सखुवासभामा सिमाना मिचेको विरोधमा मोदीको पुत्ला दहन

  बाबुराम बास्तोला

सखुवासभा । भारतले हालै निकालेको नयाँ नक्साको बिरोधमा देश पुरै तातेको छ । सोहि विरोधमा संखुवासभाको सदरमुकाम खाँदबारीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ ।


भारतको नयाँ नक्सामा नेपाली भूमि राखिएपछि विरोध फेरि सतहमा आएको हो । यसअघिका दिनमा पनि भारतले सिमा मिचेका कुरा बाहिर नआएको भने होइन । संखुवासभामा युवाहरुको नेतृत्वमा सदरमुकाम खाँदबारीको चाँदनी चोकमा मोदीको पुतला दहन गरेका हुन् ।
स्थानिय युवाहरु ध्रुव खड्का, सरोज श्रेष्ठ, सुबोध खतिवडा सहित सयौंको संख्यामा खाँदबारीका स्थानियहरुले ‘भारतीय विस्तारवाद मूर्दावाद, नरेन्द्र मोदी मूर्दावाद’ को नारा लगाउँदै मोदीको पुत्ला दहन गरेका थिए । कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता नेपालका ऐतिहासिक भूमिमा भारत सरकारले गिद्धे नजर लगाएको युवाहरुले आरोप लगाएका छन् ।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरेको छ ।
भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने माग रहेको छ । भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरूले नेपालको भूभाग भारतीय नक्साबाट हटाउन समेत माग गरेका छन् ।
भारतीय संस्था सतलजलाई समेत धक्का
संखुवासभामा निमार्णधिन ९०० मेगावाटको अरुण तेस्रो आयोजना प्रर्वदन गर्ने जिम्मेवारी पाएको भारतको सरकारी कम्पनी सतलज जलविद्युत निगम र निगमले नियुक्त गरेका ठेकेदार कम्पनीहरुमा भारतिय कामदारहरु हजारौँको संख्यामा रहेका छन् ।


यो विरोधले उनिहरुलाई समेत आफ्नो बानि बेहोरामा परिर्वतन ल्याउनु पर्ने परिस्थीति सिर्जना भएको युवाहरुको बुझाइ छ । उनिहरु भन्छन् “हाम्रो जिल्लामा धेरै ठुलो संख्यामा भारतिय नागरिकहरु रहेका छन्, उनिहरुले पुत्ला दहन भएको खबर भारत सरकारमा पुर्याउने छन्, जसले भारत सरकारलाई सच्चिन सहयोग पुर्याउछ,त्यसैले पनि हामिले यो पुत्ला दहन गर्नु परेको हो ।”
भारतिय र चिनियाँ नागरिक रमिते
संखुवासभाको सदरमुकाम खाँदबारी यस्तो ठाउँ हो । जहाँ भारत र चीन दुवै देशका नागरिकहरुको वर्तमान समयमा बाक्लो उपस्थिति छ । खाँदबारीमा रुद्राक्षको व्यापार गर्नको लागि ठुलो संख्यामा चिनियाँ नागरिक बसोबास गर्छन भने अरुण तेस्रो परियोजनाको काम गर्न भारतिय नागरिक समेत बसोबास गर्ने गरेका छन् । शनिवार खाँदबारीमा युवाहरुले भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीको पुत्ला दहन गरिरहदाँ दुवै देशका नागरिकहरु भने रमिते बने । भारतिय र चिनियाँ नागरिकहरुले कुनै प्रतिकृया भने जनाउन चाहेनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार