भोजपुरमा बामपन्थीले पटक पटक जित्दा पनि विकास हुन सकेन

नेपाली कांग्रेसको युवा भातृ संगठन नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाई आसन्न निर्वाचनमा प्रदेश सभा तर्फ भोजपुर क्षेत्र नं. १ का उम्मेद्वारका दावेदार समेत थिए । तर, पार्टीले संघीय समाजवादी फोरसँगको गठबन्धनपछि फोरम सचिव अजम्बर काङ्गमाङ्गलाई अघि सारेको छ । भोजपुरमा लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानमा वक्ताका रुपमा दौडाहामा हिंडिरहेका नेता चापागाईसँग भोजपुरको चुनावी सरगर्मीका बारे पत्रकार श्यामकृष्ण दाहालले गरेको कुराकानी ः

चुनावी प्रचारप्रसारमा गाउँघरमै हुनुहुन्छ कस्तो पाउनुभयो त चुनावी अवस्था ?

भोजपुरको २ नं. क्षेत्रभरी पुगिसके । इतर राजनीतिक दलबीच एकअर्का बीचको हार्दिकता नै भेटेको छु । सम्भावना नै नभएका दलहरुबीच गठबन्धन भएपनि तल्लो तहमा त्यसलाई अस्वभावीक भने देखिएन । माओवादीबाट हिजोको द्वन्द्वको समयमा प्रताडितहरु नेपाली कांग्रेस र एमाले नेता कार्यकर्ताहरु नै थिए । त्यसलाई हेर्दा हिजोको अवस्थालाई सम्झेर भन्दा पनि हाम्रोमा र उनीहरुमा पनि देशको आवश्यकता अनुसारको गठबन्धन भएकाले कार्यकर्ताहरुमा अस्वीकार छैन ।

भर्खरै सकिएको स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा वाम गठबन्धनको मत लोकतान्त्रिक गठबन्धनको तुलनामा भारी छ, यो अवस्थामा तपाईहरुको चुनाव जित्ने आधार चाहि के त ? 

स्थानीय तह चुनाव र केन्द्र/प्रदेशको निर्वाचनमा आकाश पातलको फरक छ । स्थानीय चुनावमा कांग्रेसको केहि अल्झन बल्झनका कारण पार्टी दोस्रो स्थानमा आउनुप¥यो । यसमा नेतृत्वको कमजोरी रह्यो समीक्षा पनि भइसकेको छ । वामपन्थीहरुले ३० वर्षसम्म शासन गर्दा भोजपुरको विकास हुन सकेन । भोजपुरेले परिवर्तन चाहेका छन् । राजनीतिक रुपमा मात्र आग्रह पुर्वाग्रह मात्र नभई वामपन्थीले पटपटक जितेर जाँदा पनि यहाँको विकास हुन सकेको छैन । चुनाव भनेको जनताले व्यक्ति परिवर्तन, पार्टी परिवर्तन जस्ता विकल्प खोज्ने कुरा पनि हुन् तर एउटै पार्टी एउटै व्यक्ति आइरहँदा विकासले सा¥है फड्को मार्न सकेको छैन । त्यसैले विकल्पस्वरुप हाम्रो आवश्यकता छ । फेरी हाम्रो संगठन हिजोभन्दा चुस्त र बलियो पनि छ ।

उम्मेद्वार त हेभीवेटकै छन् नि त वाम गठबन्धनका ?

उम्मेद्वारको तौल जोखेर मात्र हुन्न् । हेभीवेट भएका ठाउँको विकास चाहिं यहि हो त ? मान्छे मात्र हेभीवेट हुने भन्दा पनि विकास ठूलो कुरा हो नि । शेरधन राई २ पटक माननीय हुँदै मन्त्री भए, सुदन किराती माननीय भए तर विकासको अनुभुती जनताले के पाए त सोध्नुस् न जनतालाई ।

तपाई पनि टिकटको आकांक्षी हुनुहुन्थ्यो, भोजपुरको क्षेत्र नं. १ कांग्रेसको सुरक्षित क्षेत्र हुँदाहुँदै सीमित नेताको स्वार्थमा संघीय फोरमसँग मिलेर आफ्नै पार्टीलाई तिलाञ्जली दिइयो भन्ने पनि असन्तुष्टि देखिए नि ? यसले चुनावी परिणामलाई असर पार्दैन ?

चुनावी प्रक्रियामा जाँदा राजनीति गर्ने मान्छेले टिकट, पदको आशा गर्नु स्वभाव हो । तर टिकट मात्र ठूलो कुरा हैन । स्थायी शान्ति, विकास र संविधान कार्यान्वयन र परिवर्तन संस्थागत गर्न अव समृद्धि तर्फ मुलुक अघि बढाउन जरुरी छ । पार्टीले गरेको निर्णय र अभियानमा सबै लाग्यौं भने मात्र हामी सफलतामा पुग्ने निश्चित छ । फेरी आफ्नो बलियो समाइ राख्ने भन्ने पनि त होइन नि । आफ्नो बलियो अरुलाई दिएर अरुको बलियो क्षेत्र आफूले लिनु पनि गठबन्धनको एउटा महत्वपूर्ण विशेषता हो । हामी अहिले सबै सँगै लागेका छौं । मान्छेहरुले फैलाएका अनेकन भ्रमहरु असत्य हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार