बाबुआमाको स्मृतिमा ७५ लाखको छात्राबास

  सिलिचुङ सम्वाददाता

भोजपुर । जिल्लाको दुर्गम साल्पासिलिछो गाउँपालिका कुलुङस्थित ०१८ सालमा स्थापित विरेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत दुर्गम भेगका विद्यार्थीको सहजताका लागि स्थानीय समाजसेवी ३ दाजुभाईले आफ्ना स्वर्गीय बाबुआमाका नाममा विद्यालयलाई ७५ लाख बराबरको छात्राबास भवन हस्तान्तरण गरेका छन् ।
गत ०७३ साल फागुन १८ गते सिलान्यास गरिएको भवन स्थानीय रमेश कार्की र उनका दुई भाइ अर्जुन कार्की र विदुर कार्कीले स्वर्गीय पिता लोकबहादुर कार्की र आमा थलिमाया कार्कीको स्मृतिमा २ तले ‘लोकथली स्मृति भवन’ बनाईदिएका हुन् ।
०७२ सालको बिनाशकारी भूकम्पले ध्वस्त पारेको बिद्यालयमा पठनपाठन गर्न समस्या हुँदै आएको थियो । छात्राबास बनेपछि टाढाबाट धाउने विद्यार्थीहरुलाई सहज बनेको छ । भवनमा सञ्चालनमा हुन थालेपछि विद्यार्थीलाई सहज हुनुका साथै विभिन्न प्रयोजनका लागि पनि प्रयोग गर्न सकिने शिक्षक गोविन्द रिमालले बताए । उनले भने, ‘उहाँहरुको सहयोगी हातहरुबाट निर्मित छात्राबासले दुर्गमका टाढाटाढाबाट आउने विद्यार्थीलाई हुने सास्ती पन्छिएको छ । भौतिक संरचनाको अभाव झेल्दै आएको विद्यालयलाई कुनैबेला कार्यालयका विभिन्न प्रयोजनका लागि पनि सहज हुने भएको छ ।’
०२४ सालमा तीनै समाजसेवी तीनभाईका हजुरबुबा रणशेर कार्कीले विद्यालयका लागि साढे तीन रोपनी जग्गा निशुल्क दान गरेका थिए । पछि ०५९ सालदेखि कक्षा ११ र १२ पनि सञ्चालनमा गरिएको थियो । विद्यालयमै दुर्गममा उच्च शिक्षाको सहजता कायम गर्ने उद्देश्यले०६६ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विरेन्द्र बहुमुखी क्याम्पस समेत खोलिएको थियो । सोही बर्षदेखि भौतिक पूर्वाधारहरु जुटाएर स्नातक तहको पढाई सुरु गरेको यस क्याम्पसबाट तीन सयको संख्यामा विद्यार्थीहरुले उच्च शिक्षा पुरा गरिसकेका छन् । माध्यमिक तह र क्याम्पस तहको एउटै थलोमा पढाई हुने उक्त क्याम्पससंगै जोडिएको विरेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्मका करिब सात सयको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् ।
उक्त विद्यालयमा उत्तरी दुर्गम भेगका कुलुङ, ठोटनेरी, चौकीडाँडा, खाटाम्मा, दोभाने, नेपालेडाँडा, घलेगाउँ, जिमीगाउँ लगायतका दर्जनौँ गाउँ र छिमेकी जिल्ला संखुवासभाको सिसुवा, ताम्खु गाउँका विशेषगरि विपन्न समुदायका विद्यार्थीहरुलाई बाहिर गएर पढनुपर्ने बाध्यता हटेको छ ।
को हुन समाजसेवी रमेश कार्की
संयुक्त राष्ट्र संघमा आबद्ध कर्मचारी हुन् । अन्र्तराष्ट्रियस्तरमा शरणार्थीका लागि काम गर्ने कार्की विगत १२ वर्षदेखि सेवामा तल्लीन छन् । करिब ३ वर्षका लागि अफ्रिकी मुलुक सुडानमा कार्यरत रहँदा सन् २०१६ नोभेम्बर २८ मा त्यहाँका एक आतंकबादी समुहले उनलाई राष्ट्र संघको उच्च ओहोदाको व्यक्ति भन्दै आफ्ना मागका लागि अपहरण गरेका थिए । सुडान सरकारले उक्त आतंकवादी समुहको माग पुरा गरेपछि अपहरणको २४ दिनपश्चात कार्कीलाई रिहा गराएको थियो । स–परिवारका साथ ललितपुर बस्दै आएका कार्की गत चैत्रमा कार्की सेवाको सिलसिलामा युरोपेली राष्ट्र हंगेरीमा सेवारत रहेको उनकी श्रीमती रञ्जना कार्कीले बताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार