ट्रम्पको चीनमाथि अर्को एक्सनः २०० अर्ब डलरका चिनियाँ सामानमा करबृद्धिको घोषणा

वासिङ्टन– ट्रम्प प्रशासनले थप २०० अर्ब डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने घोषणा गरेको छ । अर्को सातादेखि लागू हुने यस करबृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुकबीच व्यापार युद्ध निम्त्याउने खतरा बढेको छ ।

पछिल्लो करबृद्धिका कारण हाते झोलादेखि साइकलका टायरसम्मको मूल्य बृद्धि हुनेछ ।

आगामी सोमबारदेखि लागू हुने अमेरिकी करबृद्धि १० प्रतिशतबाट आरम्भ हुनेछ, र आगामी वर्ष सन् २०१९ को जनवरी १ बाट २५ प्रतिशत पुग्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार करबृद्धिको घोषणा गरेका थिए । यस घोषणाले वासिङ्टन र बेइजिङबीचको तनाव अझ बढाउने विश्लेषकहरुको भनाइ छ । ट्रम्पले यसअघि नै ५० अर्ब डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत करबृद्धि गरिसक्नुभएको छ । चीनले पनि प्रतिशोध स्वरुप अमेरिकी सोयाबिनको आपूर्तिमा करबृद्धि गरेको थियो । अमेरिकी राष्ट्रपतिका समर्थक कृषकहरुमाथि चीनको यस कदमले असर पारेको छ ।

ट्रम्प प्रशासनले करबृद्धि गरेमा बेइजिङले पनि थप ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा करबृद्धि गर्ने चेतावनी दिइसकेको छ । यदि चीनले प्रतिकार गरेमा ट्रम्पले अरु २६७ अर्ब डलर बराबरका अमेरिकी सामानमा करबृद्धि गर्ने चेतावनी दिएका छन् । यस्तो परिस्थिति आएमा कूल ५१७ अर्ब डलर बराबरका चिनियाँ सामानमा करबृद्धि हुनेछ अर्थात् चीनबाट अमेरिका प्रवेश गर्ने सबैजसो सामानमा करबृद्धि हुनेछ ।

सर्वसाधारणको प्रतिक्रिया सुनेपछि ट्रम्प प्रशासनले चीनबाट आयात हुने साइकलका हेल्मेटजस्ता केही बालसुरक्षा सामाग्रीहरुमा करबृद्धि नगर्ने जनाएको छ । एप्पल कम्पनीका स्मार्ट घडीहरु र अरु केही इलेक्ट्रोनिक्स सामानलाई पनि करबृद्धिको पछिल्लो सूचीबाट हटाइएको छ ।

यहीबीच, ट्रम्प प्रशासनले चीनसँगको मध्यस्थता वार्तालाई खुलै राखेको जनाएको छ । ‘हाम्रा सरोकारलाई सम्बोधन गर्ने चीनसँग पर्याप्त अवसर छ,’ ट्रम्पले एक विज्ञप्तिमा भनेका छन् । ‘चिनियाँ नेताहरुले अनुचित व्यापारिक तौरतरिका अन्त्य गर्न तत्काल कार्य गर्नेछन् ।’

अमेरिकी प्रविधि प्रभुत्व समाप्त गर्ने बेइजिङको महत्वाकाङ्क्षालाई लिएर दुबै मुलुकबीच सङ्घर्ष जारी छ । अमेरिकी व्यापारिक प्रतिनिधिको कार्यालयले विदेशी प्रविधि हासिल गर्न चीनले अपनाएको नीति स्वीकार्य नरहेको जनाएको छ । चीनले अपनाएका प्रमुख रणनीतिहरुमा अमेरिकी व्यापारिक गोपनीयता फुत्काउनु र चिनियाँ बजारको प्रलोभन देखाएर विशिष्ट प्रविधिहरु चीनलाई हस्तान्तरण गर्नु रहेका छन् ।

ट्रम्पले अमेरिकाको चीनसँगको व्यापार घाटा बढ्दै गएकोमा पनि चिन्ता व्यक्त गरेका छन् । गत वर्षमात्र अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँगको व्यापार घाटा ३३६ अर्ब डलर पुगेको थियो ।

चिनियाँ सामानमा भएको पछिल्लो करबृद्धिले अमेरिकी सर्वसाधारणलाई थप पीडा हुनेछ । ट्रम्प प्रशासनले घरेलु प्रयोजनका सामानमा गरेको करबृद्धिले अन्ततोगत्वा उपभोक्तामाथि नै अतिरिक्त व्ययभार थप्नेछ ।

ट्रम्पले राष्ट्रपतीय चुनावताका आयातित सामानमा करबृद्धि गर्ने र अमेरिकी कम्पनी तथा कामदारको प्रतिकूल हुने सबै व्यापारिक सम्झौताहरु रद्द गर्ने घोषणा गरेका थिए । तर विश्लेषकहरुले ट्रम्पको त्यस्तो कार्यले सफलता प्राप्त गर्न कठिन हुने बताउँदै आएका छन् ।

प्रतिकार गर्छौं – चीन

चीनले संयुक्तराज्य अमेरिकाले अर्को साताबाट लागू हुनेगरी गरेको पछिल्लो करबृद्धिको प्रतिकार गर्ने जनाएको छ ।

‘चीनसँग प्रतिकारात्मक कार्यवाही गर्नुको कुनै विकल्प छैन,’ चिनियाँ बाणिज्य मन्त्रालयले मङ्गलबार जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । तथापि यसअघि चेतावनी दिइएझैं ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा करबृद्धि गर्ने कुरा विज्ञप्तिमा उल्लेख छैन ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआङले बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा चीनले अपनाउने प्रतिकारात्मक कार्यवाहीका बारेमा उपयुक्त समयमा निर्णय लिइने बताए । उनले अमेरिकाले अपनाएको संरक्षणवादी र एकतर्फी घोषणा चीनका लागि अस्वीकार्य रहेको पारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार