दशैँको मुखमा मेयरले तलब रोकिदिएपछि कर्मचारी आक्रोशित

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । दशैँको मुखमा आएर नगर प्रमुखले तलबभत्ता रोकिदिएको भन्दै षडानन्द नगरपालिकाका कर्मचारीहरु आक्रोशित भएका छन् । विगत केहि महिनादेखी रोकिएको तलब घर फर्कने बेलासम्म मेयर विरबल राईले निकासा गर्न नमानेपछि आक्रोशित बनेका हुन् ।
नगरपालिकाका करारतर्फका एक सय १० जना कर्मचारीको गत साउन महिनादेखि तलबभत्ता रोकिएको छ । साउन र भदौको तलबले दशैं मनाउने आशामा रहेका कर्मचारीलाई मेयर राईले बढेको तलब र दशैँ भत्ता रद्द गरिदिएपछि रित्तै हात घर फर्कनुपर्ने चिन्ता थपिएको कर्मचारी मन्दिप राईले गुनासो पोखे । ‘तलब नपाएको २ महिना भयो, खाना पनि होटलमा बाँकी खानुपरेको छ, दशैँको मुखमा आएर तलब रोकिदिनाले कसरी घर फर्कनु भएको छ’ उनले भने, ‘एकातिर होटलको विल अर्कोतिर घर फर्कदा रित्तो हात, मुख देखाउनै मुस्किल भईसक्यो ।’
नगरपालिकाको लेखाफाँटले पनि सबै प्रक्रिया पु¥याएको र नगर प्रमुखको अन्तिम स्विकृति मात्र बाँकी रहेको जनाएको छ । लेखाफाँटका कर्मचारी राजेश दाहालले भने, ‘लेखाफाँटबाट हुनुपर्ने कामहरु सबै भईसकेको छ, कागजपत्र तयारी अवस्थामा छ, तर मेयर राईले ‘मैले हुन्छ भने पछि मात्रै तलब दिनु’ भनेकाले तलब हाल्न नसकिएको हो’
यता मेयर राईले कर्मचारीहरुको आफ्नो हाजीरीखातामा रातो मसी हालिएकोले तलब रोकिएको बताए । रातो मसी लागेपछि तलब उपलब्ध गराउन नमिल्ने उनले बताए । गत साउन २६ गते नगरपालिकाको निर्णयविनै तात्कालिन प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोईरालाले आफुखुशी नगरपालिकाका कर्मचारी समायोजन गरिएको सुचना टाँसेका थिए ।
असोज १३ अगावै समायोजन गरिएको स्थानमा कर्मचारीहरु खटिनुपर्ने सुचना टाँसिएपनि केहि दिनअघि सिन्धुली सरुवा भएका प्रशासकीय अधिकृत कोईरालाले आफु सरुवा हुनुपूर्व कर्मचारीको हाजीरीखातामा हाजिर गर्न प्रमाणित गरेका थिए । तर मेयरले कर्मचारीको तलब रद्द गर्न हाजीरीखातामा आफैँले रातो मसि लगाईदिएको कर्मचारी दिपराज राईको आरोप छ ।
कार्यपालिकाले निर्णय नै नगरी कर्मचारी समायोजन गरेर विनापत्र कर्मचारीहरु नखटिएकोले मेयरले रातो मसि लगाएर तलब रोक्नु कर्मचारीमाथि अन्याय भएको उपमेयर मेरिका राईले बताईन् । उनले नियमित काममा खट्टिने नगरपालिकादेखी वडातहसम्मका कर्मचारीको तलब रोकिदिन नहुने बताईन् । नगरपालिकाका जनप्रतिनिधी र स्थायी कर्मचारीले सेवासुविधा र तलब पाउँदा करारका कर्मचारीलाई समस्यामा पार्न नहुने प्रष्ट्याईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार