भोजपुरको याकु प्रदेशकै पहिलो पूर्ण संस्थागत प्रसुती वडा

  सिलिचुङ समाचारदाता

भोजपुर । जिल्लाको पूर्वी अरुण गाउँपालिका वडा नं. ५ स्थित याकुलाई पूर्ण संस्थागत प्रसुती वडा घोषणा गरिएको छ । वार्ड क्षेत्रभित्रका सबै गर्भवती महिलाहरुले स्वास्थ्य संस्थामै आएर सुरक्षित प्रसुती गराएकाले एक कार्यक्रमको आयोजना गरि वडालाई पूर्ण संस्थागत प्रसुती वडा घोषणा गरिएको हो ।
साविकको याकु गाविस रहेको यस वडाको सामुदायिक भवनमा आयोजित कार्यक्रमको बीच पूर्व संविधान सभाका सदस्य लोकमणी ढकालले प्रदेश नं. १ मै पहिलो पूर्ण संस्थागत प्रसुती वडा घोषणा गरे । आर्थिक वर्ष २०७५/७६ मा ६१ जना महिलाले स्वास्थ्य संस्थामा आएर सुत्केरी गराएको याकु स्वास्थ्य चौकीका इन्चार्ज हेल्थ असिष्टेन्ट भोजराज भण्डारीले बताए । त्यसमा ५ नं. वडा भित्रका मात्र ३७ जना गर्भवतीमध्ये ३६ जनाले यहि स्वास्थ्य संस्था र वाँकी १ जनाले धनकुटा अस्पतालमा गएर प्रसुती गराएका छन् ।
कार्यक्रममा अरुण गाउँपालिका प्रमुख गजेन्द्रबहादुर कार्की, उपप्रमुख बिनिता ढकाल, महिला स्वास्थ्य स्वंसेविकाहरु, लगायत सरोकारवालाहरुको उपस्थिति थियो । प्रमुख कार्कीले गाउँपालिका क्षेत्रका महिला तथा बच्चाहरुको स्वास्थ्य सुरक्षाको लागि आफूहरुले विशेष योजना बनाएर काम गर्ने बताए । गाउँपालिकाले आफ्नो क्षेत्रमा सुत्केरीलाई कुखुराको भाले, चामल, ज्वानो, केहि रकमसहितको प्याकेज पनि दिंदै आएको छ ।
दक्ष जनशक्ति, भौतिक लगायतका उपचारका चाहिने सामग्रीको पर्याप्तता लगायतका कारण विगत १० वर्षबढि समयदेखि भोजपुरको याकुस्थित स्वास्थ्य संस्था जिल्लामै नमुना स्वास्थ्य संस्थाको रुपमा परिचित छ । यसले पटकपटक जनताको स्वास्थ्य उपचारमा राम्रो काम गरेको भन्दै पुरस्कारसमेत पाएको छ ।
आफ्नो वार्ड बाहेक पौवादुङ्मा गाउँपालिका १ र ३ नं. वार्डबाट पनि उपचार सेवा लिन विरामीहरु आउने गरेको स्वास्थ्य संस्थाले जनाएको छ । स्वास्थ्य संस्थामा दरबन्दी अनुसारको जनशक्ति, विशेष प्रसुती तालिम लिएका २ जना स्वास्थ्यकर्मी, गर्भवतीको विशेष जाँचको लागि भिडियो एक्सरे मेशिन, बच्चा जन्मिएपछि तातोमा राख्ने मेशिन, अक्सिजन लगायतका साधनहरु पर्याप्त भएकाले पनि सेवाग्राहीहरुको आकर्षण बढेको स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष ध्यानबहादुर राई बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार