चीन फुटाउने अभियानमा सत्तारुढ दलकै नेता सक्रिय

फ्रि–तिब्बतको गतिविधिमा संलग्न समाजवादी पार्टी नेपालका एक जना सांसदलाई कारबाही भएपछि नेपालका राजनीतिक दलका नेता र सांसदहरूमाथि ठूलो आशंका उब्जिएको छ ।

सो पार्टीले सांसद तथा पर्सा जिल्ला कमिटीका अध्यक्ष प्रदीप यादवलाई निलम्बन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई ६ महिनाका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

समाजवादी पार्टीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको नीतिविपरीत फ्री तिब्बत कार्यक्रममा सहभागी भएकाले यादवलाई निलम्बन गरिएको बताए ।

लाटभटिया देशको राजधानी रिगामा हालै सम्पन्न भएको ‘इन्टरनेसनल नेटवर्क अफ पारलियामेन्टेरियन अन फ्री तिब्बत’ कार्यक्रममा सांसद यादव सहभागी भएका थिए ।

पार्टीलाई जानकारी नगराई भाग लिन पुगेका सांसद यादवसँग पार्टीले स्पष्टीकरण सोधेको थियो । तर, चितबुझ्दो स्पष्टीकरण नदिएकाले पार्टीले कारबाही गर्ने निर्णय गरेको अधिकारीले बताए ।

यसअघि पनि विभिन्न दलका नेता र सांसदहरू फ्रि तिब्बतको गतिविधिमा संलग्न रहेको भन्दै आलोचना हुँदै आएको थियो ।

चीनले नेपालबाट हुने फ्रि तिब्बतको गतिविधिलाई नियन्त्रण गर्न नेपाल सरकारलाई दवाव दिँदै आएको छ ।

केही दिन अगाडि संसदमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद देव गुरुङले पनि नेपालमा फ्रि तिब्बतको गतिविधि बढ्दै गएको बताएका थिए ।

त्यसको केही दिनभित्र सत्तारुढ दलका सांसद सोही विषयमा कारबाहीमा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार