भोजपुरमा उद्योग वाणिज्य संघको चुनावी सरगर्मी

  सिलिचुङ सम्वाददाता

भोजपुर । भोजपुर सदरमुकाममा उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेको छ । भोली कार्तिक ३० गते हुने संघको १० औँ अधिवेशनका लागि चुनावी उम्मेदवारहरुको रस्साकस्सी बढेको हो । संघको आउँदो नयाँ कार्यसमितीको नेतृत्वमा कस्ले जित्ला भन्नेको बजारबासीको कौतुहलता पनि त्यतिक्कै छ ।


संघको गतभदौ २५ गतेभित्र सबै उद्योगी, व्यवसायीलाई नविकरण सकेर कार्यसमितीको बैठकले कार्तिक ३० मा अधिवेशन गर्ने मिती तय गरेको थियो । संघले तोकेको मितीभित्र ५१ प्रतिशत संघमा आबद्ध सदस्य, पान नम्बरवाला उद्योगी, व्यवासायीले नविकरण गरेपश्चात अधिवेशन गराउने प्रावधान छ । चुनावमा होमिएका उम्मेदवारहरु यतिबेला बजारका सबै पाननम्बर दर्ता गराएको उद्योगी, व्यवसायी, होटल, पसल, संस्थाहरुमा भोटका लागि दैलो घचघच्याउन पुगेका छन् ।
प्रत्याशी उम्मेदवारहरु आ–आफ्ना एजेण्डा लिएर घरदैलोमा भ्याईनभ्याई देखिएका छन् । नयाँ नेतृत्वको लागि उम्मेदवारहरु उद्योगी, व्यवासायीहरुको हितमा काम गर्ने भन्दै हरेक घरदैलोमा आ–आफ्नो प्रतिबद्धता प्रस्तुत गर्दै हिँडेका छन् । हिजोआज विहान, दिउँसै संघका नयाँ नेतृत्व चयनको चर्चापरिचर्चा गर्ने प्रत्येक चौक, गल्ली, चियापसल, होटल, सार्वजनिक स्थलमा मानिसहरुको झुण्डहरु भेटिन्छन् । ‘हाम्रो हितमा काम गर्नेलाई मात्र भोट दिने हो । सरकारले लगाएको करले सर्वसाधार मारमा परेका छ , नयाँ नेतृत्वले हामीलाई राहत देला कि भन्ने सोच छ ।’ स्थानीय किराना व्यावसायी विनोद श्रेष्ठले भने, ‘अहिले के गर्छ भनि आएका छन्, चुनावपछि नेताहरु जस्तै हुने हुन् कि । केहि भन्न सकिन्न ।’
यता संघका पूर्व अध्यक्ष डम्बर श्रेष्ठले चुनावलाई स्वच्छ, स्वतन्त्र ढंगले सम्पन्नगर्नुपर्ने बताएका छन् । उनी भन्छन्, ‘चुनावमा अन्य पार्टीको चुनाव जस्तो हुनु हुन्न भन्ने मेरो धारणा हो । राजनीतिकरणले बनेको नेतृत्वमा संघको काम कहिल्यै स्फूर्त तरिकाले अघि बढ्न सक्दैन ।’ अध्यक्षका लागि प्रत्याशी उम्मेदवार रहेका ध्रुवलाल श्रेष्ठ र रामचन्द्र श्रेष्ठविच चुनावी प्रतिस्पर्धालाई रोमाञ्चक रुपले हेरिएको छ ।
प्रत्याशी उम्मेदवार रामचन्द्र श्रेष्ठ ०५२ सालमा दर्ता भएको भोजपुर उद्योग वाणिज्य संघको स्थापनाकाल देखि नै जिल्ला कार्यसमितीको संस्थापक सचिवको पदमा थिए भने अर्का प्रत्याशी उम्मेदवार ध्रुवालाल श्रेष्ठ ०६१ सालमा कार्यसमितीको कोषाध्यक्ष, ०६७ सालमा प्रथम उपाध्यक्ष र ०७१ सालदेखि हालसम्म पुनःउपाध्यक्ष पदमा थिए । दुवै उम्मेदवार आफुलाई जिताउन यतिबेला बजारबासीको घरघर चाहर्न पुगेका छन् । चुनावका लागि करिब १२ सय मतदाताको मतदान रहने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार