टेलिकमको फोरजी सेवा ३७ जिल्लामा

काठमाडौँ –  नेपाल टेलिकमले फोरजी एलटिइ सेवालाई विस्तार गर्दै ३७ जिल्लामा पुर्याएको छ । काठमाडौँ र पोखरामा २०७३ पुस १७ गतेदेखि सो सेवा शुरु गरेको टेलिकमले बुधबारमात्र विभिन्न ३२ जिल्लाका ५० बढी शहरमा फोरजी सेवा उपलब्ध गराएको थियो । बिहिबार थप पाँच जिल्लाका ६० शहरमा फोरजी सेवा सञ्चालनमा ल्याइएको टेलिकमका प्रवक्ता प्रतीभा वैद्यले जानकारी दिनुभयो ।

सातै प्रदेशका प्रमुख शहरमा सो सेवा सञ्चालनमा आएको छ । प्रदेश नं १ को धनकुटा, झापा, मोरङ र सुनसरी, प्रदेश नं २ को बारा, पर्सा, रौतहट, महोत्तरी, सप्तरी, सिरहा धनुषा र सर्लाही, प्रदेश नं ३ को चितवन, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, रामेछाप, रसुवा र सिन्धुली रहेका छन् ।

त्यस्तै गण्डकी प्रदेशको बागलुङ, म्याग्दी, तनहुँ, मुस्ताङ र लमजुङ, प्रदेश नं ५ को कपिलवस्तु, नवलपरासी, पाल्पा, पर्वत, रुपन्देही, बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा फोरजी सेवा सञ्चालनमा आएका छन् । ३७ जिल्लाका ६० शहरका उपभोक्ताले फोरजी सेवा उपभोग गर्न पाउनेछन् । भीमदत्तनगर, झलारी पिप्लाडी, अत्तरिया, धनगढी, चौमाला, मसुरिया, सुख्खड, लम्की, टिकापुर, सुर्खेत, गुलरिया, कोहलपुर, नेपालगञ्ज, घोराही, लमही र तुलसीपुरमा फोरजी सेवा सञ्चालनमा आएको छ ।

बेनी, कुस्मा, बागलुङ, तानसेन, लुम्बिनी, भैरहवा, मङ्गलापुर, बुटवल, मुर्गिया, सुनवल, देवदह, परासी, बर्दघाट, भरतपुर, टाँडी, सौराहा, धादिङ, बिदुर, धुञ्चे, बनेपा, धुलिखेल, पनौती, हेटौंडा, सिमरा, वीरगञ्ज र कलैयामा पनि सेवा शुरु भएको छ ।

चरिकोट, मन्थली, सिन्धुलीमाडी, गौर, मलङ्गवा, जलेश्वर, जनकपुर, धनकुटा, धरान, इटहरी, इनरुवा, विराटनगर, दमक, विर्तामोड, चन्द्रगढी, बेंशीशहर, भारदह र बस्तिपुरमा फोरजी सेवा सञ्चालनमा आएको टेलिकमले जनाएकोछ ।

टेलिकमले सञ्चालनमा ल्याएको फोरजी एलटीइ सेवा नेपालमा पहिलोपटक शुभारम्भ भएको अत्यन्त तीव्र गतिको वायरलेस प्रविधि हो । नेपाल सरकारद्वारा पहिचान गरेको रुपान्तरणकारी आयोजनामध्ये नेपाल टेलिकमको यो आयोजना पनि प्रमुख रहेको छ ।

मुलुकमा डिजिटलाइज्ड जीवन पद्धति र स्मार्ट समाजका लागि पूर्वाधार तयार पार्न यो आयोजनाले महत्वपूर्ण पूर्वाधार खडा गर्ने विश्वास गरिएको छ । जसअनुसार मुलुकको आर्थिक विकास, आमजनताको जीवनस्तरको सुधार तथा ‘डिजिटल डिभाइड’ न्यूनीकरण हुने टेलिकमले जनाएको छ ।

प्रवक्ता वैद्यले फोरजी एलटीइ आयोजना विद्यमान फोरजी सेवाको स्तरोन्नति मात्र नभई हालसम्म सेवा उपलब्ध नभएका स्थानमा पनि दीर्घकालीन पूर्वाधारको विकास र विस्तार गर्ने तथा मुलुकका सम्पूर्ण भू–भाग र जनतालाई अत्याधुनिक दूरसञ्चार सेवाबाट सुसज्जित गर्ने योजना भएको बताउनुभयो । टेलिकमले फोरजी सेवालाई अत्याधुनिक प्रविधिमा ‘अपग्रेड’ गरी देशभर विस्तार गरिरहेको छ ।

के हो फोरजी प्रविधि    

मोबाइल इन्टरनेटको क्षेत्रमा फोरजी मोबाइलमार्फत उच्च गतिको इन्टरनेट साथै उच्च गुणस्तरको भ्वाइस कल सेवा पनि उपयोग गर्न सकिने अत्यधुनिक प्रविधि हो । फोरजीबाट प्राप्त हुने इन्टरनेटको गति उच्च हुने हुँदा गुणस्तरीय श्रव्य–दृश्य सामाग्री, अनलाइन खेललगायत बढी ब्याण्डविथ आवश्यक हुने इन्टरनेट सामग्री सजिलै हेर्न तथा सुन्न सकिन्छ । यसबाट उच्च गुणस्तरीय भ्वाइस कल सेवा प्रयोग गर्न सकिन्छ ।

फोरजी/इलटिइ सेवा प्रयोग गर्न मोबाइल फोन सेट र सीम कार्ड फोरजी सेवा चल्ने हुनुपर्दछ र फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा हुनु जरुरी छ । फोरजी सेवा सञ्चालन गर्न कुनै शुल्क लाग्दैन, निःशुल्क सुचारु गर्न सकिन्छ । आफ्नो मोबाइल फोनबाट ‘स्टार४४४ह्याच’ डायल गरी प्राप्त निर्देशनअनुरुप फोरजी प्रयोग गर्न सीम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन र फोरजी ‘एक्टिभेट’ गरी सेवा शुरुसमेत गर्न सकिन्छ ।

हाल प्रयोग गरिरहेको सीम कार्डले फोरजी नचल्ने भएमा नेपाल टेलिकमका देशभरका ग्राहक सेवा केन्द्रबाट पूरानो सीमको सट्टा फोरजी चल्ने नयाँ सीमकार्ड निःशुल्क प्राप्त गर्न सकिने छ । फोरजी सेवाका लागि छुट्टै महसुल दर तोकिएको छैन । टुजी÷थ्रीजी सेवाको दरमा नै प्रयोग गर्न सकिन्छ । अझ सस्तो प्याकेजका लागि ‘स्टार१४१५ह्याच’ डायल गरी रोजेको ‘प्याक’ लिन सकिन्छ ।
रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार