रुस, चीन र अमेरिकाबीच नयाँ द्वन्द्व सुरु हुने चिन्ता

बीबीसी । संयुक्त राज्य अमेरिकाले रूससँग गरेको पारमाणविक सन्धि फिर्ता गर्ने भएको छ । अमेरिकाको यो कदमसँगै नयाँ किसिमको हतियारको द्वन्द्व सिर्जना हुने देखिने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । सन् १९८७ मा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र रुसी नेता मिखाइल गोर्बाचेभले इन्टमिडियट रेन्ज न्युक्लियर ट्रिटी (आइएनएफ) मा हस्ताक्षर गरेका थिए । उक्त सन्धिअनुसार पाँच सयदेखि पाँच हजार पाँच सय किलोमिटरसम्मका मिसाइल प्रहार गर्न प्रतिबन्ध लगाएको थियो ।

तर, वर्षको सुरुमा अमेरिका र नाटोले रुसले उक्त सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । रुसले नयाँ किसिमको क्रूज मिसाइल प्रहार गरेको अमेरिकाको आरोप छ । तर, मस्कोले उक्त आरोप अस्वीकार गरेको छ ।  अमेरिकनहरुले रसियाले उक्त सम्झौता उल्लंघन गर्दै ९ एम ७२९ मिसाइल परीक्षण गरेको प्रमाण आफूसँग भएको दाबी गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले फब्रुअरीमा रुसले अगस्ट २ सम्म उक्त सन्धि पालना नगरेमा आफू उक्त सम्झौताबाट फिर्ता हुने घोषणा गरेका थिए ।

ट्रम्पको उक्त घोषणापछि रूसी राष्ट्रपति भलाद्‍मीर पुटिनले आफ्नो मुलुकले उक्त सन्धी पालना गर्न नपर्ने बताएका थिए ।

के छन् खतरा ? 

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले परमाणु युद्धको महत्वपूर्ण ‘ब्रेक’ हराइसकेको चेतावनी दिएका छन् । “यो बढ्नेक्रममा छ, घट्ने होइन र ब्यालिस्टिक मिसाइल प्रहारले उक्त त्रास सिर्जना गरेको छ,” उनले भने, “सम्बन्धित सबैले अन्तर्राष्ट्रिय सैन्य नियन्त्रणका लागि एक साझा अवधारणाको खोजी गरेर अघि बढ्न आवश्यक छ ।”

ऐतिहासिक सम्झौता रद्द हुँदा विश्वका शक्ति राष्ट्रहरु अमेरिका, रुस र चीनबीचको सैन्य प्रतिस्पर्धाले नयाँ रुप लिनेमा विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् ।  “अहिले उक्त सन्धि समाप्त भइसकेको छ । हामी अहिले भइरहेको नयाँ हतियारको विकास र परीक्षण हेरिरहेका छौं,” रूसी सैन्य विश्लेषक पाभेल फेलगेनहउरले एएफपीलाई भने, “रुस सम्पूर्ण तयारी अवस्थामा छ ।”

गत महिना नाटोका महासचिव जेन्स स्टोलटेनवर्गले बीबीसीलाई भने, “रुसी मिसाइलले उक्त सम्झौता उल्लंघन गरेको स्पष्ट देखिन्छ । उक्त मिसाइल केही मिनेटमै युरोपियन सहरमा पुग्न सक्ने क्षमताका छन् र जसलाई निस्क्रिय पार्न निकै कठिन छ ।” उनले थपे, “यो गम्भीर विषय हो । दशकौंदेखि सैन्य नियन्त्रणका लागि आइएनएफ सन्धि कोसेढुंगा बन्दै आएको थियो । तर अहिले उक्त सन्धिको अन्त्य भएको छ ।”

रुसले उक्त सन्धि पालना गर्नेमा कुनै संकेत नदेखिएको उनले बताए । उनले भने, “हामी विश्वमा आइएनएफ ट्रिटीबिना र रुसी मिसाइलको सामना गर्न तयार छौं ।”

नाटोले के गर्छ भन्‍ने विषय निर्धारित समयपछिमात्रै निर्णय गर्ने महासचिव स्टोल्टेनवर्गले बताए । नाटोले युरोपको जमिनमा आधारित न्युक्लियर मिसाइल तयार गर्ने कुनै योजना नबनाएको उल्लेख गर्नै उनले भने, “हवाइ सैन्य,  मिसाइलको प्रतिरक्षा,  नयाँ अभ्यास,  सैन्य बलको तत्परता र नयाँ किसिमको सैन्य नियन्त्रण सम्भावित हमलाको जवाफको हिस्सा बन्न सक्छन् ।”

के हो आईएनएफ सन्धि ?

* सैन्य नियन्त्रणसम्बन्धि सम्झौता नै इन्टरमिडियट रेन्ज न्युक्लियर फोर्स (आइएनएफ- मध्यवर्ती सीमा परमाणु बल) हो । जसमा सन् १९८७ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र रुसी नेता मिखाइल गोर्बाचेभले हस्ताक्षर गरेको थिए ।

* उक्त सन्धिमा न्युक्लियर र नन-न्युक्लियर (परमाणु र गैर-परमाणु) मिसाइल छोटो तथा मध्यम दूरीमा परीक्षण गर्न प्रतिबन्ध लगाएको थियो ।

* सन्  १९७९ मा रुसी अधिकारीहरुले एसएस-२० मिसाइलका विषयमा अमेरिकाको ध्यानाकर्षण गराएको थियो । र युरोपमा पेरसिङ र क्रूज मिसाइल प्रहार गरिएको थियो । जसको चौतर्फी विरोध भएको थियो ।

* उक्त सन्धिमा हस्ताक्षर भएको चार वर्षपछि करिब २७ सय मिसाइल निस्क्रिय पारिएको थियो ।

* दुबै राष्ट्रले एकअर्काको मिसाइल र परमाणु स्थानको जाँच गरेका थिए ।

‘उच्च प्रविधिसहितका खतरनाक हतियार विकास’

आईएनएफ सन्धी – परमाणु हतियारको एक पूर्ण समूहकलाई नै निशस्त्रीकरण पार्ने एकमात्र सम्झौताको अन्त्यसँगै सैन्य नियन्त्रणका विषयमा वकालत गर्न ढिलो भइसकेको छ । रुसको अस्थिरतामा दुई गुणाले वृद्धि भएसँगै अमेरिकाले रुसबाट त्रास उत्पन्न हुने विषयमा गम्भीर ध्यानाकर्षण गराएको हो । न त मस्कोले न वासिङ्टनले नै यस सन्धिलाई महत्व दिएका छन् । शित युद्धको समयमा गरिएको अति महत्वपूर्ण सन्धि ‘न्यू स्टार्ट ट्रिटी’ले लामो दूरीको मिसाइल प्रहारमा प्रतिबन्ध लगाएको थियो । सन् २०२१ मा यसको अवधि सकिँदै छ । यसको निरन्तरता हुनेमा पनि अन्योल नै छ ।

सोभियत युनियनको अन्त्यसँगै तनावपूर्ण स्थितिहरु कम हुँदै गएपछि सैन्य नियन्त्रणको महत्वको विषयमा विरोधाभाष बन्दै गयो । फेरि स्थायित्वका लागि सैन्य नियन्त्रणसम्बन्धी सम्झौता महत्वपूर्ण हुन्छ भन्‍ने बहस चुलिएको छ ।  तर, संकट समाधानका लागि सैन्य नियन्त्रण गर्नुको साटो उच्च प्रविधिसहितका खतरनाक हतियारको विकास गर्नेक्रम भइरहेको छ ।

गल्ती कहाँ भयो ? 

सन् २००७ मा रुसी राष्ट्रपति भलाद्मीर पुटिनले उक्त सन्धिले रुसको हित नगर्ने बताएका थिए । सन् २००२ मा अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले ‘एन्टी बलास्टिक मिसाइल ट्रिटी’ बाट अमेरिकालाई बहिर्गमन गराएका थिए । उक्त सन्धिले ब्लास्टिक न्युक्लियर मिसाइलको बदला लिनका लागि हतियार बनाउने योजनामाथि प्रतिबन्ध लगाएको थियो ।

सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले पनि रुसले आईएनएफ सन्धी उल्लंघन गरेको आरोप लगाएका थिए । रुसले रुसमा जमिनमा आधारित क्रूज मिसाइल परीक्षण गरेको आरोप ओबामाको थियो ।  उनले युरोपियन नेताहरुको दबाब भएपनि उक्त सन्धिबाट बाहिरिने निर्णय भने गरेनन् । उनले उक्त सन्धिबाट बाहिरिँदा पुन: सैन्य प्रतिस्पर्धा बढ्ने बताएका थिए ।

पुन: गतवर्ष नाटो समर्थक अमेरिकाले फेरि रूसले उक्त सन्धि उल्लंघन गरेको आरोप लगाएको थियो । “नाटो समर्थित अमेरिकाले रुसले मिसाइल प्रणाली विकास गरिरहेको र परमाणु स्टेशन स्थापना गरेको निष्कर्ष निकालेको छ । जसले आईएनएफ सन्धि र युरो-एट्लान्टिक सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको छ,” नाटोमा विदेशमन्त्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नाटोका सदस्य राष्ट्रहरुले रुसले आईएनएफ सन्धि उल्लंघन गरेको भन्दै अमेरिकाले लगाएको आरोपको दृढ समर्थन गरेका छन् र मस्कोले उक्त सन्धि पालना गर्नुपर्ने बताएका छन् ।  तर, रुसले भने अमेरिकाले लगाएको उक्त आरोप अस्वीकार गरेको छ । रुसका राष्ट्रपति पुटिनले अमेरिकाले सन्धिबाट बाहिरिन गरेको एक बहाना भएको बताएका छन् ।

अमेरिका र रुसबीचको सम्बन्धमा दरार सिर्जना भइरहेकै समयमा अमेरिकाको विरोधका बाबजुद पनि रुसले टर्कीलाई गत महिना एस-४०० मिसाइल प्रणाली प्रदान गरेको थियो ।  अमेरिकाले टर्कीले एस-४०० एन्टी एयरक्राफ्ट रक्षा प्रणाली र यूस एफ-३५ लडाकु विमान दुबै राख्न नहुने चेतावनी दिएको थियो । टर्की र अमेरिका दुबै नाटोका सदस्य राष्ट्र हुन् । तर, पछिल्लो समय टर्कीले रूससँग सम्बन्ध विस्तार गरिरहेको छ । बीबीसीको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार