भाेजपुरमा भाईटिकाकै दिन दिदीको हत्या गर्ने भाई पक्राउ

  सिलिचुङ सम्वाददाता

भोजपुर । भाईटिकाकै दिन आफ्नै दिदीलाई काठको फल्याक प्रहार गरी हत्या गर्ने आरोपी भाई पक्राउ परेका छन् । रामप्रसाद राई गाउँपालिका ७, बासीखोराका ४५ बर्षिय सुमन राईले आफ्नै दिदी ४७ वर्षिया सरिता राईको हत्या गरेको खुल्न आएको हो ।


गत कार्तिक २३ अर्थात भाईटिकाकै दिन साँझ करिब पौने ६ बजेतिर आन्तरिक विवाद बढेपछि सुमनले दिदी सरिताको टाउकोमा काठको फल्याकले प्रहार गरी हत्या गरेको आरोपी सुमनले प्रहरी समक्ष स्विकारेका छन् ।

भाईटिकाका दिन गाउँमै अन्य दिदीहरु यशोदा र रुपाको हातबाट भाईटिका लगाई दिउँसो गाउँमा रमाईलो गर्न गएका सुमन घर आउन ढिला गरेको भन्दै दिदी सरिताले गाली गरेपछि आक्रोशमा आएर घर नजिकै रहेको काठको फल्याकले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुर सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए ।
फल्याक प्रहारबाट सरिताको टाउकोको बायाँ भागमा लागेर क्षतविक्षत भएपछि उनको घटनास्थलमै मृत्यू भएको प्रहरीको भनाई छ । घटनाको अनुसन्धानपश्चात ६ दिनपछि गत बिहीबार आरोपीत राईलाई प्रहरी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पक्राउ परेका राईलाई जिल्ला अदालत भोजपुरबाट प्रहरी हिरासतमा राखी अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार