मल्टिमिडिया पत्रकारिताको आवश्यकता र स्थिति

  विद्या रार्इ  154 पटक हेरिएको

इन्टरनेटको बिकास
विश्वमा इन्टरनेट सेवा सुरु भएको लगभग ६ दशक हुँदैछ । २०१७ जुनसम्मको तथ्याङ्कलाई आधार मान्ने हो भने संसारका ५१ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा छन् । नेपालमा दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार टेलिफोन र इन्टरनेट प्रयोगकर्ता डेढ करोडभन्दा बढी छन् । सन् १९५८ मा अमेरिकी बैज्ञानिकहरुले तत्कालीन सोभियत संघसँगको प्रतिस्पर्धामा इन्टरनेटको परीक्षण थालेका थिए । तर व्यापारिक रुपमा विकासचाहिँ ८० को दशकबाट सुरु भयो । सन् १९९१ मा डब्लुडब्लुडब्लु आएपछि आममानिसको पहुँचमा सजिलै विस्तार भएको थियो इन्टरनेट । सन् १९९५ देखि विश्वभर फैलियो । १९९६ मा डब्लुडब्लुडब्लुमा आधारित इमेलसेवा हटमेल आयो । त्यसअघि इन्टरनेट सेवा प्रदायक कहाँ फोन गरेर मात्रै इमेल चेक गर्न सकिन्थ्यो । हटमेलले गर्दा इन्टरनेट जोडिएका कम्प्युटरमा इमेल गर्न फोन गर्नुपर्ने झन्झट हट्यो । १९९८ मा ‘गुगल सर्च’ सर्च इन्जिनका रुपमा आयो । जहाँ आफुलाई चाहिएका कुराहरु ‘ब्राउज’ गर्न सकिने भयो । सोही वर्ष याहुले पनि इमेल सेवा ल्यायो । सन् २००४ मा जीमेल आयो । इमेल सेवाका लागि परिस्कृत सेवा प्रदायकका रुपमा स्थापित भएको छ जीमेल । हटमेलले दुई देखि चार एमबी स्टोरेज दिरहेका बेला जीमेलले एक जिबी दिएको थियो । हाल २५ जीबी दिएको छ । २५ एमबी एकैपटकमा पठाउन मिल्छ । त्यसभन्दा माथि गुगल ड्राइभमार्फत पठाउन मिल्छ । सन् २००४ मा फेसबुक आयो । फोटो अपलोड गर्न, स्टाटस लेख्न, लाइक र कमेन्ट गर्न मिल्ने भयो फेसबुकमा । हाल सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जालका रुपमा स्थापित भएको छ फेसबुक । २००५ मा युट्युब आयो । भिडियो अपलोड गर्न र हेर्न मिल्ने भयो । यसैगरी २००६ मा ट्वीटर आयो । २०१० मा इन्स्ट्राग्राम आयो । वास्तवमा डब्लुडब्लुडब्लु आउनु नै वेबसाइटहरुको खोल्ने वातावरण बनेको मानिन्छ । यसरी इन्टरनेट र सामाजिक सञ्जालको तीव्र विकासले सञ्चारमा छलाङ्ग मारेको हामीले अनुभूति गर्न सक्छौ । इन्टरनेट प्रविधिका यी माध्यमहरुमा हाम्रो पहुँच सजिलै जोडिएको छ । फेसबुक सबैभन्दा बढी प्रयोगमा ल्याइएको सामाजिक सञ्जाल हो ।

न्यु मिडिया
प्रविधि विकासका यी कुराहरु जोड्नुको उदेश्य यससँग जोडिएका हाम्रा दैनिकीहरु कसरी परिवर्तन हँुदै आएका छन् त ? अझ भनौ सञ्चार सम्पर्क गर्ने माध्यम तथा तरिका कसरी अगाडि बढिरहेका छन् ? र यससँगै पत्रकारितामा यिनको कस्तो प्रभाव छ ? भन्ने कुराहरु जोड्नका लागि मात्रै यी उदाहरण उल्लेख गरिएका छन् । प्रविधिको तीव्र विकासले विश्व पत्रकारिता मल्टिमिडिया ट्रेण्डमा छिरिसेकेको छ । जर्नल, पत्रपत्रिकाबाट जन्मिएको पत्रकारिता न्यु मिडिया अर्थात मल्टिमिडिया प्रणालीमा रुपान्तरण भइरहेको छ । वेबसाइटहरुको बिकास, फेसबुक, ट्वीटर, युट्युब, इन्स्टाग्रामजस्ता इन्टरनेट सञ्जालहरुमा आएका विकसित फिचरहरुले गर्दा आममानिसमा सूचना लिने चलन बद्लिएको छ । नेपालमा नेपाल टेलिकम, एनसेल तथा वर्डलिंक, सुविसुजस्ता वायरलेस इन्टरनेट सेवाप्रदायकहरुको तिव्र बिकासले हिजोका दिनमा समाचारपत्र किनेर समाचार पढ्नेहरु अहिले बिहान उठ्दै इपेपर हेर्छन् ।

बिकसित राष्ट्रहरुमा त इन्टरनेट फिचरहरुको आगमनसँगै यस्ता अभ्यास सुरु भए । हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा समेत पत्रिका भन्दा अनलाइन समाचारकै प्रभाव बढिरहेको छ । आममानिसले समाचारपत्र पल्टाउनुको साटो वेबसाइट खोल्छन् । शब्दको समाचारलाई मात्रै सञ्चारको गतिलो माध्यम मान्दैनन् । उनीहरु तस्बिर हेर्न चाहान्छन् । भिडियो हेर्न चाहान्छन् । यसका लागि युट्युबले साथ दिएको छ । यसैगरी फेसबुक, ट्वीटर, इस्टाग्रामजस्ता सामाजिक सञ्जालमा जोडिएका छन् । क्षणभरमै समाचार प्राप्त गर्छन् । पाठक, स्रोता, दर्शकका रुचिअनुसार परम्परागत शैलीबाट आएका छापामाध्यमहरु, विद्युतीय माध्यममा रेडियो तथा टेलिभिजनहरु परिवर्तित रुपमा अनलाइन, युट्युब तथा सामाजिक सञ्जालहरुमा जोडिन पुगेका छन् । सञ्चारगृहहरुले सोहीअनुसार प्रविधिमा जोडिनुपर्ने अवस्था छ । यसको अर्थ परम्परागत पद्धतिको पत्रकारितामा मल्टिमिडिया पत्रकारितामा जोडिदैँछौ । ३ वर्षयता नेपालमा पनि अनलाइनको बजार बढेको छ । अनलाइन माध्यमको प्रयोग र प्रभाव बढेकाले छापामाध्यमको दैनिक पत्रिकाहरुमा भने तत्कालै असर नपार्ने भएपनि म्यागाजिन र साप्ताहिक पत्रिकालाई भने चुनौती आइलागेको छ । किनकी दैनिक पत्रपत्रिकाका बिषयबस्तु डिजिटल कपीमा हेर्नु पढ्नु र भौतिक रुपमा पत्रपत्रिकामा नै हेर्नु र पढ्नुको मज्जा बेग्लै छ । चार्म त केही घट्छ नै यद्यपि चुनौती नै सामना गर्नुपर्ने अवस्था आइहाल्छ भन्नेमा डराइहाल्नुपर्ने स्थिती छैन ।

तीन करोड नेपालीमध्ये ६० प्रतिशतसँग इन्टरनेट पहुँच छ । इन्टरनेट कम्प्युटरमा मात्रै सिमित नभएर मोबाइलबाटै चलाउन सकिने भएकाले पनि यो पहुँच उल्लेखनीय मान्नुपर्छ । यसकारण पत्रिकामा पाठकको चार्म केही घटेको छ । विद्युतीय माध्यमका रेडियो र टेलिभिजनको कुरा गर्ने हो भने यी दुवै इन्टरनेट पद्धतीमा जोडिएका छन् । रेडियो सुन्ने र टेलिभिजन हेर्ने चलन घट्यो भन्दा फरक नपर्ला । किनकी अचेलका श्रोता र दर्शक युट्युबहरुमा झुम्मिने चलन बढेको छ । युट्युबबाटै लाइभ सुन्ने, हेर्ने आममानिसको रुची फेरिएको छ । प्रविधिको विकासले ल्याएको आयाम नै मान्नुपर्छ ।

सञ्चार गृहहरुले समेत आफ्ना आमपाठक, दर्शक र स्रोतामाझ इन्टरनेटमा परिष्कृत माध्यम अपनाउन थालेका छन् । नेपालकै परिप्रेक्षमा भन्ने हो भने राजधानी र मोफसलका प्राय सञ्चारगृहले न्यु मिडियालाई ग्राह्यता दिरहेको स्थिती छ । यसको अर्थ मल्टिमिडिया पत्रकारिता अवधारणा विस्तारै भित्रँदैछ, जुन पश्चिमा मुलुकका पत्रकारितामा जाजल्व्यमान छन् र तिनको प्रभाव पनि राम्रो छ । पत्रपत्रिकामार्फत समाचार सम्प्रेषण गरिरहेका सञ्चारगृहले अनलाइन वेबसाइटमार्फत क्षणभरमै आम पाठकमाझ एकैचोटी सूचना तथा खबर प्रवाहको अभ्यास थालेका छन् । पहिले एउटा सञ्चारगृहले पत्रपत्रिकामात्रै प्रकाशन गर्ने, रेडियो हो भने बजाइ मात्रै रहने, टेलिभिजनले देखाइमात्र रहने चलन थियो । अझैपनि यदाकदा छ । तर पछिल्लो समय यी सबै काम एकै सञ्चारगृहले गर्न थालेका छन् । अनलाइनहरुमा भिडियोको स्थानको अनिवार्य जस्तै छ । समाचारहरु आमपाठकमाझ क्षणमै पु¥याउन सामाजिक सञ्जालको सहायता लिइएको छ । सामाजिक सञ्जालहरुमा दिइएको लाइभ सेवाले झनै साघुँरो बनाएको छ । पत्रकारले मल्टिमिडियामार्फत बिषयबस्तुलाई रोचक बनाउन शब्द, तस्बिर, ध्वनी, भिडियो र ग्राफिक्सलाई संयोजन गरेर बाहिर ल्याउछन् । यो अभ्यास सञ्चारमाध्यमहरुले थालिसकेका छन् । पत्रकारितामा लेखन पहिलो प्राथमिकतामा पर्ने भएपनि तस्बिर, भिडियो, ध्वनी, ग्राफिक्स जस्ता तत्वहरुको वजन अझ गहकिलो बन्दै गएको छ । अनिवार्य हुन थालेका छन् । जुन चाहि मल्टिमिडिया पत्रकारिता अवधारणा भित्र पर्दछन् । यसले मुलतः समाचारपत्र, रेडियो तथा टेलिभिजनहरु र सामाजिक सञ्जालहरुलाई प्रतिनिधित्व गर्दछ ।

र, मल्टिमिडिया पत्रकारितालाई सार्थक बनाउन पत्रकार पनि उत्तिकै दक्ष नै बन्नुपर्ने आवश्यकता छ । एकजना पत्रकारमा बिषयबस्तुलाई रोचक बनाउन शब्द, तस्बिर, ध्वनी, भिडियो र ग्राफिक्सलाई संयोजन गर्न सक्ने सक्षमता र दक्षता हुनुपर्छ । यो प्रक्रियालाई निरन्तर अगाडि बढाउन सक्ने हुनैपर्छ । हुन त अहिलेको अवस्थालाई मात्रै हेर्ने हो भने एकैजनाले युट्युब च्यालन सञ्चालन गर्न सक्छन् । मल्टिमिडियाका लागि चाहिने सामाग्रीहरुमा झन्झटिला चरणहरु पार हँुदै आएका छन् । इन्टरनेट सेवाप्रदायकका सेवा एकातिर छन् नै अर्कातिर पत्रकारितामा प्रयोग हुदै आएका सामाग्रीहरुमा सहजता छ । पहिले रिलवाला क्यामरा हुन्थ्यो, निश्चित फोटो लिन सकिन्थ्यो । अहिले डिजिटल माध्यम आएको छ, जतिपनि फोटो र भिडियो लिन सकिन्छ । पहिले डेस्कटपका जमाना थिए । अहिले मोबाइलबाटै समाचार लेख्न, फोटो, भिडियो, सम्पादन तथा प्रकाशनका काम गर्न सकिन्छ, किफायती पनि छ ।

अहिलेको आवश्यकता भनेको ‘वान म्यान आर्मी’ प्रणाली नै हो । बिकसित राष्ट्रहरुमा यही चलन छ । हाम्रो देशमा भने यो आवश्यक रहेपनि भित्रिसकेको छैन । जनशक्तिको पाटोलाई हेरेर भन्न सकिन्छ कि न्यु मिडिया अर्थात मल्टिमिडिया पत्रकारितामा पनि छिर्न सकेको चाहिँ किटेरै भन्न सकिने आधार अझै पनि बनिसकेको अवस्था छैन । सञ्चारगृहभित्र हुने समाचार शाखा, फोटो शाखा, उत्पादन तथा प्रशारण शाखा यस्ता थुपै्र विभागहरु अझै छन् । ती शाखाका पनि छुट्टाछुट्टै बिट र उत्तिकै जनशक्ति छन् । कतिपय अवस्थामाा अधिक जनशक्ति हुँदा आपसी तालमेत अभावमा समाचार, फोटो र भिडियोहरु बिषयभन्दा बाहिर गइरहेका हुन्छन् । मल्टिमिडियाको विकासको गति भन्ने या दुगर्ति कहीँकतै यस्ता उदाहरण दोहोरीरहेका छन् । यदि एकै व्यक्तिमा सबै कामको दक्षता भएको भए यसो नहुन पनि सक्थ्यो । आममानिसले सहि सूचना पाउनुपर्ने अधिकारको प्रत्याभूति दिलाउन सकिन्थ्यो ।

हालैको अक्टोबरमा राजधानीमा भएको ६ दिने मल्टिमिडिया वर्कसपमा मलाई पनि सहभागी हुने अवसर जुरेको थियो । राजधानीका प्रतिष्ठित सञ्चार माध्यमका फोटो पत्रकारहरुको उल्लेख्य सहभागिता थियो । यसको तात्पर्य नेपाली पत्रकारितामा मल्टिमिडिया पत्रकारिताको खाँचो छ र त्यसैको परिपुर्तीका लागि वर्कसप राखिएको थियो । राजधानीका जनशक्ति उल्लेख्य राखिनुको अर्थ मल्टिमिडिया ट्रेन्ड राजधानीमा आवश्यकताअनुसार पुगेको छैन, त्यसैले दक्ष जनशक्ति तयार गर्नका यसो गरिएको सहजै भन्न सकिन्छ । किनभने यहााको चलन पहिले राजधानी, त्यसपछि तराई, अनिमात्रै भोजपुर, धनकुटा, संखुवासभा, खोटाङ, ओखलढुगांजस्ता पहाडी, हिमाली तथा दुर्गमक्षेत्रको बिकासले पालो पाउने हुन् ।

मल्टिमिडिया पद्धतीले गर्दा समाचार उत्पादन र प्रसारणका परम्परागत प्रणाली परिर्वतन हुँदै आइरहेका छन् । यसको क्षेत्र र आवश्यकता फराकिलो बन्दै गएको छ । पत्रकारितामा समाचार तयार तथा प्रस्तुतीमा यसैगरी पाठक, श्रोता र दर्शकमा समाचार प्राप्त गर्ने शैली नै फरक भइसकेको छ । उनीहरुलाई सामाग्रीको प्रभाव कसरी मन छुने खालको बनाउने भन्नेमा मल्टिमिडिया पद्धतीका तत्वहरुले भूमिका खेलेको हुन्छ । मानवीय चासोका बिषयबस्तु पनि बनेको छ । उनीहरुका लागि कथाबस्तुहरुलाई कसरी चाखलाग्दो बनाउने र बाहिर ल्याउने भन्नेमा भर पर्छ । पहिले पत्रपत्रिका पढ्न पाउनु पनि ठुलो अवसर मानिन्थ्यो भने, अहिले रेडियो, टिभी सुन्न र हेर्न समेत छाडिएको छ । अनलाइनमार्फत श्रव्यदृश्यको माध्यम प्रयोग गर्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । यसको आवश्यकता, माग र चाहाना पनि बढिरहेको छ । आममानिस क्षणभरमै खबर थाहा पाउन चाहान्छन् । उनीहरु इन्टरनेटको जुनसुकै माध्यममा जोडिएका छन् । यता सञ्चारगृहहरुले पनि उनीहरुको अपेक्षाअनुसार र बद्लिदो समयअनुसार परिमार्जित भएरै जानुपर्ने हुन्छ । इन्टरनेट सेवा प्रदायकहरुले दिएको सेवासुविधा, बढ्दो प्रयोगकर्ताले पनि आवश्यकतालाई मध्यनजर गरिरहेको भन्न सकिन्छ ।

सम्भावना, चुनौती र अवसर
मल्टिमिडिया सुगम र दुर्गम दुवैका लागि पत्रकारिता मार्फत सञ्चार सेवा पु¥याउने गतिलो माध्यम बन्दै गएको छ । तर आवश्यकताको पहिचान गर्न जति सहज छ, व्यवहारमा उतार्न उती नै गाह्रो पनि छ । भौगोलिक विकटता, इन्टरनेट, टेलिफोनको सहज विस्तार र पहुँच नपुग्दा दुरदराजमा मल्टिमिडिया माध्यम चुनौतीपुर्ण छ । अझैपनि प्रायः गाउँघरका विधुत सेवा पुग्न नसक्दा टेलिफोन सेवा विस्तार हुन सकेका छैनन् । इन्टरनेटको कुरा त टाढाको भइहाल्यो । मल्टिमिडिया आफैँमा प्राविधिक बिषय हो । अधिकांश जनशक्तिमा ज्ञान, सीप, दक्षता र अनुभव छैन । यसकारण पत्रकार आफैँ अलमलमा पर्ने अवस्था छ । बिशेष गरेर मोफसलका पत्रकारमा यस्ता समस्या छन् । कतिपय पत्रकार इमेल गर्न नजानेर पनि पत्रकार भएका छन् । मोफसलका सञ्चारगृहमा श्रमजीवी ऐन लागू हुन नसक्दा विहानबेलुकाको छाक टार्न धौधौ परिरहेको पत्रकारलाई स्रोत र साधन जुटाउन पनि हम्मे पर्छ । हुन त पत्रकारहरुमा दम्भ पनि छ । समाचारदाताले समाचारमात्र लेख्न जाने पुग्छ, फोटोपत्रकारले एंगल मिलाई – मिलाई खिच्न जाने पुग्छ, रेडियो र टिभीमा बोल्नेले बोल्न जानेमात्रै पुग्छ भन्ने जुन अह्मता छ, यसले हामी आफै पछाडि परेका छौँ । र, मल्टिमिडिया पत्रकारिताको सिद्धान्तअनुसार चल्न खोजिरहेका छैनौ । स्मरण यो रहोस् कि अबको पत्रकारितामा लेख्न मात्रै जान्ने, फोटो खिच्न मात्रै जान्ने, बोल्न मात्रै जान्नेको सफलताको सम्भावना पनि नाजुक नै छ । अर्को कतिपय सञ्चारगृह तथा डेस्कइडिटरहरुकै पनि गलत बुझाई छ । जुन विभागको हो त्यसभन्दा बाहिरको विभागको काम राम्रै गरेको भएपनि जस पाउने ठाउँ चाहि नराखिदिने नै गर्छन् । समाचार लेख्नेले जति नै राम्रा कथाबस्तु मिलाएर खिचेका तस्बिरहरु हुन् मिल्काइदिने, पत्रिकामा छापिएको एंगलकै समाचार रेडियोमा पठाए मन लागे बजाउने मन नलागे नबजाउने । यस्ताखाले माथिल्लो तहले मातहतलाई हेर्ने विभेदपुर्ण व्यवहारले गर्दा मल्टिमिडिया पत्रकारिताको अवधारणा भित्र अट्न सकेका छैनौ । जुन चाहि विकृतिका रुपमा फैलिरहेका छन् । मल्टिमिडिया टे«न्डलाई अंकुस लगाइरहेका छन् ।

चुनौतीहरुले नै फेरि पनि अवसरको ढोका खोल्ने हुन् । चुनौती र विकृति छन् भनेर मल्टिमिडिया पत्रकारितामा भविश्य नहुने भन्ने पक्कै होइन । सम्भावनाहरु पनि धेरै छन् । पहिलो त मल्टिमिडिया ट्रेन्ड जुन भित्रिरहेको छ यो नै सुनौलो अवसर हो । हामीले स्वीकार्ने तरिका, गर्ने मेहनत र डेस्कमा हुने मूल्याकंनमा भर पर्ने कुरा हुन् । हामीसँग मल्टिमिडिया पत्रकारिताका लागि थुप्रै राजनीति, सामाजिक, साँस्कृतिक, भौतिक, आर्थिक इस्युहरु छन् । जुन इस्युहरु मल्टिमिडियाका लागि उपयुक्त हुन्छन् । देश संघिय संरचनामा गएको छ । २० बर्षपछि भएको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि आएका छन् । उनीहरुले भौतिक पूर्वाधारसँगै इन्टरनेट र टेलिफोनको विकासलाई अगाडि बढाइरहेका छन् । त्यसो त स्थानीय तहको बजेट पनि पहिलेको निकायभन्दा बढी नै छ । जनप्रतिनिधिले प्रविधिमैत्री समाजको अवधारणा अघि सारेका छन् । यसले इन्टरनेट र टेलिफोन सेवा बढ्ने र मल्टिमिडिया पत्रकारिताका लागि सहजता ल्याउने प्रबल सम्भावना छ । यसैगरी प्रतिनिधिसभा र प्रदेशसभा पनि छ । यसले पनि ठुला विकास निर्माणका बिकासे एजेण्डालाई पक्कै अघि सार्छन् । शैक्षिक चेतनाको कमी समाजमा अझै उस्तै छ । पछिल्लो समय प्राविधिक शिक्षाका अवधारणा आइरहेका छन् । पत्रकारिताको पढाई भैरहेकै छन् । अझ फैलने र मल्टिमिडियालाई बिशेष महत्व दिने गरी सम्बद्ध शैक्षिक संथाहरु संस्थागत हुन थालेका छन् । उनीहरुका क्रियाकलापहरुमा गतिशिलता बढेको छ । यसले ज्ञान, सीप, क्षमता बढाउन सहयोग पुग्छ । पत्रकारहरुमा बहुप्रतिभाको खुबी बढ्छ । पत्रकारितामा मल्टिमिडियाले गर्दा आत्मनिर्भर हुन सक्ने आत्मबल बढ्छ । कामप्रतिको जाँगर र निष्ठा पनि बढ्छ । उर्जा पैदा गर्छ ।

निष्कर्ष
यसका लागि पत्रकारका छातासंगठन मल्टिमिडिया पत्रकारिता उन्मुख हुनैपर्छ । आवश्यकतालाई व्यवहारमा उतार्न पत्रकार महासंघले पत्रकार र डेस्कबीचको सम्बन्धमा, एक विधा र अर्को विधाबीचको तालमेल मिलाउन समन्वयको भुमिका खेल्नुपर्छ । यसप्रति उत्पे्ररित गराइनुपर्छ । ज्ञान, सीप, क्षमता, दक्षता, लगनशिलता र मेहनतबिना मल्टिमिडिया पत्रकारिता असम्भव हुने भएकाले सिक्ने र सिकाउने वातावरण, सभा, सेमिनारहरु गराइरहनुपर्छ, सुसूचित गराउनुपर्छ । मल्टिमिडिया पत्रकारहरुमा शैक्षिकमैत्री वातावरणको मानसिकता पनि तयार हुनैपर्छ । पत्रकारितालाई चौथो अंग मानिरहँदा यसको प्रभावलाई फराकिलो, दहि«लो र गर्विलो बनाउन सरकारले पनि योजनाका प्याकेजहरु ल्याउनैपर्छ । किनकी सरकार नै देशको शैक्षिक, आर्थिक, सामाजिक विकास गर्ने मेरुदण्ड हो ।

(कान्तिपुर दैनिकका लागि भोजपुर संवाददाता राईले लेखेको यो लेख प्रेस काउन्सिलको संहिता जर्नलमा प्रकाशित छ ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार