Loading…

आधुनिक कुटानीपिसानी मिलले ढिकीजाँतो लोप हुँदै

भोजपुर । आधुनिक बिजुली, तेलबाट चल्ने प्रविधिमा आश्रित हुने थालेपछि गाउँघरमा रहेका अन्न कुट्ने परम्परागत ढिकीजाँतो संकटमा पर्दै गएका छन् । नयाँ प्रविधिको कुटानी पिसानी मिल दुर्गम गाउँगाउँसम्म भित्रिएपछि गाउँका ढिकीजाँतो क्रमशः लोपन्मुख बन्दै गएका हुन् ।


थोरै अन्न पिस्न घण्टौ लगाएर ढिकीजाँतो गर्नुपर्ने झण्झटको सट्टा सस्तो दरमै मिलमा अन्न सजिलै छिनभरमा पिसिदिने भएपछि परम्परागत प्रविधिको प्रयोग हराउँदै गएको हो । पहिले गाउँमा चिउरा, धान, गहुँ, कोदो, र पिठोका लागि ढिकी जाँतो प्रयोग हुने गथ्र्यो । तर अत्याधुनिक प्रविधिले परम्परागत ढिकी जाँतो कमै रुपमा प्रयोगमा हुन थालेपछि त्यसै थन्किन थालेको टक्सार दारेगाँैडाकी ५१ वर्षिया फुलमाया तामाङले सुनाईन् ।
‘१५÷१६ वर्षअघिसम्म मात्र विहानै रातीदेखि नै घण्टौसम्म अन्न कुट्न ढिकीजाँतो गर्नुपथ्र्यो । तर गाउँमै डिजेलले चल्ने मिल आएपछि ढिकीजाँतोमा कुट्न छाडियो ।’ उनले भनिन्, ‘मिलमा ढिकीजाँतोमा जस्तो घण्टौ बस्नुपर्दैन । प्रतिकिलोको हिसाबले ज्याला दिएपछि छिनभरमै अन्न पिसिदिन्छ । अहिले सजिलो छ ।’
घर नजिकै डिजेल र बिजुलीले चल्ने कुटानीपिसानी मिल सञ्चालनमा आएपछि राम प्रसाद राई गाउँपालिका मानेभञ्ज्याङकी ७६ वर्षीय हर्किमाया तामाङले त झन साँघुरो बनेको घरमा ढिकी नै उखलेर फ्याँकिसकेकी छन् । करिब ९ वर्ष अघि नै उनले मिल आएपछि बेकाम बनको ढिकी नै उखेलेको बताईन् । ‘घरबाट मिल पुग्न २ मिनेट पनि लाग्दैन । एकैछिनमा ख्वार्रर पिसीदिन्छ ।’ उनी भन्छिन्, ‘मिलको चलनले ढिकीमा हल्लिरहन पनि परेन, साँघुरो घरको सिकुवामा पनि घाँडो बनेको थ्यो । उखाली पो दिएँ ।’
पहिलेपहिले गाउँका मानिसहरु वर्खायाममा खेतबारी खनजोत गर्नु, अन्न लगाउनु, रोप्नुपर्ने समयमाभन्दा हिउँदयाममा भने निकै फुर्सदिला हुन्थे । गाउँलेहरु एकै ठाउँमा भेला भएर पालैपालो एउटै ढिकीजाँतोमा अन्न कुट्ने गर्दथे । आधुनिक कुटानीपिसानी मिलले समय र श्रमको बचत हुने भएपछि दिनानुदिन क्रमिक रुपमा ढिकीजाँतोको प्रयोग कम हुन थालेको भोजपुर बोखिमकी ४९ वर्षिया देवीकला न्यौपाने बताउँछिन् । भन्छिन्, ‘मिलमा एकैछिनमा अन्न पिसिदिन्छ । ढिकीमा घण्टौसम्म कुट्दा पनि पालो पाईन्न । मिल आएपछि समय र श्रम दुवैको बचत भा’को छ ।’
बढ्दो आधुनिक प्रविधिको आकर्षण र प्रयोजनले गर्दा परम्परागत गाउँघरका ढिकीजाँतो लोप हुने क्रममा रहेको घरेलु तथा साना उद्योग विकास समिति भोजपुरका बरिष्ठ उद्योग अधिकृत चेतनाथ गौतमले बताए । उनले अत्याधुनिक प्रविधिको विगविगी कुनाकुनाका गाउँसम्म पुगेपछि ढिकीजाँतो जस्ता परम्परागत शैली र पहिचान ओझेल बन्दै गएको बताए । घरेलु तथा साना उद्योग विकास समिति भोजपुरको तथ्याङ अनुसार हाल जिल्लाभर एक सय ८२ वटा कुटानीपिसानी मिलहरु सञ्चालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार