Loading…

धुलाम्मे सडकले सर्वसाधरण हैरान, रुघाखोकीको प्रमुख कारण सडकको धुलो

  प्रदीपचन्द्र राई

जिल्लाभित्रका धुलाम्मे सडकखण्डमा गुड्ने सवारीहरु । तश्विर/प्रदीपचन्द्र राई

 

भोजपुर । बर्षातमा हिलो र हिउँदमा धुलोको सास्ती खेप्ने सर्वसाधरणलाई पहाडमा कच्चि सडकको कष्टकर यात्रा नौलो होईन । हिँउद सुरु भएसंगै समयमै कालोपत्रे नभएका जिल्ला बाहिरभित्रका मुख्य सडकखण्ड, कच्ची सडकहरु यतिबेला धुलाम्मे बनेको छ । जसले दिनहुँ सयौँको संख्यामा भोजपुरदेखि धरान, विराटनगर, काठमाडौँ आउजाउ गर्ने यात्रुलाई सास्ती हुने गरेको छ ।
धनकुटा जोड्ने ६६ किलोमिटर भोजपुर–लेगुवा सडकखण्ड र खोटाङ जोड्ने ४२ किलोमिटर पुष्पलाल मध्य पहाडी लोकमार्गको स्तरोन्नती काम तिव्रता पाएपनि धुलोको त्रास भने कम भएको छैन । मुख्य सडकखण्डबाहेक अन्य जिल्लाभित्र सदरमुकाम जोड्ने सडक सञ्जालहरुको हालत भने त्यो भन्दा कयौँ गुणा नाजुक छ । विशेषगरि कच्चि सडकको यात्रामा निक्लिएका सर्वसाधरणहरु घर पुग्दा सडकको धुलोले नचिनिने हुन्छन् ।
‘घर जानलाई गाडी चढ्यो घर पुग्दा मान्छे चिनिनसक्नु हुन्छ । वर्षायाममा हिलोले बाटोमा कुनै गाडी नै चल्दैन, हिउँदमा जिउ नै दुख्नेगरि दुःखसुख गाडी चल्ने बाटो भएपनि धुलोले गाह्रो बनाउँछ । जे गरेनि सुख छैन ।’ भोजपुर नगरपालिका ११, आम्तेकका पंकज ओझाले सुनाए ।
पंकज ओझा जस्तै कयौँ गाडीमा यात्रा गर्ने सर्वसाधरणहरुको हालत पनि उस्तै छ । सडक नै नदेखिने गरेर उडेको हानिकारक बाक्लो धुलो गाडीभित्रै गुम्सिने भएपछि बिहान स्वस्थ्य हिँडेको मानिस बेलुकी घर पुग्दा रुघाखोकी उपहार लिएर पुग्छन् । गाडीमा यात्रा गर्दा बाटोको धुलोले स्वास्थ्यलाई पनि हानी र लगाएको कपडा पनि धुलोमैलो भएर हेरिनसक्नु हुने सुनाउँदै च्याङ्ग्रेका मोहन दुरालले भने, ‘यात्रा नगरौँ कामले घर पुग्नुपरेको छ । चढौँ विरामी भईएला भन्ने डर । तर पनि मर्नुभन्दा बहुलाउनै बेश भने झैँ यात्रा गर्नु परेको छ ।’
गत साउन, भदौ महिनामा जिल्लाको एकमात्र टक्सार विमानस्थलमा हवाई उडान अवरुद्ध थियो । दशैँको मुखमा हवाई उडान सुचारु भएपनि विभिन्न कारण देखाउँदै नेपाल वायु सेवा निगमले हवाई उडानलाई निरन्तरता नदिँदा सर्वसाधरणहरु धुलै खेपेर भएपनि कष्टकर यात्रा गर्ने गरेका छन् । हवाई उडानको कुनै टुंगो नभएपछि गाडीबाटै कष्टकर यात्रा गर्न बाध्य भएको स्थानीय बुद्द प्रसाद तामाङको भनाई छ । उनले भने, ‘आज टिकट काट्यो प्लेन खाली क्यान्सिल मात्रै हुन्छ । प्लेनको कुनै टुंगै नभएपछि गाडीमै कोच्चिएर धुलो खाँदै जानुपर्ने अवस्था छ ।’
नारादमुनि थुलुङ राजमार्ग अन्र्तगतको भोजपुर–लेगुवा सडकखण्ड करिब दुईवर्षअघि सुरु गरिएको कालोपत्रे काम ४१ किलोमिटरको दुरीसम्म सम्पन्न गरिएको छ । तेन्जिन, रमन र कन्काई कन्स्ट्रक्सन कम्पनीले स्तरोन्नतीको काम गरिरहेको उक्त सडकखण्डका लागि एसियाली विकास बैंक (एडीबी) को ९९ करोड रुपैयाँ ऋण सहयोग गरेपनि कालोपत्रे कामका लागि रकम थप गरेर एक अरब १० करोड पु¥याईएको जनाईएको छ । कम्पनीका ईन्जिनियर हरिभक्त पोखरेलका अनुसार आउँदो २०१९ र्माच १८ सम्मको म्याद थप गरि सडकको डिजाइन अनुसार कालोपत्रेको काममा कल्भर्ट, नाली, भू–क्षय क्षेत्रमा सहयोगी पर्खाल लगायतका आधारभूत आवश्यक गुणस्तरीय कार्य भईरहेको छ ।
त्यस्तै भोजपुर सदरमुकामदेखि खोटाङको सिमाना जोड्ने चखेवाभञ्ज्याङसम्मको सडकखण्डको पनि स्तरोन्नती भईरहेको छ । राष्ट्रिय गौरवको आयोजना अन्र्तगत दुई वर्षको समयावधिमा करिब एक अर्बको लगानीमा बन्ने उक्त सडकखण्डको कालोपत्रे काम आगामी २०७६ असोज मशान्तभित्र सम्पन्न गर्नेगरि कालोपत्रे कामलाई चार प्याकेजमा विभाजन गरि स्तरोन्नती बढाईएको छ । हाल गोल्डेन गुड शेर्पा कन्स्ट्रक्शनले सडकको स्तरोन्नती ठेक्का लिई कामलाई तिव्र रुपले अघि बढाएको छ । यी जिल्लाभित्रका सानाठुला गरि ४ दर्जनबढि सडकसञ्जालहरुको हालत वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार