संगीतमा संघर्षी हिरण राई उर्फ ‘टाईफिटिङ मामा’

पछिल्लो केहि समय पूर्वेली भाकामा आफ्नो कला र गलासंगै नाम कमाएका कलाकार हुन्, ‘टाईफिटिङ मामा’ अर्थात् भोजपुरे युवा कलाकार हिरण राई । २६ वर्षीय हिरणलाई आफ्नो नामभन्दा पनि टाईफिटिङ मामा भनेर मानिसहरु चिन्ने गर्छन् । बेजोडको हाँस्यव्यङ्ग्यसहितको सुरिलो भाका लगाउने हिरण आफ्नो नाममा रमाईलो ‘टाईफिटिङ मामा’ शब्द जोडेकाले पनि उनको प्रस्तुती देखेरै उनलाई टाईफिटिङ मामाको उपमा दिएका छन् ।
करिब एक दशक अगाडी नै आफ्नो सांगातिक क्षेत्रमा हात बढाएका हिरणले संगीतमा कयौँ सघर्ष गरे र गरिरहेका छन् । दशक लामो समयान्तरालमा संगीतको उचाईमा नाम नभएनी स्थानियस्तरमा निकै ख्याती कमाएका छन् । संगीतलाई आफ्नो साधक बनाएका हिरण अझै सम्झन्छन्, ‘संगीतमा नशा लागेर एकदिन त घरै छोड्ने पनि निर्णय गरेँ । सबै कपडाको पोकोपाकी कसेर भागेपनि । फेरि केहि पर पुगेपछि आमाको मायाले धेरै सतायो । अनि घरै फर्किएँ ।’
७÷८ बर्षकै उमेरदेखि सांगीतको मोहनी लागेका हिरण रुखको टुप्पोमा चढेर मच्चिमच्चि गित गाउने गर्थे । त्योबेलाको स्वर्गीय लोक गायक खेमराज गुरुङको चर्चित पुर्वेली भाका ‘वारी जमुना पारी जमुना’ भन्दै गुनगुनाउने उनलाई गीत गाउन पाएपछि केहि चाहिदैन थियो ।
‘न भोकै लाग्थ्यो न त शोक नै लाग्थ्यो । उफ्रिउफ्रि, रुखको टुप्पामा हल्लिँदै गाउँदा लड्छु भन्ने पनि डर हुन्थेन ।’, हिरणले स्मरण गरे ।

संगीतमा लागेपछि हिरणले दाम नपाएपनि स्रोता र दर्शकको माया र साथ पाएकोमा खुशी छन् । सांगीतिक करियरमा संघर्षरत उनी संगीतलाई नशा लागेपछि छुटाउन नसकिने र कहिलै निको नहुने क्यान्सरका रुपमा परिभाषित गर्छन् ।

हतुवागढी गाउँपालिका रानीबासको विकट प्याक्ला दितेनीमा जन्मिएका हिरण संगीतप्रतिको झुकाव भएकैले अहिले छाईरहेका छन् । सानो छँदा विद्यालयस्तरदेखी नै विभिन्न सांगीतिक प्रतिस्पर्धामा भाग लिने गर्थे, उनी । प्रतियोगितामा असफल भएपनि खुसी नै हुने हिरण भन्छन्, ‘कम्पिटिसनमा नजितेपनि स्टेज अगाडी अरुलाई घुमीघुमी, माइक्रोफोनबाट चिच्याँउदै गाएको सुनाउन त कमसेकम पाउँथे ।’
२०६६ सालमा सुनसरी झरेका उनी पुर्वाञ्चल संगीत विद्यालयमा भर्ना भई संगीत सिक्न थाले । संगीत सिक्न थालेपछि सांगीतिक जाँगर झनै बढ्न थाल्यो । विभिन्न सांगीतिक प्रतिस्पर्धामा भाग लिने हिरणले सिक्दै र गाउँदै जाँदा पछि निकै चर्चा पाएको ‘टाईफिटिङ्ग’ नामको एल्बम पनि निकाले । उक्त एल्बममा ‘खाना खादा तताला’, ‘घोडेटार बजारमा’, ‘टाइफिटिङ्ग’ र ‘पुर्णेको जुन’ बोलको ४ वटा गीत समावेश छ ।
किँरात राई भाषा, सँस्कृति, पहिचान र आफ्नो जन्म गाँउघरको ऐतिहासिकतालाई एल्बमका गीतमा समेटेका उनले ती गीतहरु उनकी आमा पम्फासरी राईलाई समर्पित गरेका छन् भने अग्रज उत्तरमान राई तथा उनी आफैँले पनि गीतको रचना गरेका छन् । उनले टाईफिटिङ एल्बम बाहेक ‘धर्तीको भिलेन’, ‘चोम्पीलुङ’, ‘सप्तरंगी ईन्द्रेनी’, ‘छुट्टी मिल्यो भने आमा’, ‘छितिज पारी’, ‘आत्महत्या’, ‘चोमोलोङ्मा फेदी किँरातीको गाउँ’ बोलका गीतहरुमा स्वर, शब्द र संगीत दिएका छन् ।
हिरणले घोडेटारमा ‘यलम्बर गायन २०७०’ मा प्रथम, ‘नेपाली स्वर संग्राममा २०७१’, पोखरामा ‘नेपाली राष्ट्रिय लोकतारा २०६९’, ‘नमस्ते प्रतिभा इटहरी २०६६’ र ‘पुर्वाञ्चल आइडल २०६५’ लगायत विभिन्न प्रतिस्पर्धामा सहभागीता जनाए । महेन्द्र मोरङ्ग क्याम्पस धरानमा स्नातक तह सकेका उनले रानीबासको घोडेटारको सगरमाथा उमाविबाट एसएलसी पास गरेर त्यहि प्लस टु पनि गरेका थिए ।
संगीतमा लागेपछि हिरणले दाम नपाएपनि स्रोता र दर्शकको माया र साथ पाएकोमा खुशी छन् । सांगीतिक करियरमा संघर्षरत उनी संगीतलाई नशा लागेपछि छुटाउन नसकिने र कहिलै निको नहुने क्यान्सरका रुपमा परिभाषित गर्छन् । उनी सुनाउँछन्, ‘चोकतिर गीत गुनगुनाई हिँड्दा सुन्नेको लस्कर आउथ्यो । अनि अभावको पिडा भुलेर जान्थे ।’
संगीतमा व्यावसायिक बन्ने सोच राखेका हिरण गायनको माध्यमबाट इतिहास, समाज र देशको नाम प्रकाश पार्ने लक्ष्य राखेका छन् । ‘जिवनरभर संगीतलाई माया गर्छु । मरेर गएपछि पनि गाएको गीतले सदा अमर राखोस् ।’ उनले भने ।
उनको एउटै लक्ष्य भन्नु लोकप्रिय गीत गाउने र स्रोतासामु सदाबहार छाईरहन संगीतमा संघर्ष गरिरहनु हो । नयाँ पुस्ताका संगीतकर्मीका लागि मार्गदर्शन र आफुले भोगेजति संघर्ष गर्न नपर्ने गरि सहज वातावरण सिर्जना गर्ने उनको लक्ष्य छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार