भोजपुरमा विना लाईसेन्स सवारी चलाउनेलाई मुद्धा

  सिलिचुङ समाचारदाता

भोजपुर । भोजपुरमा सवारी चालक अनुमति पत्र(लाईसेन्स) विना सवारी साधन चलाएर यात्रुको मृत्यू भएपछि हतुवागढी गाउँपालिका ४ खैराङका विजय राईलाई सवारी ज्यान मुद्धा चलाएको छ । २४ वर्षीय राईले चलाएको टेम्पो दुर्घटना हुँदा हतुवागढी गाउँपालिका–४ खैराङ बस्ने ८ वर्षीय गुराँस राईको ज्यान गएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले मुद्धा चलाएको हो ।
गत असोज २२ गते राइले चलाएको को २ ह ७६८६ नम्बरको टेम्पो दुर्घटना हुँदा उनीसंगै अन्य ५ जना घाईते भएकोमा गुराँसको उपचारको क्रममा सोही दिन ज्यान गएको थियो । दुर्घटनामा घाइते भएका विजयलाई उपचार पश्चात नियन्त्रण लिई मुद्धा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएस्पी नरबहादुर सलामी मगरले बताए ।
त्यस्तै प्रहरीले सवारी साधनले ठक्कर दिएर घाइते बनाएपछि पुनः गाली गलौज गर्ने अर्का एक जनालाई पनि मुद्धा दर्ता गराएको छ । लाईसेन्स विना नै सवारी साधन चलाएर ठक्कर दिने रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङका १९ वर्षीय चन्द्र दर्जीलाई अभद्र व्यवहार गरेको कसुरमा म्याद थप गरि अनुसन्धान थालेको जनाएको छ । को २ त ३५२४ नम्बरको ट्याक्टर चलाएका दर्जीले भोजपुरको च्याङ्वबेनी चोकबाट देउराली जाँदै गर्दा पैदल यात्रु भोजपुर नगरपालिका–३ बस्ने १६ वर्षीय निशा राईलाई पछाडीबाट ठक्कर दिएर घाइते बनाएको प्रहरीले जनाएको छ ।
विना लाइसेन्स सवारी साधन चलाउनेको संख्या बढेसंगै निग्रानी बढाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी मगरले बताए ।डिएसपी मगरले भने, ‘जिल्लामा विना लाईसेन्स सवारी साधन चलाउनेको संख्या बढेको छ त्यसकारण दुर्घटना बढेको छ, अहिले हामीले सवारी लाईसेन्सको चेकजाँचमा कडाईसंगै कारवाही समेत गर्न थालेका छौ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार