Loading…

‘नेपालीलाई बिर्सिएर उभिएको नेपाली राष्ट्रियता’

समृद्ध नेपाल, सुखी नेपाली । लेखियो संविधानमा, ‘समाजवाद उन्मुख नेपाल ।’ बन्यो सरकार । भनी बक्स्यो, ‘समृद्ध नेपाल, सुखी नेपाली ।’ गत साल संयुक्त राष्ट्रसंघको ‘सस्टेनेवल डेभलोपमेन्ट सोलुसन नेटवर्क’ ले विश्वका १० खुशी र सुखी देशहरुको नामवली सार्वजनिक गरेको थियो ।

सुन्दर सोचाई र गुणस्तरीय जीवनलाई आधार मानी गरिएको सर्भेमा खुशी र सुखी देशहरु क्रमश:-

१) १) फिनल्याण्ड २) नर्वे ३) डेनमार्क ४) आईसल्याण्ड ५) स्वीजरल्याण्ड ६) नेदरल्याण्ड ७) क्यानडा ८) न्यूजिल्याण्ड ९) स्वीडेन र १०) अस्ट्रेलीया रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भनिरहँदा बेलायतका एक मन्त्री मञ्चको दाहिनेपट्टि मुस्कुराई रहेका थिए ।

प्रधानमन्त्रीले भनिरहेका थिए, ‘तपाईहरु आफ्नो सुतीखेती मिलाएर नेपाल फर्कनुहोस ।’ तर भनिरहेका थिएनन्, ‘तपाईहरुलाई रोजगारको ब्यावस्था मिलाउने काम सरकारले गर्नेछ ।’ र, यो पनि भनेनन्, ‘तपाईहरुले नेपाल पठाएको रेमिट्यान्स्का लागि धन्यवाद ।’

सायदै समृद्धशाली देशहरुका जनता स्थायी बसोबास गर्न अन्य देशमा जाँदैनन् । गएता पनि संख्याको हिसाबले थोरै जाने गर्दछन् । रोजगारमुलक सीपको ब्याबस्था गर्ने जस्ता विषयहरु उठेता पनि त्यसलाई कार्यान्वयन नगर्दा करीब ४० लाख नेपाली युवाहरु रोजगारीका लागि विभिन्न देशहरुमा पुगेका छन् ।

समृद्ध नेपाल हुँदो हो त लाखौ लाख युवाहरु नेपालको सीमानाभित्रै अटाउँथे । आफ्नो माटो, आफ्नो आँगन, आफ्नो परिवार र देश छाडेर विदेश जाने कसैलाई पनि हुँदैन । तर, देश र परिवारसँग छुट्नुको पीडा बोकी सुन्दर भविष्य बनाउन विदेश गएका ती युवाहरु ओमनको तातो घामले पोल्दा के सोंच्दा हुन् ?

कतारमा रङ्गशाला बनाईहेका नेपाली युवाहरुको पसिना दशौ तलामाथिबाट भुईतिर झर्दा झर्दै बीचमै सुक्दो हो । केहि थोपा भुईको बालुवामा तप्किँदो हो । साउदी अरवमा उँटको गोठाला गर्दै आकाश हेर्दा जीवनको सीमाना हराएको सोंच्दो हो । महिनाको अन्तिम दिन दुःख र पसिनाको तलब थापेर कोठा फर्किरहेका बेला तामिलहरुबाट मलेसियामा लुटिंदो हो । मालिकहरुबाट श्रम शोषणमा पर्दो हो ।

विदेश गएका नेपालीहरु दिनहुँ तीन जनाका दरले काठको बाकसमा लाश बनि फर्किदाँ हाम्रो राष्ट्रियता बेस्सरी दुःखदो हो । यसरी त्रिभुवान विमानस्थल दिनहुँ आँशुले भिज्न बाध्य हुन्छ । अनि शुरु हुन्छ परिवारमा पीडा । सयकडा पाँचको ऋण तिर्न नसकेर थपिंदै जान थाल्छ ब्याज ।
आर्थिक समस्याहरुको चाङ बोकेर उभिन थाल्छ परिवार । श्रम सम्झौता नगरिएका देशहरुमा पनि नेपाली युवाहरु अर्थोपार्जनका लागि निरन्तर गईरहेका छन् । इराक, अफगानीस्थान, सिरिया जस्ता देशहरुमा उनीहरु पुगेका छन् ।

जीवन विमा नगरी धेरैजसो ब्यक्तिहरु विदेश गएको पाइन्छ । उनीहरुको जीवन तलमाथि भएमा क्षतिपूर्ति पाउँदैनन् । विदेशमा अलपत्र परेका नेपालीहरुलाई राष्ट्रले अपवाद बाहेक सहयोग र उद्धार गरेको देखिंदैन । कुरो हो विदेशी सेनामा नेपाली युवा पुस्ताको । सामुहिक रुपमा विदेशिने परम्पराको सायदै जेठो इतिहास हो–गोर्खा भर्ती ।

यो प्रकारको इतिहास विश्वमा नहुन सक्छ । बेलायती सेना र भारतीय सेनामा कार्यरत नेपाली युवाहरु राष्ट्र–राष्ट्र बीचको सन्धि र सम्झौताका आधारमा काम गरिरहेको पाइन्छ । तर, अन्य देशहरुको सवालमा सन्धि सम्झौता बिना नै काम गरिरहेका छन् । एक देशको युवा अर्को देशको सेनामा भर्ती भई काम गर्दा दुवै देशको राष्ट्रियता कस्तो हुन्छ ?

यस विषयमा गम्भिर भई सरकारले छलफल गर्नु पर्दछ कि ? बेलायत र इण्डियन सेनामा करीब तीन हजारको हाराहारीमा नेपाली युवाहरु वेलायती सेनामा कार्यरत रहेका छन् । इण्डियन सेनामा ४० हजारको हाराहारीमा रहेको अनुमान गर्न सकिन्छ । वेलायती सेना अन्तर्गत दुई वटा इन्फेन्ट्री बटालियनहरु रहेका छन् । दोस्रो गोर्खा राइफल व्रुनाईमा रहेको छ । पहिलो गोर्खा राइफल वेलायतमा । यी दुई बटालियन ३–४ बर्षमा व्रुनाई र बेलायत आलोपालो गर्दछ ।

२०६५ साल असोज २४ गते वेलायतको रोयल कोर्ट अफ जस्टिसले वेलायती सेनामा कार्यरत गोर्खाहरु अवैधानिक भएको ठहर गरिसकेको छ । तर नेपाल सरकारको धारणा अहिलेसम्म आएको छैन । ब्रुनाईको दुई ठाउँमा नेपालीहरु ब्रुनाई र नेपालबीच कुनै सम्झौता भएको छैन । तर उनीहरुलाई वेलायतले त्यहाँ पठाउदै आईरहेको छ । व्रुनाईको टुकरलाईन सेरियास्थित एउटा गोर्खा बटालियन रहँदै आएको छ ।

व्रुनाईको बन्दारसेरी वगवानमा जि.आर.यु (गोर्खा रिर्जभ युनिट) रहेको छ । वेलायती सेनाबाट अवकाश भएका गोर्खाज्हरुलाई पहिले जि.आर.युमा लैजाने गर्दथे । धेरैजसो आई.एल.आर (इण्डिफेनिट लिभ टु रिमाईन) मा वेलायत स्थानतरण हुन थालेपछि, कोटा पूर्ति गर्न सेवा निवृत इण्डियन लाहुरे र सिङ्गापुर प्रहरीबाट सेवानिवृत्त भएका लाहुरेहरुलाई लान थालिएको छ । सिङ्गापुर प्रहरीमा नेपाली युवाहरु नेपाल र सिङ्गापुरबीचमा पनि कुनै सन्धि सम्झौता भएको देखिंदैन । तर, प्रत्येक वर्ष नेपाली युवाहरुलाई वेलायतले भर्ती गरी सिङ्गापुर प्रहरीमा पठाउने गर्दछन् ।

नेपालको सर्वोच्च अदालतले २०६६ साल असार ३० गते फैसला गर्दै भनेको छ, ‘नेपाली युवाहरु सिङ्गापुर प्रहरीमा काम गर्नु अवैधानिक हो ।’ वहराईनमा नेपाली युवाहरु नेपाली युवाहरुलाई वहराईनमा सेक्युरिटी भनि लैजाने गर्दछन् । तर उनीहरु पmुल आर्मसहित एउटै युनिफर्म लगाई काम गर्दछन् । जेनेभा महासन्धि अनुसार पmुल आर्मसहित युनिफर्म लगाउनुलाई कम्ब्याटन्ट (लडाकु) भनि बुझिन्छ । नेपाल सरकार र वहराईन सरकारबीच कुनै पनि सन्धि सम्झौता गरेको देखिंदैन ।

विशेष गरी वेलायती सेनाबाट अवकाश भएकाहरुलाई प्राथमिकताका साथ एजेन्टमार्फत लैजाने गरेको थिए । उनीहरु आई.एल.आरबाट वेलायत स्थान्तरण हुन थालेपछि अवकाश भएका इण्डियन लाहुरे र नेपाल आर्मीबाट सेवा निवृत भएकाहरुलाई बहराईनमा लैजान थालिएको बुझ्न सकिन्छ । र, सिभिलियन नेपाली युवाहरुलाई पनि नेपाल आर्मी वा प्रहरीको कागजपत्र बनाएर लैजाने गरेको बताइन्छ ।

फुल आर्मको साथ दुवाईमा सेक्युरिटी ‘ईमिरेट गेटवय सेक्युरिटी सर्भिस्’ नामक कम्पनीले पनि नेपाली युवाहरुलाई दुवाईमा लैजाने गरेका छन् । ७०० हाराहारी नेपाली युवाहरु त्यहाँ कार्यतर रहेको बुझ्न सकिन्छ । उनीहरु फुल आर्म बोकी काम गर्दछन् । फुल आर्मको साथ ड्युटी गर्नु, रेजमा गोली हान्नु र एकै प्रकारको युनिफर्म लगाउनुको अर्थ जेनेभा महासन्धिले आर्मी नै भन्दछ । सिङ्गापुर, ब्रुनाई (जि.आर.यु.), दुवई, बहराईन जस्ता देशरुमा अबैधानिक रुपमा नेपाली युवाहरुलाई भर्ना गरिंदै आएको छ ।

करीब ७० जना युवाहरु सन् २०१७ वहराईन पठाएको जानकारहरु बताउँछन् । उनीहरुबाट जनही रु ११ लाख हाराहारीमा रकम लिएको अनुमान गरिन्छ । वेलायत, इण्डियन सेना र सिङ्गापुर प्रहरीमा वार्षिक कति जवानहरु भर्ति गर्छन् ? नेपाल सरकारसँग त्यसको तथ्याङ्क रहेको पाइँदैन । सबै देशहरुले आफ्नो आवश्यकता अनुसार नेपाली युवाहरुलाई स्वेच्छाले भर्ती गर्दै आईरहेका छन् ।

तथ्याङ्कको जानकारी नदिनु र नलिनुको अर्थमा हाम्रो राष्ट्रियता कस्तो हो सरकार ? ‘समृद्ध नेपाल र सुखी नेपाली’ राष्ट्रिय नाराको छाताभित्र कति नेपाली युवाहरु ओतिएका छन् ? सरकार यो कस्तो समृद्धि हो ? सरकार यो कस्तो सुख हो ? आम नागारिकको यो एउटा राष्ट्रिय प्रश्न हुन सक्छ सरकार । राष्ट्रियता के–के विषयहरुले बलियो बन्न सक्छ वा हुन सक्छ सरकार ? केहि सुझावहरु टक्र्याऊ सरकार ? नागरिक सुरक्षा, अर्थ ब्यबस्था, शिक्षा, रोजगार, सामाजिक सेवा, परराष्ट्र नीति र विविध विषयहरुले हुन सक्छ कि सरकार । ‘समृद्ध नेपाल, सुखी नेपाली’ यो नाराको जय होस । सरकारको जय होस् सरकार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार