सोनिया गान्धी बनिन् भारतीय कांग्रेसको अन्तरिम अध्यक्ष

भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी नियुक्त भएकी छन् । नयाँ अध्यक्ष चयनका लागि शनिबार बसेको कांग्रेसको कार्यसमिति बैठकले सोनियालाई अन्तरिम अध्यक्ष नियुक्त गरेको हो।

कांग्रेस नेता गुलाम नबी आजाद र हरिश रावतले बैठकपछि सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चयन गरिएको बताएका हुन् । यस्तै बैठकले राहुल गान्धीले अध्यक्षबाट दिएको राजीनामा स्वीकृत गरेको पनि उनीहरुले बताए ।

राहुल गान्धी आशाको नयाँ किरणका रुपमा आएर पार्टीको नेतृत्व गरेको कांग्रेस प्रवक्ता रणदीप सुरजेवाललो बताएका । राहुल गान्धीले लोकसभा चुनावपछि पराजयको जिम्मेवारी लिँदै राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकार गरिए पनि पार्टीलाई आउँदा दिनमा पनि मार्गदर्शन गर्न अपिल गरिएको प्रवक्ता सुरजेवालले बैठकको निर्णय सुनाउँदै बताएका छन् ।

बैठकमा कांग्रेसका सबै प्रदेश नेताको विचार बुझेर कार्यसमितिले राहुललाई अध्यक्षमा कायम रहन आग्रह गरिएको थियो । राहुलसँग राजीनामा फिर्ता लिन भनिएको थियो । उनले यो आग्रह स्वीकार गरेनन् ।

त्यसपछि सोनिया गान्धीलाई पार्टीको जिम्मेवारी सम्हाल्न आग्रह गरिएकोमा उनले पूर्णकालीन अध्यक्ष चुनाव नभएसम्मका लागि अन्तरिम अध्यक्षको भूमिकामा रहने बताएको जनाइएको छ ।

यस्तै कार्यसमितिमा जम्मू–कश्मीर बारे पनि चर्चा भएको जनाइएको छ । कांग्रेसले विपक्षी पार्टीका नेताहरुको एक समूहलाई सो क्षेत्रको अवस्था बुझ्नका लागि पठाउन सरकारसँग आग्रह गरेको छ ।

बैठकको क्रममा जम्मू–कश्मीरबारे चर्चा भएको कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले बताए । उनले भने, ‘जम्मू–कश्मीरको अवस्था निकै खराब भएको छ । पूर्ण पारदर्शिताका साथ प्रधानमन्त्री र सरकारले देशलाई जम्मू–कश्मीरको अवस्था बारे बताउनु पर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार