भयो ।

उनी गतवर्ष फागुन ५ गतेदेखि कार्यालयमा हाजिर भएकी थिइन् । माओवादी केन्द्रका नेता जनार्दश शर्मा ‘प्रभाकर’ गृहमन्त्री हुँदा भदौ दोस्रो साता चेतराज बराल सीडीओ भएर आए । तीन महिना नपुग्दै प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मुखैमा बराल सरुवा गरिए । त्यसपछि फणिन्द्र दाहाल सीडीओ आए । यस बीचमा डीएसपी र एलडीओसमेत फेरिए । चेम्जोङ सीडीओ हुँदा डीएसपी र एलडीओ क्रमश: काजीकुमार आचार्य र सीता परियार थिए । आचार्यको सरुवा भएपछि दिपेन्द्र पन्जियार थारु र परियारपछि कृष्ण धिताल आए । छोटो समयमा कर्मचारी सरुवाको एक झलकमात्रै हो यो । निजामती सेवा ऐन नियमावली अनुसार कर्मचारीले एक जिल्लामा कम्तीमा दुई वर्ष बस्नुपर्छ । तर भोजपुरमा कर्मचारी छिटो–छिटो फेरिँदा शान्ति सुव्यवस्था र विकास निर्माणमै प्रत्यक्ष असर परेको छ ।
यहाँ कर्मचारीको सुरुवा हुने मुख्य दुई कारण देखिएका छन् । पहिलो, भौगोलिक र भौतिक सुविधाका हिसाबले निकै विकट रहेकाले कर्मचारी स्वयम्ले चाँडै सरुवा चाहन्छन् । दोस्रो, कर्मचारीहरूले कार्यसम्पादन गर्न नसकेर केन्द्रबाटै सरुवा गरिन्छन् भने राजनीतिक प्रभावका आधारमा सरुवा तथा नियुक्ति गर्ने चलनसमेत छ । पछिल्लो समय सीडीओ सरुवाका गतिला कारण कार्यसम्पादन मुख्य कारक देखिए । चेम्जोङ सीडीओ हँुदा स्थानीय तह निर्वाचनताका पूर्वी अरुण गाउँपालिका प्याउलीमा छिमेकी दुई घरका तीन बालबालिकाको रहस्यमय हत्या भयो । असार १० गते शनिबार साँझ हराएका उनीहरू असार १२ गते सोमबार बिहान स्थानीय तोरन कार्कीको माछा पोखरीभित्र डुबेको अवस्थामा फेला परेका थिए । १६ वर्षीय रन्जिव सापकोटा, १४ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदिप फुयालको हत्या भएको थियो ।
रन्जिव रविन्द्र सापकोटा तथा सुष्मा र प्रदिप चेतनाथ फुयालका सन्तान हुन् । म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनालाई निर्वाचन सुरक्षाका लागि खटाएकै बेला उक्त घटना भएको थियो । त्यस घटनापछि जिल्लाभित्र सुरक्षा दिन नसकेको भन्दै उनी र डीएसपी आचार्य विवादित बने । घटनाको रहस्य पत्ता लाग्न नसकेपछि दुई महिनामै उनीहरूको सरुवा भएको थियो । सामान्यत : गृह मन्त्रालय अन्तर्गतका सीडीओ र डीएसपीको कार्यावधि एक वर्ष हुन्छ ।
सीडीओ चेम्जोङ पुगअपुग ६ महिनामै सरुवा भइन् । त्यसपछि आएका सीडीओ बराल र डीएसपी थारुले तीन बालबालिका हत्या प्रकरण टुंगो लगाउने एजेन्डालाई पहिलो प्राथमिकतामा राखेको बताए । सर्वदलीय बैठकमा माइन्युटिङसमेत भयो । घटनाको पार लागेन, तर बराल सरुवा भए । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्ति सुरक्षा कायम गर्ने चुनौती पनि थियो । तर उनी लामो समय टिक्न सकेनन् । निर्वाचन विरोधी तथा उम्मेदवार लक्षित गतिविधिले जिल्लामा त्रास फैलियो । गत भदौ १४ गते हाजिर भएका प्रजिअ बराल ३ महिना पनि जिल्लामा रहेनन् । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो आदेशमा पहिलो चरणमा निर्वाचन हुने ४ वटा जिल्लामा गरिएको प्रजिअको सरुवामध्ये भोजपुर पनि परेको थियो ।
नागरिक समाजका संयोजक पर्शुराम तिवारी भन्छन्, ‘भोजपुरलाई केन्द्रबाटै हेपिएको छ, कर्मचारी परीक्षण कालका लागि पठाउने गरिन्छ, कार्यसम्पादन प्रभावकारी हुँदैन, सरुवा चलिरहन्छ । एकको कार्यकालमा थालेको काम अर्को आएपछि ‘डिसमिस’ बनाउँछन् ।’ तिवारीले भनेझैं निजामती सेवामा प्रवेश गरेका तथा बढुवा भएका कर्मचारी पहिलोपल्ट यसै जिल्लामा नियुक्त हुने गरेका पाइएको छ । ‘ग’ वर्गमा पर्ने तथा दुर्गम मानिएकाले वार्षिक प्रगति विवरणको उप्रान्त उनीहरूले थप २.५ नम्बर प्राप्त गर्छन् । यसो हुँदा बढुवामा सहज हुने अपेक्षासमेत हुने गरेको एक कर्मचारीले भने ।
भोजपुर देशकै राजनीतिक वृत्तमा उच्च तहको नेतृत्व जन्माउने जिल्लासमेत हो । २००७ सालका क्रान्तियोद्धा नारदमुनी थुलुङदेखि पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मथलो समेत हो । वर्षै पिच्छेजसो मन्त्री र पटक–पटक सांसद पाइरहने भाग्यमानी जिल्लाभित्र पर्छ । राजनीतिक नेतृत्व फरिए पनि जिल्लाको मुहार फेरिनसकेको छैन । विकास निर्माणको गति सुस्त छ । २०६२/०६३ को जनआन्दोलन पश्चात सुरु भएको विद्युत विस्तार अलपत्र छ । सदरमुकाम जोड्ने भोजपुर–लेगुवा ६६ किमि नारदमुनी थुलुङ राजमार्ग तथा भोजपुर–चखेवा ४२ किमि मध्यपहाडी लोकमार्ग स्तरोन्नति र कालोपत्रेको काम पूरा हुनसकेको छैन । उत्तरी षडानन्द नगरपालिका र छिमेकी संखुवासभा जोड्ने करिब १४ करोडको पक्की पुल निर्माण अलपत्र छ । यी र यस्ता थुप्रै विकासे गतिविधि कछुवा गतिमा अघि बढ्नु, आपराधिक गतिविधिको अनुसन्धान टुंगो नलाग्नुमा कर्मचारी सरुवा र राजनीतिक स्वार्थ हावी रहने गरेको छ ।
bidhyaraee19@gmail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार