उपचार गर्न नसकेर मृत्युको मुखमा पुगेका बिरामीका लागि ‘भगवान’ बन्दै डा.शर्मा (भिडियोसहित)

  सिलिचुङ समाचारदाता

विराटनगर। गाला भित्र निस्किएको ट्यूमर बढ्दै गएर घाउमा किरा पर्दासमेत उपचार गर्न नसकी पीडाले तड्पिन बाध्य थिए मोरङको पथरीशनिश्चरेका चन्द्रबहादुर राई । पैसा नभएकै कारण उपचार गर्न नसक्दा थलिएर मृत्युको मुखमा पुगेका ४४ बर्षीय राईका लागि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा ‘भगवान’ सरह बने । घाउमा स्याँउस्याँउती किरा परेर दुर्गन्धित भई छेउछाउमा मान्छे जानै छोडिसकेका बेला डा.शर्मा बेसहारा राईको पीडामा मलम लगाउन पुगे । छोराछोरी र श्रीमतीलेसमेत माया मारेर छोडिसकेका राईलाई डा.शर्माले उद्धार गरी सम्पूर्ण खर्च बेहोरेर अहिले नोबेल अस्पतालमा उपचार गराईरहेका छन् । ‘बाँच्छु भन्ने आशा थिएन । यत्तिकै कुहिएर मर्छु भनेर हरेस खाईसकेको थिए ।’ पीडा सुनाउँदै उनी भन्छन् ‘नसोचेको साथ मिल्यो । सुनिल सर मेरा लागि भगवान बन्नुभयो । अब बाँच्ने आशा जागेको छ ।’

चन्द्रबहादुरको जस्तै दर्दनाक अवस्थामा तड्पिरहेका सुन्दरहरैचाका प्रकाश पौडेलको पीडा पनि कम छैन । थोत्रे काटुन र पानीको वोतल भेला गरेर बिक्रि गरी जिविका चलाउँदै आएका पौडेलको अनुहारसहित हात, खुट्टामा घाउ निस्किएर बढ्दै गई स्याँउस्याँउ किरा परे । उपचार गर्न र पीडा सहन दुबै नसक्दा बिस खाएर मर्ने योजना बनाईसकेका पौडेललाई डा.सुनिल शर्माले साथ दिएपछि अहिले उनमा नयाँ उमंग पलाएको छ । ‘नर्कमा थिए, अहिले स्वर्गमा आईपुगे जस्तो भएको छ । मलाई बचाउँने सुनिल सरलाई भगवान मान्छु ।’ उनले भने । ७ बर्षको हुँदा आतंकवादी समुहले अाँखै अगाडी वावु–आमा र भाईको हत्या गरेपछि टुहुरो बनेका ३५ बर्षीय पौडेल दुई छाक टार्न संघर्ष गर्दै आए । तर, घाउको पीडाका कारण काम गर्न नसकेपछि सडकमा मागेर खाँदै आएका उनलाई डा.शर्माले उठाएर निःशुल्क उपचारका लागि नोबेल ल्याएका हुन् ।

चन्द्रबहादुर र प्रकाश मात्र हैन उनीहरु जस्ता हजारौं विपन्न र बेसहारा बिरामीलाई डा.शर्माले खोजी–खोजी निःशुल्क उपचार गर्दै आएका छन् । आपतमा परेका बिरामीको खोजिका लागि दैनिक रुपमा मोरङका गाउँ–गाउँ पुग्दै आएका डा.शर्माले हजारौं बिरामीलाई सम्पूर्ण खर्च बेहोरेर निःशुल्क उपचार गरिसकेका छन् । अति विपन्न बिरामीलाई डा.शर्माले अस्पताल ल्याएर औषधि, उपचारसँगै खाना, खाजा पनि उपलब्ध गराई निको भएपछि पुनः घरमै पुर्याईदिने गरेका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ मा कांग्रेसको तर्फबाट उम्मेदवारसमेत रहेका समाजसेवी डा.शर्माले चुनाव अघि देखिनै यो अभियानलाई जारी राखेका हुन् । ‘समस्यामा परेका बेला सहयोग गर्नु मानवीय कर्तव्य हो ।’ डा.शर्मा भन्छन् ‘मैले सकुञ्जेल र बाँचुञ्जेलसम्म यो अभियान रोकिदैन ।’ राजनीतिभन्दा माथि उठेर समाजसेवामा सक्रिय डा.शर्माले पार्टी र क्षेत्र भन्दा पनि बिरामीको आर्थिक अवस्था मूल्यांकन गरेर सहयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार