Loading…

भाेजपुरमा पुख्र्याैली पेशामा रमाउदैँ नरमान

भोजपुर । भोजपुर नगरपालिका टक्सार दारेगौँडाका ५१ वर्षिय नरमान सार्कीलाई खेतीपातीले मात्र एकछाक टार्न पुग्दैन । उनलाई परिवारको विहानबेलुकीको हातमुख जोर्न ज्यालामजदुर वा मेलापात गर्नुपर्छ । तर पुर्खौँदेखिको घरेलु मुढा बनाउने पेशाले एकछाक मात्र नभई बालबच्चाको पढाई खर्चसम्म आरामले धानेको छ ।


नरमान र उनकी श्रीमती मिलेर मुढा बनाउने गर्छन् । करिब ८ किलोमिटर दुरीमा रहेको सदरमुकामस्थित मासु पसलहरुबाट राँगाभैँसीको छाला ल्याएर मुढा बुन्ने गर्छन् । दुई दम्पती मिलेर छाला सुकाउने, ढडाउने, बाँस काट्ने, लठ्ठीहरु ताछ्ने, बनाउने र मुढा बुन्ने गर्छन् । एकहप्तामा उनीहरुले करिब २० वटाभन्दा बढि मुढाहरु तयारी गरेर सदरमुकाम, हटिया, माग अनुसारको दोकानहरु लैजाने गर्छन् ।
मुढाबाट राम्रो आम्दानी गर्ने नरमानले यहि पेशाबाट ८ जनाको जन र छोरीहरुको पढाई खर्च धानेको सुनाउँछन् । ‘खेतीपाती गरौँ भने खेतीपातीले एकछेउ पनि धान्दैन । अर्काकै मजदुरी गर्नुपर्छ, मेलापात गर्नुपर्छ ।’ उनले भने, ‘बाबुबाजेकै पालाको यहि मुढा बनाउने पेशाले छोराछोरीको पढाई खर्च आरामले टारेको छु ।’
मुढाका लागि आवश्यक छालाहरु नरमानले बजारका मासु पसलैबाट ६ सय रुपैँयामा ठेक्कामा लिने गर्छन् । एउटा राँगाभैँसीको छालाबाट ७ वटासम्म मुढा बनाउन सकिने नरमानले सुनाए । स्थानीय बजारमा प्रतिगोटा २ सय ५० देखि ३ सय रुपैँयासम्म विक्रि हुने मुढा बेचेरै नरमानले मासिक २० हजारसम्म आम्दानी गर्ने गरेको सुनाउँछन् ।
कृषि पेशा गर्न प्रशस्ती जग्गा र आम्दानीका अन्य श्रोत नभएपछि त्यहि पुख्र्यौली पेशालाई नै अंगालेका सार्की दम्पतीले मुढा बेचेरै १८ वर्षिया छोरीलाई कलेज पढाएका छन् । घरमै बसेर आरामले मुढा तयारी गर्दा घरमै पनि अर्डर हने गरेको छ । राम्रो आम्दानी भएपछि खेतीपातीको अलावा पनि पुख्र्यौली पेशाले नरमानको परिवारलाई मनग्गे सन्तुष्ट दिएको छ । घरमै बसीबसी आरामले बनाईने मुढाको काम अन्यभन्दा सहज भएको सुनाउँदै नरमानकी श्रीमती ईन्दिरा सार्कीले कामप्रति सन्तुष्टि रहेको सुनाईन् ।
घरेलु तथा साना उद्योगबाट कुनै किसीमको कार्यक्रम, तालिम र अनुदानको व्यवस्था नभएको नरमान गुनासो गर्छन् । ‘यो पेशामा प्रोत्साहन गराउने किसीमको न कुनै तालिम छ न कुनै अनुदान । भएकाहरुले पनि चासो दिँदैनन् ।’ नरमानले भने । मुढा पेशासंगै नरमानले आफ्नो ३ रोपनी जग्गामा व्यवस्थित ब्रोईलर कुखुरा पालन गरेका छन् । आम्दानीका लागि पारम्पारिक खेतीपातीमा भन्दा व्यावसायिक विकल्पको रुपमा मुढा र ब्रोईलर पालन रोजेको ईन्दिराले सुनाईन् ।
पछिल्लो पुस्तामा एकादुई घरले मुढा बनाउने गरेपनि अधिकांशले यो पेशा छोडिसकेको स्थानीय विमल रणपहेँली सुनाउँछन् । बढ्दो वैदेशिक रोजगारी र विलासीपनले मुढा बनाउने टक्सारका ६÷७ घरमध्ये नरमान सार्कीले मात्र यो पेशा गर्ने गरेका छन् । नयाँपुस्तामा मुढा बनाउने पेशाप्रति चासो घट्दै गएको टक्सारकै अर्का स्थानीय दिपेश उदास बताउँछन् । भन्छन्, ‘मुढा बनाउने पेशालाई फोहोरी काम, लाजमर्दो काम भनेर उपेक्षा गर्छन् । जसले भविष्यमा मौलिकता बोकेको पेशा लोप होला भन्न सकिन्न ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार