रामेशलाई खेमराज स्रष्टा सम्मान

  सिलिचुङ समाचारदाता

काठमाडौ । खेमराज गुरुङ ट्रस्टले स्व. गुरुङको तेस्रो स्मृति दिवसको अवसरमा वरिष्ठ जनगायक रामेशलाई खेमराज स्रष्टा सम्मान प्रदान गरेको छ । गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, एक जुगमा एकदिन एकचोटि आउँछ लगायतका गीतमार्फत परिवर्तनका पक्षमा बलियो जनमत सिर्जना गर्न सफल रामेशलाई नगद ५० हजार रुपैयाँसहितको खेमराज स्रष्टा सम्मान प्रदान गरिएको हो ।

विगत पाँच दशकभन्दा लामो समयदेखि जनपक्षीय गीत÷संगीतमार्फत पु¥याएको योगदानको उच्च कदर स्वरुप रामेशलाई स्रष्टा सम्मान प्रदान गरिएको ट्रस्टले जनाएको छ । यसअघि यस्तो सम्मान वरिष्ठ गीतकार रत्न सम्शेर थापा र संगीतकार प्रकाश गुरुङलाई प्रदान गरिएको थियो ।
ट्रस्टले स्मृति दिवसका अवसरमा खेमराज प्रतिभा पुरस्कार सुसन लामालाई प्रदान गरेको छ । काभ्रेको चौरी देउराली गाउँपालिकाका लामा २०४७ सालमा प्रतिभाको डबलीमार्फत सिर्जना यात्रामा लागेका हुन् । यसअघि प्रतिभा सम्मान पहिलो स्मृति दिवसमा गायिका मेलिना राई र गत वर्ष संगीतकार तथा गायक ओमप्रकाश राईलाई प्रदान गरिएको थियो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न स्मृति सभामा प्रतिष्ठानका सदस्य–सचिव श्याम तमोट, सिक्किम सरकारका पूर्वमन्त्री गर्जमान गुरुङको उपस्थिति थियो । चर्चित गायक राजेश पायल राईले ट्रस्टकोतर्फबाट स्वागत गर्दै खेमराजको स्मरण गरेका थिए । कार्यक्रम ट्रस्टका संरक्षक एवं स्व. गुरुङका आमा तुलसीमाया गुरुङको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार