भोजपुरमा धानको उत्पादन बढ्यो

  सिलिचुङ सम्वाददाता  85 पटक हेरिएको

भोजपुर । जिल्लामा यो वर्ष धानको उत्पादनमा तीन हजार मेट्रिकटनले बृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यो वर्ष तीन हजार आठ सय २० मेट्रिक टनले बृद्धि भएको हो ।
जिल्लामा गत वर्ष कुल ४० हजार एक सय मेट्रिक टन धान उत्पादन भएको यो वर्ष कुल ४३ हजार नौ सय ३० मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय भोजपुरका प्राविधिक सहायक युगमणी भट्टराईले बताए । जिल्ला कृषि विकास कार्यालयले यो वर्ष जिल्लाका धेरै कृषकलाई उन्नत जात धानको विउ वितरण गरेको थियो ।
जिल्लाका ७५ प्रतिशतभन्दा बढी मानिसहरु मूख्य बालीका रुपमा धान खेती गर्नेछन् । कृषकहरुलाई उन्नत जातका विउविज वितरण, विभिन्न समयमा सीपमूलक तालिम, समयमै मलखादको वितरणले गर्दा पनि यो वर्ष जिल्लामा धान उत्पादन बढेको भट्टराईको ठम्याई छ ।
भोजपुरमा कुल १९ हजार एक सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जिल्लाको उत्तरी षडानन्द नगरपालिका, भोजपुर नगरपालिका, पूर्वी अरुण गाउँपालिका, पश्चिीमी टेम्के मैयुङ्ग गाउँपालिका लगायतका स्थानमा बढी मात्रामा धानको उत्पादन हुने गरेको छ । जिल्लामा विशेषगरि अट्टे, जिरामसिना, मन्सुली लगायत विभिन्न जातका धानका विउहरु लगाईने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार