स्वास्थ्य बिमामा आकर्षण

  सिलिचुङ सम्वाददाता

भोजपुर । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्र्तगत २३ औँ जिल्लाको रुपमा भोजपुरमा गत ०७४ पुष ३० गतेबाट सुरु स्वास्थ्य बिमा गर्नेको संख्यामा बृद्धि आएको छ । हालसम्म स्वास्थ्य बिमा गर्ने आठ हजार नौ सय ६० जनाबाट बढेर कुल ११ हजार आठ सय ३१ संख्या पुगेको स्वास्थ्य बिमा बोर्ड जिल्ला दर्ता भोजपुरले जनाएको छ ।
जसमा भोजपुर नगरपालिकाबाट दुई हजार सात सय ५१ जना, षडानन्द नगरपालिकाबाट एक हजार एक सय ५७ जना, साल्पासिलिछो गाउँपालिकाबाट आठ सय ८७ जना, टेम्केमैयुङ गाउँपालिकाबाट एक हजार दुई सय ८६ जना, अरुण गाउँपालिकाबाट एक हजार ५३ जना, पौवादुङमा गाउँपालिकाबाट पाँच सय ७० जना, रामप्रसाद राई गाउँपालिकाबाट नौ सय २४ जना, आमचोक गाउँपालिकाबाट एक हजार आठ सय ८३ जना र हतुवागढी गाउँपालिकाबाट एक हजार तीन सय २० जना स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड जिल्ला दर्ता भोजपुरका अधिकृत रमेश दाहालले जानकारी दिए ।
जिल्लाबाट स्वास्थ्य बिमा कार्यक्रम लागू भएदेखि हालसम्म सात सय गरिब घरपरिवारका तीन हजार सात सय ७० जनाले स्वास्थ्य बिमा गरेको र आगामी दिनमा गरिब घरपरिवारलाई परिचय पत्रको आधारमा बिमा गराईने दर्ता अधिकृत दाहालले बताए ।
जिल्लाभरका सम्पूर्ण स्वास्थ्य बिमीतहरुले जिल्ला अस्पताल भोजपुर, प्राथमिक स्वास्थ्य केन्द्र घोरेटार, प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी र प्राथमिक स्वास्थ्य केन्द्र प्याउलीबाट सेवा पाईरहेको जनाईएको छ । ‘स्वास्थ्य बिमा कार्यक्रमबाट बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक सेवाका अतिरिक्त कार्यक्रमले तोकेका निदानात्मक, परीक्षण सेवा र औषधी उपलब्ध गराउँछ ।’ दर्ता अधिकृत दाहालले भने, ‘स्वास्थ्य बिमापश्चात बिमीतले स्वास्थ्य परीक्षण, एक्स–रेका साथै पाँच सय ३० प्रकारका औषधीको सेवा पाउने व्यवस्था अनुरुप नै सेवा प्रदान गरिरहेका छौँ ।’ स्वास्थ्य बिमामा एक घरका पाँच जना बराबर करिब ५० हजार बराबरको निःशुल्क स्वास्थ्य सेवा पाउने व्यावस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार