चिप्लिँदा तल होइन माथि जान्थे महरा, ‘टेप’ काण्डदेखि ‘रेप’ काण्डसम्मको शृंखला

काठमाडौं । तत्कालीन एनेकपा माओवादीबाट तीन पटक उपप्रधानमन्त्री र ६ पटक मन्त्री भइसकेका कृष्णबहादुर महरालाई किन फेरि लाभको पद सभामुख बनाउन लागियो भनेर सो पार्टीभित्र कतिपयले प्रश्न नउठाएका होइनन् । तर, पार्टीका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै उनको दाहिना भएपछि अरु कराउनुको कुनै अर्थ रहेन ।

माओवादीभित्र अरु चिप्लिँदा पछारिन्छन् तर महरा चिप्लिए भने झन् माथि पुग्छन् पनि भन्ने गरिएको थियो । त्यसैले पछिल्लो पटक उनी २०७४ फागुन २५ गते प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए । तर, अहिले उनी पछारिएका छन् । आफ्नै पूर्वविद्यार्थीलाई  यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका छन् ।

२०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट संसदको चुनाव लड्नुअघि उनी शिक्षक थिए । शिक्षा संकायमा स्नातक महराका विद्यार्थी हुन्– उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्री वर्षमान पुन, विद्रोहमा लागेका नेत्रविक्रम चन्द विप्लव, जोखबहादुर महरा, सन्तोष बूढा आदि ।

महरा २०४८ मा संयुक्त जनमोर्चाबाट तत्कालीन संसदमा निर्वाचित भएका थिए भने २०६४ र २०७० मा संविधानसभाको दुवै निर्वाचनमा पनि निर्वाचित भएका थिए । त्यसपछि पछिल्लो पटक उनी दाङबाट संसद्मा निर्वाचित भएका हुन् ।

उनी सभामुख हुनुअघि विभिन्न गठबन्धनका क्रममा शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा उपप्रधान तथा परराष्ट्रमन्त्री, झलनाथ खनाल प्रधानमन्त्री भएका बेलामा उपप्रधान तथा गृहमन्त्री र पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेलामा उपप्रधान तथा अर्थमन्त्री भएका थिए ।

२०६२–०६३को जनआन्दोलन सफल भएपछि माओवादीका तर्फबाट अन्तरिम संसदमा ८३ जनाको नेतृत्व गर्दै आउनेमा उनी नै थिए । त्यस लगत्तै उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सञ्चार मन्त्री भए ।

विवादको शृंखला

फ्रिक्वेन्सी काण्ड

उनी पहिलो पटक सूचना तथा सञ्चार मन्त्री हुँदा फ्रिक्वेन्सी कम मूल्यमा बेचेको विवादमा तानिएका थिए ।

व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइटले आधारभूत दूरसञ्चार सेवा सञ्चालनको अनुमति पाएकोमा ज्यादै कम शुल्कमा फ्रिक्वेन्सी दिइएको आरोप लागेको थियो ।

फ्रिक्वेन्सी बिक्री गर्दा करोडौँ घोटाला भएको विषयमा सार्वजनिक लेखा समितिले डा. प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा उपसमिति समेत गठन गरेको थियो ।

उपसमितिले प्रतिवेदनमा आधारभूत दूरसञ्चार सेवाको परिभाषा नै बदलेर स्याटेलाइट टेलिकम कम्पनीलाई लाइसेन्स दिइँदा सुरुमै २ करोड ४५ लाख लिएको जनाएको थियो ।

५० करोडको टेप काण्ड 

२०६७ साल भदौ १८ गते एक चिनियाँ नागरिकसँग सांसद खरिदका लागि ५० करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएकोमा त्यसलाई गुपचुप पारियो ।

२०६७ भदौ १८ गते एउटा टेलिभिजनमा माओवादी नेता कृष्णबहादुर महरा र एक चिनियाँ व्यापारीबीच लेनदेनको विषयमा कुराकानी भएको विवरण सार्वजनिक भएको थियो ।

अडियोमा महराले प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरिद गर्नुपर्ने र त्यसका लागि ५० करोड नेपाली रुपैयाँ आवश्यक परेको बताएको सुनिएको थियो । अडियो संवादमा महराले चिनियाँ नागरिकलाई ५० करोडका लागि आफू सिंगापुर, हङकङ र छेन्दु सहरमा बैठकका लागि आउन तयार रहेको समेत जनाएका थिए ।

अडियोमा उनको जस्तै लाग्ने स्वर सुनिए पनि महरा नै हुन् भनेर पुष्टि भएको चाहिँ छैन । उनीसँग बोल्ने अर्का व्यक्तिले भने चिनियाँले अंग्रेजी बोलेकै शैलीमा बोलेकाले चिनियाँ भन्ने ठानिएको थियो । सो सामग्री भारतबाट चल्ने नेपाली भाषाको टिभी च्यानल ‘नेपाल वान’मार्फत् सबैभन्दा पहिला प्रसारण भएको थियो । त्यो कुरालाई महराले झूठो भएको दाबी त्यतिबेला गरेका थिए ।

अख्तियारका १३ पाना

२०७३ सालमा अर्थमन्त्री हुनुअघि नेता महराले अकूत सम्पत्ति कमाएको भन्दै अख्तियारले उनलाई १३ पाने फर्म भराएर अनुसन्धान गरेको थियो ।

उनी अख्तियारमा बयान दिइरहेकै बेलामा उपप्रधान तथा अर्थमन्त्री भएका थिए । उनले कहाँ कसरी मिलाए, त्यो कमैलाई थाहा छ तर उपप्रधानमन्त्री पदमा शपथ खानुभन्दा अघिमात्रै अख्तियारले उनलाई ‘क्लिन चिट’ दिएको थियो ।

उनी अर्थमन्त्री भएपछि रोल्पा जिल्लामा करोडौं रकमान्तर गरेको र सामान्य आयोजनामा ६६ करोड रुपैयाँभन्दा बढी गैरबजेटरी रकमान्तर गरेको आरोप समेत लागेको थियो ।

लडाकुको करोडौंबारे प्रश्न

२०६४ वैशाख ७ गतेदेखि शान्ति मन्त्रालय अन्तर्गतको शान्तिकोषले ३० हजार ८ सय ५२ माओवादी लडाकुका लागि मासिक ५ करोड ७३ लाख ८५ हजारका दरले ९ महिनासम्म सरकारले ५२ करोड निकासा गरेको थियो ।

उक्त रकमको चेक कृष्णबहादुर महराले बुझ्दै आएका थिए । महराले बुझ्ने गरेको उक्त रकमबारे विवाद भएपछि नेकपा एमाले निकट तत्कालीन युवा संघका अध्यक्ष तथा अहिलेका नेकपाका सांसद महेश बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी हाले पनि अहिले सो मामिला गुपचुप छ ।

सोही मामिलामा छानबिन थालिएको भनेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेलामा २०७३ भदौ ३१ गते साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अख्तियार प्रवक्ता गणेशराज कार्कीलाई पत्रकार सम्मेलन गर्न लगाएका थिए ।

कार्कीले शिविरमा भएको भ्रष्टाचारमा संलग्नहरूलाई ३० दिनभित्र उपस्थित हुनेगरी पत्राचार गरिएको सो पत्रकार सम्मेलनमा जानकारी गएका थिए । देशको प्रधानमन्त्री विदेश गएको बेलामा सो प्रकरण उठाइएको कारणलाई लिएर प्रचण्डले पछिसम्म लोकमानप्रति चित्त दुखाउने गरेको बताइन्छ ।

शान्ति प्रक्रिया सुरु भएसँगै क्यान्टोनमेन्टमा केन्द्रित गरिएका माओवादी लडाकुहरूको भरणपोषणका लागि सरकारले उपलब्ध गराएको रकम हिनामिना भएको भनेर अझै पनि आरोप लाग्दै आएको छ । शान्ति प्रक्रियाको पहिलो वर्ष महालेखा परीक्षकको कार्यालयले ४६ करोड १० लाख बेरुजु भएको जनाएको थियो ।

यसरी लडाकुको नाममा सरकारले दिएको करोडौंको चेक आफैंले लिए पनि त्यसको ‘अडिट’ नगराएकाले महरा विवादमा परेका भएपनि लाभका पदमा जान उनलाई त्यसले बाधा गरेको थिएन ।

सुन काण्ड

पछिल्लो समय ३३ केजी सुन काण्डको बारेमा सरकारले छानबिन प्रक्रिया अघि बढाएपछि सञ्चार माध्यममा महराको पनि नाम आयो । तर, उनी सो प्रकरणमा मुछिएको कुनै पनि प्रमाण सार्वजनिक गरिएको थिएन । सो प्रकरणमा केही राजनीतिक नेतालाई जोगाउने प्रयास भएको भन्ने अझै पनि आरोप लाग्दै आएको छ ।

छोरालाई चिनियाँ लगानी

महराकै पहलमा उनका छोरा निर्मल महराको ग्रामीण वातावरण, शिक्षा तथा संरक्षण केन्द्रका नाममा चिनियाँ लगानी ल्याएको भनेर समेत आरोप लाग्दै आएको थियो । अरुलाई विदेशी लगानी ल्याएको भनेर आरोप लगाउने महरा छोराको हकमा भने नरम देखिने गरेको नेकपाभित्रै चर्चाको विषय बन्ने गरेको छ ।

विदेशीसँगको सम्पर्क

माओवादी खुला राजनीतिमा आउनुअघि उनी केही पटक माओवादी वार्ता टोलीको नेता वा सदस्यका रुपमा समेत आएका थिए । त्यतिबेला उनको भारतीय तथा चिनियाँ अधिकारीहरुसँगकोे भेटघाटलाई लिएर विवाद समेत हुने गरेको थियो । उनले केही पटक अध्यक्ष प्रचण्डलाई सिंगापुर, हङकङ, बेइजिङ वा नयाँ दिल्लीमा विभिन्न विदेशी अधिकारीहरुसँग भेट गराएको भन्ने आरोप पनि लाग्ने गरेको थियो ।

उनी २०६५ सालको साउनमा सम्पन्न केन्द्रीय कमिटीको बैठकपछि विदेश विभाग प्रमुख भएकाले विदेशीसँगको उनको उठबसलाई पार्टीभित्र त्यति आपत्तिजनक नमानिए पनि त्यसको रेकर्ड नै नपाइएको विषयमा भने पहिला बेलाबेलामा चर्चा हुने गरेको थियो ।

उनी एकताका पार्टीको प्रवक्ताका रुपमा समेत काम गरेका थिए । त्यतिबेला मिडियासँग उनी त्यति नखुल्ने भनेर सञ्चारकर्मीले गुनासो गर्ने गरेको पनि सुनिन्थ्यो ।

अहिले भने उनीमाथि गम्भीर आरोप लागेको छ । यो आरोपबाट भने उनी चिप्लिँदा माथि पुग्ने अवस्था नभएको उनकै पूर्वपार्टीका नेताहरुले बताउन थालेका छन् । उनी ‘टेप’प्रकरणमा त उम्केका थिए तर ‘रेप’ प्रकरणले उनलाई अप्ठेरो परेको छ ।

२०१६ सालमा रोल्पाको लिवाङमा जन्मेका महराको राजनीतिक करिअर नै भड्खालोमा परेको र उनलाई अब राजनीतिमा फर्किन असम्भवप्रायः भएको टिप्पणी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार