‘एक्सन रुम’बाटै गौरवका आयोजनाको अनुगमन

काठमाडौ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्माण गरिएको ‘एक्सन रुम’बाटै अवलोकन गर्न राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन प्रणाली आईपी क्यामेरा जडान गरिँदै छ । क्यामरा जडान गरेपछि एक्सन रुम सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ । एक्सन रुम कार्यान्वयनमा आएपछि राष्ट्रिय गौरवका आयोजनाको अवलोकन केन्द्रबाटै गर्न सकिने छ ।

प्रत्यक्ष अवलोकनमार्फत विकास आयोजनालाई थप तीव्रता दिन राष्ट्रिय गौरवका ११ वटा आयोजनामध्ये सातवटामा सो प्रणाली जडान गरी सञ्चालनमा ल्याइएकोे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले राष्ट्रिय गौरवका आयोजनाहरूमा स्थल अनुगमन प्रणाली जडान तथा सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय गौरवका ११ वटा आयोजनामध्ये बाँकी तीनवटामा सो प्रणाली जडान कार्य सम्पन्न भइसके पनि नेटवर्किङ समस्याका कारण सञ्चालनमा आउन सकेको छैन । ती आयोजनामध्ये राष्ट्रपति चुरे संरक्षण आयोजनामा सो प्रणाली अझै जडान हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असार २६ गते प्रधानमन्त्री कार्यालयमा निर्माण गरिएको ‘एक्सन रुम’बाट सो प्रणाली जडान भएका आयोजनाको पहिलो पटक अवलोकन गर्नुभएको थियो । यसअघि प्रधानमन्त्री ओलीले जेठ १५ गते सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो संवाद गरी ‘एक्सन रुम’ उद्घाटन गर्नुभएको थियोे । ‘एक्सन रुम’ सञ्चालनसँगै मुलुकका विकास आयोजनाले थप गति लिनुका साथै कुनै विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नका लागि मुख्यमन्त्री काठमाडौँ आउनुपर्ने बाध्यता अन्त्य भएको प्रवक्ता कुँवरले जानकारी दिनुभयो । सिंहदरबारमै बसेर प्रधानमन्त्रीले सिक्टा सिँचाइ आयोजना, भेरी–बबई डाइभर्सन, मेलम्ची खानेपानी आयोजना, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेका कार्यको अवलोकन गर्नुभएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा छ, सिक्टा सिँचाइ आयोजनामा चार, रानी जमरा कुलरिया सिँचाइ आयोजनामा तीन, हुलाकी राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गमा एक–एकवटा तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाँचवटा ‘आईपी क्यामेरा’ जडान गरिसकिएको छ ।

त्यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सात, माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा तीन, मेलम्ची खानेपानी आयोजनामा दुई, काठमाडौँ–तराई दु्रतमार्ग आयोजनामा एउटा क्यामेरा जडान गरिएको हो । राष्ट्रिय गौरवका हरेक आयोजनामा छ÷छवटा गरी कुल ६६ वटा क्यामेरा जडान गर्नुपर्नेमा अहिलेसम्म ३३ वटा जडान गरिसकिएको जानकारी प्रवक्ता कुँवरले दिनुभयो । क्यामेरा जडान गरिएको आयोजना सम्पन्न भएको अवस्थामा वा आयोजनाको तोकिएको स्थानको काम सम्पन्न भइसकेपछि जडान गरिएका क्यामेरा आवश्यक ठाउँमा स्थानान्तरण गरी अनुगमनको काम गर्न सकिने छ । ‘एक्सन रुम’मा रहेका क्यामेराको नेटवर्किङ मुख्यमन्त्री कार्यालय र आयोजना स्थलमा रहेको क्यामेरासँग नेटवर्किङ गरेर मुख्यमन्त्रीसँग भिडियो संवाद र आयोजना स्थलको अनुगमन गर्ने गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार ‘एक्सन रुममा तीन–तीनवटा टेलिभिजन, टेलिप्रिजेन्ट क्यामेरा र माइक स्पिकर जडान गरिने छ । त्यसैगरी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा निर्माण गरिने ‘भिडियो कन्फरेन्स रुम’मा एक÷एकवटा टेलिभिजन, क्यामेरा, माइक र डाटा ट्रान्सफर जडान गरिने छ । कुल चार करोड ४८ लाख रुपियाँको लागतमा ‘एक्सन रुम’ निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार