सामाजिक सद्भाव राख्ने किँरात राईको दशैँ

  प्रदीपचन्द्र राई

 

फायल तश्विर

भोजपुर । कुल जनसंख्याको ७२ प्रतिशतभन्दा बढि किँरात राई समुदायको बाहुल्यता रहेको भोजपुरमा किँरात राई समुदायमा नेपालीको महान चाड दशैँलाई विशेष रुपमा मनाउने गर्छन् । आफ्नो चाड नभएपनि सामाजिक सद्भाव राख्ने प्रकृतिपूजक किँरात राईहरु दहिमा चामल मिसाईएको सेतो टिका, मिष्ठान्न मासुका व्यञ्जनका साथ आफन्तजनसंग भेटघाट गरेर दशैँ मनाउने गरेका छन् ।

किँराती संस्कृति अनुरुप ‘नाक्छुङ’ (बिजुवा), ‘सुक्तुलुङ’ (राईहरुको चुला) र ‘मुन्दुम’ (किँराती धर्मग्रन्थ) संग कुनै ताल्लुक नरहेकाले दशैँलाई आफन्तजनको भेटघाटले मनाईने गरिएको हाे ।

आफ्नो मौलिकतासंग मेल नखाने भएकाले कतिपय किँरात राई समुदायले यो दशैँ मनाउँदैनन् भने पछिल्ला पुस्ताका किँरात राईहरुले आफ्नो आफन्तजनसंगको भलाकुसारी गर्ने र ठुलाको हातबाट आर्शिवाद लिने पर्वको रुपमा दशैँलाई लिने गरेका छन् । आफ्नो चाड नभएपनि शाहवंशीय राजाको पालादेखी प्रचलनमा ल्याएकाले किँरात राई समुदायले पनि यो पर्व प्रचलनमा ल्याएको यहाँका अग्रजहरु बताउँछन् ।
कुलपित्र सम्झिएर तीनचोसे चुलालाई पूज्ने किँरात राईहरुको मुख्य पर्व साकेला ‘चण्डी’ लाई आफ्नो पारम्पारिक धार्मिक मुल्यमान्यता अनुसार धुमधामका साथ मनाउने गरेपनि दशैँलाई विशेष ग्राहयता भने दिदैनन् । किँराती संस्कृति अनुरुप ‘नाक्छुङ’ (बिजुवा), ‘सुक्तुलुङ’ (राईहरुको चुला) र ‘मुन्दुम’ (किँराती धर्मग्रन्थ) संग कुनै ताल्लुक नरहेकाले दशैँलाई आफन्तजनको भेटघाटले मनाईने गरिएको कुलपुजक टिकाराम राई बताउँछन् । उनी भन्छन्, ‘दशैँ हामी राईहरुको पर्व हैन । किनकी यो हाम्रो सँस्कारसंग कुनै मेल खाँदैन । हामी भुमिपूजक राईहरुको सँस्कार सँस्कृति भनेको साकेला हो ।’


रातो टिकालाई क्रान्ति र रगतले पोतिएको भन्दै नस्विकार्ने किँरात राई समुदायले दशैँमा सेतो टिका लगाउने गर्छन् । किँरात राई समुदायका मानिसहरु सेतो टिका लगाएर मिष्ठान्न परिकारका साथ परिवार, आफन्तजनसंग रमाईलो गरेर यो पर्व मनाउने गर्छन् । साकेला पर्वलाई आफ्नो प्रधानता दिने किँरात राईहरु कार्यव्यस्तताका कारण अन्यबेलाभन्दा दशैँका बेला धेरै छुट्टि मिल्ने भएकाले सबै टाढा रहेका, छुटेका आफन्तजनसंग रमाईलो जमघट हुने भएकाले यो पर्व मनाउँदै आएको स्थानीय सन्तोष राईले सुनाए । ‘दशैँमा लामो विदा मिल्छ । यतिबेलै हो आफ्नो परिवार, आफन्तजन, ईष्टमित्रसंग भेटघाट गर्ने, रमाईलो गर्ने ।’ उनले भने ।


असत्यमाथि सत्यको विजयलाई प्रतिक मानेर दशैँ मान्ने हिन्दु धर्मअनुसार किँरात राईहरु अन्य हिन्दु समुदायमा जस्तो हर्षउल्लासका साथ मनाउने गर्दैनन् । आफ्नो प्रकृतिलाई आफ्नो धर्म, संस्कारको मान्यता दिने किँरात राईहरु दशैँलाई छोरीचेली र आफन्तजनसंगको भेटघाटका लागि विशेष ग्राहयता दिने गर्छन् । विशुद्ध किँराती समुदायले प्रकृति र आफ्ना भुमिपुजक पुर्खाहरुको मुल्यमान्यता आत्मसाथ गरेको पाईन्छ । किँरात राईहरुले सामाजिक रुपमा दशैँलाई ठुलाबडाको आर्शिवाद र आफन्तजनसंगको भेटघाटलाई प्राथमिकता दिईने भएको दशँै मनाउने प्रचलनमा ल्याईएको किँरात राई यायोख्खाका अध्यक्ष सिर्जना राईको भनाई छ । उनले समाजमा रहँदा एकआपसमा धार्मिक सहिष्णुता कायम होस् भन्ने भावनाले किँरात राईहरुले पनि दशैँ मनाउने गरेको बताईन् ।
वर्षौँदखि चलिआएको हनुमानढोकास्थित गोर्खाबाट केराको पात र अदुवा ल्याएर बाजागाजासहित हरेकवर्ष घटस्थापनाको दिन जमरा राखी दशैँको औपचारिक सुरुवात गर्दा आदीबासी जनजाती मतुवाली समुदायको नै दशैँ आफ्नो चाड हुन सक्ने किँरात सँस्कृतविद् एबम् भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापक कमलजंग राईको तर्क छ । उनले तर्क गरे, ‘हामी आदीबासी जनजाती मतुवालीले मात्र कुलपित्रदेखि अदुवा र केराको पात सँस्कारमा ल्याउँछौ । हनुमानढोकामा पनि मगरहरुले नै जमरा राख्छन् । यसैले दशैँ पर्व कहिँकर्त हाम्रै पर्व पो होकी भन्ने भान हुन्छ ।’
एकातिर जमरा राख्ने अर्कोतिर देवी दुर्गाको सम्मानमा मनाईने यो दशैँ आदीबासी जनजातीको पर्व हुनसक्ने सँस्कृतविद् राईले तर्क थप्छन् । ‘देवी दुर्गालाई एक नारी एक महिलाको शक्तिको रुपमा मानिन्छ । यसैले यो पर्वको अर्को अर्थ नारीको सम्मान गर्नुपर्छ भन्ने पनि हो । अन्य जातीलेभन्दा हामी मतुवाली समुदायले नारीलाई विशेष महत्व दिने गछौँ ।’ उनले भने, ‘हामीले नाँच्ने साकेलादेखी कुलपित्रसम्म मुख्य ग्राहयता हामी छोरी चेलीलाई दिने भएकाले नारीको सम्मान गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार