Loading…

‘आप्पा’

  प्रदिपचन्द्र राई

थाहा छ #आप्पा, म २५ औँ बसन्तको संघारमा छु,
आजभन्दा त्यै २५ वर्षअघि जुन हातले,
मलाई धर्तीमाताले छुनपूर्वै आमाको गर्भबाट
अलग्गै थामी दिएथ्यो,
म चिच्याएथेँ अन्तरा बनेर,
हजुर नयनबाट हर्षका मोतीदाना
एकपछि अर्को गर्दै,
मेरा कलिला छातीमा तप्पतप्प गर्दै
एकनासले खसेथ्यो ।।

थाहा छ #आप्पा, त्यो बालापन,
जब ती मेरा कलिला हातपाउहरु
बामेबाट पुनः धर्तीमाताको सिरानीबाट फुत्किँदै थेँ,
हजरका तीनै हातले तात्तेतात्ते गरेको,
मुस्कुराउँदै मेरा यी सुन्दर गाला
मुसार्दै केहि तोतेबोलीको अनुकरण गरेको ।।

थाहा छ #आप्पा, त्यो पहिलो मेरो स्कूल,
जब रुँदैरुँदै त्यो फलामे डण्डीको चौघेरा जेलमा
दिनभर झ्यालबाट हजुर आउने आशमा
बाटो हेर्दै गहभरी आँशु
खुत्रुक्कै गलेका गलाहरु अनि
ओठ घण्टौको रोदनले चुपचाप बसेको ।।

थाहा छ #आप्पा, त्यो मेरो तन्नेरी बैंश,
जब हर उमंग र हर वितृष्णाहरु
तपाईको सामु लजाउँदै पोखेको,
तपाईका ती अनवरत मिठा भावहरु
सुनेर १६ बर्षे कुखुरे वैँशमा पनि
प्रिय साथीको आभाष दिएको ।।

थाहा छ #आप्पा, त्यो दिन,
जब मैले सोधेको थिएँ
वितेका हजुरका विगतहरु,
देख्न चाहेको थिएँ आफ्नै जस्ता
वैँशका रमाईला तितामिठा नालीबेलीहरु,
बडा मिठो शब्दस्वादले
लठ्ठै म एकोहोरो दंग परेको,,

थाहा छ #आप्पा, त्यो अन्तिम दिन,
जब हजुरका हात अनि ती हृदयविदारक शब्दहरु
एकएक गर्दै यी कानमा ठोक्कीन आएका,
जब जिवनको अन्तिम घडीमा पनि
एकपटक पनि नहडबडाई
यी अशान्त मनमा अन्तिम
आर्शिवाद, साहस, अनि सपना छोडेको,
जब यी नयनबाट अनवरत खसिरहेका
अश्रले हजुरको त्यो पार्थिव शरिरलाई
विदाई गरिरहेको ।।

थाहा छ #आप्पा, आजको यो वर्तमान,
कति दुखेको छु, कति एक्लिएको छु,
तपाईको त्यो एक वाणी यी मनमा
नहुँदो हो त म कसरी साहस बटुल्न सक्छु,
कहाँ मन संगाल्नु सक्छु ,
हजुरका हर प्रेमभाव अनि सद्भावले
दुःखसंग पनि हाँस्न सिकेको छु,
आँशुसंग लुकामारी खेल्न सिकेको छु,
पिडासंग सौदाबाजी गरेको छु,
एक्लोपनलाई मुर्ख बनाउन जानेको छु ।।

थाहा छैन #आप्पा, यी मनमा कति संवेगले
अटेसपटेस गर्दै जगडेर बसेको छ,
आप्पा जबसम्म यी सास चल्नेछ,
हरकदममा हजुरको पदचाप टेक्नेछु
बस, हजुरको माया, आर्शिवाद र हौसलाको
सदा आभारी रहनेछु ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार