पर्यटकलाई तान्दैछ भोजपुरको ऐतिहासिक हतुवागढी

  सिलिचुङ समाचारदाता

भोजपुर । जिल्लाको दक्षिणी घोडेटार बजारको प्राचीन गढीले यति वेला पर्यटकको घुम्ने थलो बनेको छ । दशै तिहारकोको विदामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो ।


हतुवागढी गाउँपालिकाको वडा नम्बर १ मा रहेको हतुवागढी नेपाली सेनाको ब्यारेकभित्र छ । माओवादीको युद्धकालमा बसेको नेपाली सेनाको ब्यारेक अहिले पनि गढीभित्रै बसिरहेको छ । ब्याारेकमै भए पनि नेपाली सेनाले आगन्तुकलाई गढीसम्म जान भने दिन्छ । श्री रणबम गणका क्याप्टेन धर्म राईका अनुसार स्थानीयहरूलाई १ नम्बर गेटबाट गढीमा जान दिइन्छ ।

कतिपयले गढीबाट नेपाली सेना हटाउनुपर्ने र कतिपयले गढी नै हटाउनुपर्ने माग पनि गरेका छन् । यी दुवै नभएर गढी र ब्यारेक दुवैलाई असहज नहुने बाटोमा निर्णय लिनुपर्ने गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई बताउँछन् ।
हतुवागढीमा हाल औसतमा दैनिक ३० जना आगन्तुक आउने नेपाली सेनाको भनाइ छ । गढी भएको वडाका वडाध्यक्ष कुमार विष्टका अनुसार गढीमा आउने आगन्तुकको हालसम्म कुनै रेकर्ड राख्ने गरिएको छैन । अब भने राख्ने तयारी भएको विष्ट बताउँछन् । उनी भन्छन्, ‘ड्युटीमा रहेका सैनिकबाटै रेकर्ड लिने गरी सेनासँग कुरा भएको छ ।’

भ्यु टावर र सिँढी बनाएपछि हतुवागढीको आकर्षण बढ्यो
हतुवागढी पुग्न घोडेटार बजारबाट ढुङ्गाका सिँढीहरू उक्लनु पर्छ । १ सय ८३ वटा सिँढी उक्लेपछि माथिबाट बजारलाई प्राकृतिक टावरबाट देख्न सकिन्छ । त्यसलाई घोडेटार भ्यु टावर भनिएको छ । यो प्राकृतिक टावर बनाउन स्थानीय तहले साढे ३ लाख हाराहारी बजेट खर्चेको वडाध्यक्ष कुमार विष्ट बताउँछन् ।

आकर्षक सिँढी र घोडेटार भ्यु टावर बनाएसँगै हतुवागढीको आकर्षण थपिएको स्थानीय सम्झना भुजेलले बताइन् । उनले भनिन्, ‘टावर र सिँढीले सेल्फी प्वाइन्ट बढेका छन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार