‘ मेरी प्रेयसीलाई ’

यो सपनाको देशबाट
रहरका अनगिन्ती फूलहरु टिपेर
तिमीलाई गीतको माला पठाईदिएको छु
राख्नु ÷राख्नु
पोल्टामा राखेको मेरो मायाजस्तै
जतन गरेर राख्नु
कहिल्यै नहराउनू ।

यतिखेर म
कंक्र्रिटको चिहानमाथि लम्पसार परेर
तिम्रो उध्रिएको पेटिकोटजस्तै छियाछिया भएको आकाश हेर्दैछु
यहाँ बिस्कुन झैं छरपस्ट विचारहरु छन्
दमको रोगी झैं खोकीरहने ट्रकहरु छन्
वान: टु को रेसियोमा पलाष्टर गरिएका मनहरु छन् ।

तर त्यहाँ त ,
शुद्घ नौनी घिउँजस्तो छुदै दाग लाग्ने हरियो गोबरले लिपेको मन
जुरेलीको मिठो लोकगीत
रातो माटोले क्षितिज पोत्तै – पोत्तै आउने बिहान ।
मेरी प्रेयसी
तिमीबिना म त्यो डाडाँमाथिको घामजस्तै एक्लो भएको छु
पहिरो गएको पहाडजस्तै खण्डहर भएको छु
म आउँछु , पक्का आउँछु
सपनीमा मनचरी भएर आउँछु
विपनीमा वनचरी भएर आउँछु
अहिलेलाई भने
यो सपनाको देशबाट
यो सपनाको देशबाट
रहरका अनगिन्ती फूलहरु टिपेर
तिमीलाई गीतको माला पठाईदिएको छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार