युएईमा रहेका भोजपुरेहरुले पीडितलाई सहयोग

भोजपुर । दलालमार्फत ३ वर्षअघि इराक पुगेर मालिकको चरम यातनापछि उद्धार गरिएका भोजपुर ट्याम्केमैयुङ्ग गाउँपालिका साविकको गोगने–७, की ३४ वर्षीया शान्ता राईलाई युएईमा रहेका भोजपुरेहरुले नगद ४० हजार सहयोग गरेका छन ।

भोजपुर हातेमालो समाज युएईले पठाएको उक्त रकम पुष १७ गते समाजका प्रतिनिधि गणेश प्रधानले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ रहेकी पीडित राईलाई हस्तान्तरण गरिएको छ । शान्ताको तत्कालै प्लाष्टिक सर्जरी गर्नुपर्ने र सोका लागि दुई लाख पचास हजार रकम आवश्यकता रहेको पीडितकी बहिनी ममता राईले जानकारी दिएकी छन् । उपचारमा सम्लग्न चिकित्सकका अनुसार शान्तालाई सुविधासम्पन्न हस्पिटलमा स्थानान्तरण गर्न लागिएको बताएका छन् ।

घरको मालिकको यातनाबाट मुत्युको मुखमा पुगेकी राईको दुईवटै खुट्टा भाँचिएको र स्टिल लगाइएको छ भने मेरुदण्डमा चोट लागेको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाइएको छ । शान्ताकी बहिनी ममताले भनिन–‘म त मजदुरी गरेर खाने मान्छे, दिदीलाई यति ठूलो समस्या आएपछि केहि सोच्नै सकेकी छैन, अहिलेसम्म उपचारमा लागिरहेका छौं । दया गरेर पहिलो पटक ४० हजार पायौं अब आशा पलायो अरु पनि आवश्यक रकम मनकारी महानुभावहरुले दिनुहुनेछ ।’

वैदेशिक रोजगारीका लागि इराक पुर्याउने दलाल स्याङजाका राम भनिने बलबहादुर थापा मगर र उनकी श्रीमति शशी घले फरार छन् । भोजपुर हातेमालो समाज युएईले पीडितलाई आर्थिक सहयोग गर्दै दलाललाई कार्वाहीको माग गरेको छ । युएइमा संकलन गरिएको रकम पीडितलाई पठाइएको भोजपुर हातेमालो समाज युएईका अध्यक्ष ज्ञानेन्द्र बहादुर राईले जानकारी दिएका छन् । दलाल राम र शशी घलेलाई कुनै पनि बहानामा उम्कन नदिई कडा कार्बाहीको माग समेत गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार