संखुवासभामा कसैले चासो नदिएपछि हाइड्रो पावरको पुनःनिर्माणमा जुटे स्थानीयवासी

खुवासभा । चैनपुर नगरपालिका–१ याङ्सीजुङवासीले बाढीले पुरेको हाइड्रोपावर पुनः निर्माणमा जुटेका छन् । अबिरल वर्षासँगै आएको बाढीले निदुवा खोला लघुजल विद्युतको आयोजनाको हाइड्रोपावर बगाएपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका थिए ।

पहिरोले हाइड्रो पावरका महत्वपूर्ण उपकरणहरूसमेत पुरेर कामै नलाग्ने गरी क्षति र्पुयाएको स्थानीयको भनाइ छ । अहिले उक्त हाइड्रो पावर पुनः निर्माणमा दैनिक रुपमा करिब सय जना उपभोक्ताहरू श्रमदानमार्फत लागेका छन् ।

२०६७ सालमा विद्युत उत्पादन भएपछि कुनै पनि दिन लोडसेडिङको अनुभव नगरेका स्थानीय बाढीले विद्युत गृह बगाएपछि विद्युतविहीन बनेका छन् । बाढीले विद्युत गृह बगाउनका साथै एलसी वोर्ड, टर्वाइन, जनेरेटर पुरिएको अवस्थाबाट निकालिएका उपकरणहरू काम नलाग्ने अवस्थामा पुगेकोे छ ।

हाल पुनःनिर्माणमा जुटे पनि पानीपर्ने क्रम नरोकिएकाले पुनः क्षति र्पुयाउन सक्ने उपभोक्ता लाक्पापमु शेर्पाले बताए । उनले पुनःनिर्माणका लागि बिहानदेखि बेलुकासम्म ठूलो संख्यामा स्थानीय लागि परेको पनि बताए । १४ किलोवाट विद्युत उत्पादन गरिरहेको लघुजलविद्युत गत साउन ४ गते दिउँसो भारी वर्षापछि आएको बाढीले क्षति र्पुयाएको थियो ।

बाढीले विद्युतगृह बगाएको र विद्युत उत्पादनका लागि पानी ल्याइने कुलोसमेत बगाएपछि याङ्सीजुङवासी अन्धकारमा बस्न बाध्य छन् । लघुजलविद्युत आयोजना बगाउँदा करिब ४५ लाख रुपैयाँको क्षति भएको उपभोक्ता समितिले आकंलन गरेको छ । स्थानीयको लगानीमा मात्र पुनःनिर्माण सम्भव नहुने भएकोले अन्य निकायसँग सहयोगको अपेक्षा गरिएको समितिका सदस्य सांगे शेर्पाले बताए ।

स्थानीयको सक्रियतामा पहिरोले पुरिएका टर्वाइन, जेनेरेटर जस्ता केही उपकरणहरू वाहिर निकालिए पनि ती काम नलाग्ने अवस्थामा रहेको आयोजनाका पूर्व अध्यक्ष लक्ष्मीकुमार लिम्बूले बताए । तत्काल विद्युत सञ्चालनका लागि करिब १० लाख रुपैयाँ भए अस्थायी रुपमा विजुली प्रयोगमा ल्याउन सक्ने पूर्वअध्यक्ष लिम्बूको भनाई छ ।

तत्काल विद्युत सञ्चालका लागि कुलोबाट पानी ल्याउनका लागि काठको अस्थायी कुलो बनाएका छन् । साथै अस्थायीरुपमा विद्युत गृह निर्माण गरी आवश्यक उपकरण ऋणमा खरिद गरी पुनः निर्माणमा जुटेका हुन् । २०६७ सालमा तत्कालीन जिल्ला विकास समितिको सहयोग, सोहीअन्तर्गतको उर्जा विकासको अनुदान र स्थानीयको करिब ३० रुपैयाँको लगानीमा उक्त लघु जलविद्युत आयोजना संञ्चालनमा ल्याइएको थियो ।
आयोजनाले बेलुकी ५ बजेदेखि बिहान १० बजेसम्म दैनिक विद्युत वितरण गर्दै आएको थियो । उनीहरूले मासिक ७० रुपैयाँमा विद्युत उपभोग गर्दै आएका थिए । अस्थायी रुपमा समस्याको समधानका लागि उपभोत्ता जुटेपनि चैनपुर नगरपालिका र सम्बन्धित निकायको त्यसमा ध्यान जान जरुरी देखिन्छ । याङ्सीजुङमा केन्द्रीय लाइन र्पुयाउन महँगो र भौगोलिक रुपमा जटिल भएकोले लघु जलविद्युतको महत्वपूर्ण भूमिका रहेको छ ।

सो क्षेत्रमा केन्द्रीय लाइन वितरण गरिए पनि लामो दूरीमा रहेकाले पटक–पटक अवरोधहरू आउने हुँदा प्रभावकारी नहुने स्थानीयको भनाइ छ । हाल सोही विद्युत उत्पादनलाई निरन्तरता दिन सम्वन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ । जलविद्युत आयोजनाबाट १ सय २३ घरधुरी लाभान्वित रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार