अल्ट्राधाविक मीरालाई पछ्याउँदै ‘भोजपुर रन’

  सिलिचुङ समाचारदाता

भोजपुर । सानै उमेरमा दौडिन अब्बल भोजपुर बजारका १० वर्षीय विशेष मगरको सपना पनि अल्ट्राधाविक मीरा राई जस्तै च्याम्पियन बन्ने छ । मगर विहान झिसमिसे उठेर टुँडिखेल पुग्छन् । यसका कारण उनको स्वास्थ्य पहिलेभन्दा राम्रो भएको छ । उनी शारीरिक रूपमा तन्दुरुत देखिन्छन् ।


जिल्लामा पहिलोपटक २०७३ माघ १२ बाट सञ्चालन भएको भोजपुर रनले बालबालिकादेखि उमेर ढल्कँदै गएकालाई समेत खुशी बनाएको छ । चार किलोमिटरको दौडमा शारीरिक रूपमा आफूलाई स्फूर्त राख्न सदरमुकामका ४० वर्ष उमेरभन्दा माथिका समेत दौड्ने गर्छन् ।
नियमित रूपमा दौडँदा बढ्दो मोटोपन घटाउनुका साथै श्वासप्रश्वासको समस्या हुनेलाई पनि निकै सहयोग पुगेको छ । ‘मानिसलाई शारीरिक रूपमा तन्दुरुस्त रहन पनि दौड आवश्यक छ’, विष्णुकुमारी राईले बताइन् । राईले भन्नुभयो, नियमित दौडदा शरिरको समेत तौल मेरो घटेको छ ।
पौवादुम्मा गाउँपालिका–५ सानोदुङ्मामा जन्मिएका अल्ट्रा धाविका मीरा राई पछिल्लो समय युवापुस्ताका लागि ‘आइडल’ बनेकी छन् । भोजपुरे चेलीको त्यो यात्रालाई सम्मान गर्दै रिमाचुङ एजुकेसन एन्ड स्पोर्टस् एकेडेमीले प्रत्येक साता भोजपुर रन आयोजना गर्दै आएको छ ।
४.७७ किलोमिटरको भोजपुर रनमा उमेर ढल्कँदै गरेकाहरू पनि सहभागी हुन थालेका छन् । भोजपुर रनको एक सय हप्ता चलिरहँदा दौडले मीरा राईको पदचाप पछ्याउने बालधावकहरू बढी उत्साहित देखिन्छन् । टुँडिखेलबाट डाँडागाउँ, जिरो प्वाइन्ट, टक्सार, पोखरे र काफ्ले पानीट्यांकी हुँदै भोजपुर रनको परिक्रमा हुने गर्छ । भोजपुर सदरमुकाम परिक्रमा गरिने भएकै कारण यसको नाम भोजपुर रन राखिएको हो ।
स्वस्थ तथा अनुशासित समाज निर्माण भए मात्र राष्ट्र बन्ने भएकाले दौडलाई प्राथमिकतामा राखिएको एकेडेमीका सचिव संग्राम राईले बताए । ‘युवापुस्तालाई कुलतमा फस्ने समयमा दौडमा व्यस्त बनाउँदा समाजमा विकृति फैलन पाउँदैन । उनीहरू स्वस्थ पनि रहन्छन्’, उनले भने ।
दौडलाई निरन्तरता दिइने बताउँदै एकेडेमीका अध्यक्ष पाविहाङ राईले स्वस्थ नागरिक निर्माण गर्ने लक्ष्य रहेको बताए । उनले दौडमार्फत खेलकुदको आधारशीला तयार हुने पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार