विद्यालय पुनर्निर्माणमा प्राविधिकलाई कमिसन

  सिलिचुङ समाचारदाता

भोजपुर । जिल्लामा भुकम्पबाट क्षति ग्रस्त भएका विद्यालयको भवन पुन निर्माणको लागि कमिसन मागेको खुलेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्राविधिक तथा कर्मचारीले १० प्रतिशत कमिसन मागेपछि विद्यालयले भवन नपाएको गुनासो गरेका छन् ।
षडानन्द नगरपालिका–३ खार्तम्छाका खार्तम्छा माविमा प्राविधिकले भवन बनाउने कामदार र मिस्त्रिहरु तराईबाट ल्याउनुपर्ने भन्दै अड्को थापेपछि काम केही दिन काम अवरुद्ध भएको थियो । भूकम्प प्रतिरोधी भवन निर्माणका लागि तालिम प्राप्त कामदारहरु स्थानीयस्तरमै हुँदाहुँदै वाहिरबाट कर्मचारीको स्वार्थमा कामदार वोलाइएको उपप्रमुख मेरिका राईले बताउनुभयो ।
उपप्रमुख राईले भन्नुभयो ‘कमिसन बुझाउनुपर्ने कामदारहरु प्राविधिकको स्वार्थ अनुरुप लगाउनुपर्ने जस्ता कुराहरु हामी कहाँ आएको छ, मैले सम्बन्धित निकायमा समेत जानकारी गराएको छु ।’
सावित्रा मावि षडानन्द नगरपालिका कुदाककाउले कमिसन दिन नसक्ने भनेपछि भवनको योजना नपरेको प्रधानाध्यापक कुशल बस्नेत बताउँछन् । सर्वे गर्ने क्रममा सबै कागजात पेश गरिएको थियो तर पछि कमिसनमा कुरा नमिलेपछि भवन नपरेको गुनासो छ ।
‘हामीसँग वजेटको १० प्रतिशत कमिसन प्राविधिक र कार्यालयलाई दिनुपर्ने भनेपछि आफू एक्लैले निर्णय गर्न नसक्ने, व्यवस्थापन समितिमा कुरा राख्नुपर्ने भनेपछि भवन परेना’ वस्नेतले बताउनुभयो ।
जिल्ला पूर्वाधार कार्यालय भोजपुरका प्रमुख इन्जिनियर राजनराज रेड्डीले फिल्डमा प्राविधिकहरुले गुणस्तरीय काम खोज्ने क्रममा भवनको काम जान्ने मिस्त्रीको कुरा गरेको हुनसक्ने बताउनुभयो । रेड्डीले भन्नुभयो, कमिसनको कुरा गलत भएको दावी गर्नुभएको छ । ‘म मेरा मातहतका कर्मचारीहरुलाई सचेत पार्छु’ ।

जिल्ला शिक्षा इकाइका जिल्ला प्रमुख मानबहादुर देवकोटाले आफूकहाँ पनि केही गुनासो आए पनि आधिकारिक रुपमा भवन पुनर्निर्माणका लागि समन्वय नभएकाले थाहा नभएको बताए । ‘योजना छनोट, व्यवस्थापनलगायतको प्रक्रियामा केही समन्वय छैन माथिबाट पनि केही आएको छैन उहाँहरु आफैंले गर्दै हुनुहुन्छ’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार