गाउँको क्याम्पसले दुर्गमका विपन्न विद्यार्थीलाई सहज

भोजपुर । साल्पासिलिछो गाउँपालिका खाटम्मा जिमीगाउँकी रितु राई घरकै मिठोमसिनो खाएर गाउँकै पासमा रहेको कुलुङ बहुमुखी क्याम्पस स्नातक तह पहिलो वर्षमा पढ्न घरैबाट धाउने गर्छिन् । गाउँ नजिकै क्याम्पस भएपछि उनले आफ्नो पढाईका साथै घरायसी काममा बा–आमालाई सघाउने पनि गरेकी छन् ।
‘गाउँमै क्याम्पस भएकाले खाँदबारी, भोजपुर, धरान, ईटहरी जस्तो शहरमा मंहगो खर्च धानेर पढ्नु परेको छैन । यहीँ ठिक छ ।’ रितुले थपिन्, ‘घरमा बा–आमालाई मेलापातमा पनि सघाईने, यता घरकै खाना खाएर पनि पढ्न भ्याईने । अन्यत्र गएर व्यर्थ खर्च गरी पढ्नु परेको छैन ।’

‘दुर्गमका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागि बाहिर जानुपर्ने बाध्यता हटनुको साथै सुविधा सम्पन्न शहरको क्याम्पसकाे शिक्षा दुर्गम गाउँमै उपलब्ध भएपछि विद्यार्थीलाइ सहज भएकाे छ ।’

भोजपुर सदरमुकामदेखि तीनदिन पैदल हिँडेर पुगिने जिल्लाको उत्तरी दुर्गम गाउँ कुलुङस्थित स्नातक तहको क्याम्पस स्थापना भएपछि रितु जस्ता दुर्गम भेगका विपन्न विद्यार्थीहरुलाई उच्च शिक्षा लिन सहज भएको छ । झण्डै ८ बर्षअघि विपन्न समुदायका विद्यार्थीहरुलाई लक्षित गरेर स्थानीयबासी आफैले चन्दा संकलनबाट स्थापना गरेको कुलुङ बहुमुखी क्याम्पसले विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षा लिन सहज भएको हो ।
जिल्लाको उत्तरीभेगका दुर्गम गाउँहरुबाट उच्च शिक्षा पढ्न सदरमुकाम र जिल्लाबाहिर जानुपर्ने बाध्यता खेप्दै आएका विपन्न परिवारका विद्यार्थीहरुलाई कुलुङबासीले स्थापना गरेको क्याम्पसबाट लाभान्वित भएका छन् । कुलङ घलेगाउँकी स्नातक तह पहिलो वर्षमा अध्ययनरत सरु राईले पनि गाउँमै क्याम्पस स्थापना भएपछि आफुजस्ता सयौँ विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षा लिन सहज वातावरण भएको सुनाईन् । भन्छिन्, ‘घरायसी काम र खाना खाएर पढ्नु त छँदैछ त्यसमा टाढाटाढा कोठाभाडा लिएर उच्च शिक्षा पढाउन नसक्ने आर्थिक रुपले विपन्न परिवारका म जस्ता कयौँ दुर्गम भेगका विद्यार्थीलाई पनि यसले ठुलो सहयोग पु¥याएको छ ।’
शिक्षा, व्यवस्थापन र मानविकी संकायमा पढाई हुदै आएको यस क्याम्पसलाई थप व्यवस्थित बनाउनका लागि स्थानीयवासीले निशुल्क प्रदान गरेको जग्गामा व्यवस्थित भौतिक संरचना निमार्ण गर्ने तयारी भईरहेको छ । गतवर्षमात्रै स्थानिय तीनभाई रमेश कार्की, अर्जुन कार्की र विदूर कार्कीले आफ्ना स्वर्गिय पिता लोकबहादुर कार्की र माता थलिमाया कार्कीको नाममा ५० लाख बराबरको छात्राबास निर्माणका लागि जग्गा र आर्थिक सहयोग गरेपछि क्याम्पस परिसरभित्र दुईतले छात्राबास भवन निर्माण भईरहेको छ । यसका अलावा एउटा अर्को दुईतले पठनपाठनका लागि पक्की भवन निर्माण भईरहेको छ ।
क्याम्पस खुलेपछि विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागि बाहिर जानुपर्ने बाध्यता हटनुको साथै सुविधा सम्पन्न शहरको क्याम्पसमा पाउने शिक्षा दुर्गम गाउँमै प्राप्त हुदै आएको जनाउँदै लेखाशास्त्रका प्राध्यापक अशोककुमार यादवले आर्थिक रुपले बाहिर गएर पढ्न सक्ने क्षमता, सामथ्र्य नभएका विपन्न वर्गका विद्यार्थीहरु क्याम्पसमा लाभान्वित हुने गरेको बताए । उनका अनुसार दुईवर्षभित्र डेढसयको हाराहारीमा स्नातक तहमा विद्यार्थी संख्या बढाउने क्याम्पसले लक्ष्य राखेको छ ।
२०६६ सालमा त्रिभुबन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सोही बर्षदेखि भौतिक पूर्वाधारहरु जुटाएर स्नातक तहको पढाई सुरु गरेको यस क्याम्पसबाट तीन सयको संख्यामा विद्यार्थीहरुले उच्च शिक्षा पुरा गरिसकेका छन् । माध्यमिक तह र क्याम्पस तहको एउटै थलोमा पढाई हुने उक्त क्याम्पससंगै जोडिएको विरेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्मका करिब सात सयको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् ।
उत्तरी दुर्गम भेगका कुलुङ, ठोटनेरी, चौकीडाँडा, खाटाम्मा, दोभाने, नेपालेडाँडा, घलेगाउँ, जिमीगाउँ लगायतका दर्जनौँ गाउँ र छिमेकी जिल्ला संखुवासभाको सिसुवा, ताम्खु गाउँका विपन्न समुदायका विद्यार्थीहरुलाई बाहिर गएर पढनुपर्ने बाध्यता हटेको छ । जसका कारणले ती विद्यार्थीहरुलाई उच्च शिक्षा लिन सहज त छँदैछ भने अर्कोतिर अभिभावकको खर्च समेत जोगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार